» » यसरी अटाउँन सफल भए एउटै ‘अम्ब्रेला’ मुनी


–प्रकाश तिमल्सिना
बैशाख ७ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका सात दलमध्ये छ दल एउटै अम्ब्रेल अर्थात छातामुनी आउन सफल भए । यो प्रयास धेरै पहिलादेखि भइरहेको थियो तर यो एकीकृत यति अचानक भयो कि कसैलाई बुझ्न र सोच्न फुर्सदै भएन ।

मधेशमा एउटा राम्रो सन्देश दिएपनि यसले नेपाली राजनीतिमा एउटा नयाँ कोर्श थपेको छ ।

 मुख्यतः क्षेत्रीय स्तरमा मात्रै केन्द्रित भएका ती पार्टी एकीकरणसँगसँगै ‘मधेस’ भन्ने शब्दावलीलाई पनि छोडेका छन, राष्ट्रिय स्तरको पार्टी हुने दौडमा मैदानमा आएका छन ।

यो पार्टी एकीकरणले नेपाल भित्रको राजनीतिमा अर्कै खाले तरङ्ग ल्याउने भएकाले पनि त्यसलाई एउटा ऐतिहासिक राजनीतिक घटनाक्रमको रुपमा अंकित हुन पुगेको छ । त्यसै पार्टी गठनको अन्तरकर्थालाई समेटेर दस्तावेजीकरण गर्ने प्रयास यो आलेखमा गरिने कोशिश गरिएको छ ।

स्लेभलेस रेष्टुरेन्ट, जावालाखेल
राती ८ बजेका लागि बैठक निर्धारण गरिए पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु भने ९ बजे मात्रै उक्त रेष्टुरेन्टमा पुगे ।

सो बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टी अध्यक्ष राजेन्द्र महत्तो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवको उपस्थीति रहयो ।

पार्टी एकीकरण गर्ने बिषयमा तराई मधेस केन्द्रित दलका पाँचै जना अध्यक्ष एकै ठाउँमा उपस्थित भएको यो पहिलो घटना थियो ।

 ‘जुन दिन हामी पाँच अध्यक्षहरु भेट भयौं, त्यही दिन पार्टी एकीकरण गर्ने निर्णय पनि लियौं,’ राजकिशोर सम्झन्छन, ‘यो निर्णय लिदाँ हामी भावुक, स्तब्ध र उत्साही पनि सँगसँगै भएका थियौं ।’ एउटा ऐतिहासिक कार्य सम्पन्न गरेकोमा सबैले त्यो रात बधाई साटासाट पनि गरे ।

उक्त बैठकले नै पाँच पार्टी एक भएर नयाँ पार्टी गठन गर्ने र त्यसको नाम राष्ट्रिय जनता पार्टी राख्ने र छाता चुनाव चिन्ह बनाउने औपचारिक निर्णय ग¥यो । अध्यक्ष मण्डल अनुसार नयाँ पार्टीको संगठन चलाउने निर्णय पनि लिदैँ नयाँ पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा ‘लोकतान्त्रिक समाजवाद’ लाई स्विकार गर्दै बिचारधारा भने ‘प्रतिनिधिमुलुक समावेशी लोकतन्त्र’ तय पनि ग¥यो ।

बैशाख ५ को सो मध्यरातमा सबै ५ जना अध्यक्ष नै भावुक भएका थिए । अन्तिममा धारणा राखेका महन्थले सो बैठक टुंगाउँदै भने– ‘यो एकीकरण मेरो जीवनको सबैभन्दा ठुलो उपलब्धी हो, यो काम सम्पन्न गर्न सकेकोमा म निकै खुसी छु, हामी सबैलाई बधाई पनि छ, भोली नै पार्टी एकीकरण घोषणा सभाको तयारी गर्नुहोस ।’ त्यसो त सो बैठकमा ठाकुरले कांग्रेस छाडदा पनि निकै भावुक स्मरण गर्दै देश बनाउन निस्केको तर अझै अलमलमा परिरहेको भन्दै बैठकलाई केही स्तब्ध र शुन्यतामा राखिदिए ।

सबैले त्यो दिन त्यहाँ दिल खोलेर नै कुराकानी गरे र आ आफना कमजोरीसहितको आत्मसमिक्षा पनि गरेका थिए । त्यो बैठकमा निम्तो गरिए पनि नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा भने उपस्थित भई दिएनन ।

पार्टी एकीकरणको प्रतिवद्धता जनाउँदै आएपनि बैठकमा नआएपछि रामसपा महासचिव केशव झाले टेलिफोन गरेर बुझे, जवाफमा अध्यक्ष अनिल झाले, ‘तपाईहरु पाँच जनाबिचमा एकीकरणको कुराकानी टुंगाउनु होस, तपाईहरुको टुंगियो भने म पनि एकीकरण सामेल हुन्छु, ढुक्क हुनुहोस्’ भन्ने जवाफ दिएर उत्साही बनाईदिए ।

त्यही साँझ अनिल झाले आफु नर्बेजियन दुतावासको पार्टीमा रहेको जानकारी गराउँदै जावलाखेलमा आउन नसक्ने खबर गरेपछि अन्य ५ अध्यक्षहरुले बैठकलाई निरन्तरता दिए, रोकेनन ।


सो रेष्टुरेन्टको माथिल्लो तलामा पाँच जना अध्यक्ष वार्ता र छलफलमा रहदाँ तल्लो तलामा भने निर्जला राउत, केशव झा, पंकज दास, महतोको ज्वाई अनिल महासेठ रातभर निर्णय कुरेर बसे ।

 अध्यक्ष ठाकुरलाई भने झम्सिखेलसम्म पत्रकार पंकज दासले पु¥याएका थिए, उनै पत्रकार दासले नै मध्यरातमा घरमा ल्याएर छाडिदिए ।

 ‘महन्थजीलाई ल्याउने र लैजाने काम मात्रै गरेको हुँ, अरु त्यो रात केही भएको थिएन्, अध्यक्षहरु बिचमा मात्रै कुराकानी भयो र एकीकरण गर्ने कुराकानी टुंगाएर मात्रै निस्कनु भयो’ पत्रकार दास सो रातको घटना सम्झन्छन् । मधेसी पत्रकार संघका अध्यक्षसमेत रहेका पत्रकार दास पार्टी एकीकरणका लागि अग्रस्थानमा नै रहेर भुमिका खेलेको नेताहरु पनि बताउँछन् ।

पार्टी एकीकरणका लागि सबैजना मानसिक रुपमा तयार भए पछि मध्यरातमा सो रेष्टुरेन्टबाट पाँच जना अध्यक्षहरु ७ गते सभा गर्ने निर्णय गर्दैै बाहिरिए । अध्यक्षहरुको बसोवास, खानपिनको सम्पुर्ण ब्यवस्थापन रामसपा सांसद निर्जला राउतले गरि दिएकी थिइन् ।

पार्टी एकीकरणको पुष्ठभुमी
लामो समयसम्म मधेस केन्द्रित दलका बिचमा पार्टी एकीकरणको प्रयास भए पनि सफल हुन भने सकिरहेको थिएन । एक वर्षअघि देखि शरदसिंह भण्डारी र महेन्द्रराय यादवको बिचमा पार्टी एकीकरण गर्ने छलफल भित्र भित्रै सुरु भएको थियो । त्यसबिचमा नै फोरम गणतान्त्रिक पनि दुई पार्टीका बिचमा थपिन आइपुग्यो ।

 त्यसपछि तीन पार्टीका बिचमा एकता गर्ने भन्दै रामसपाका केशव झा, तमसपाका रामनरेश राय र गणतान्त्रिक महासचिव सिपि सिंहको एउटा कार्यादल बन्यो, जसले राप्रपाको एकीकरणको मोडेल अनुसार नै तीन पार्टीका बिचमा एकीकरण गर्ने निष्कर्ष निकाल्दै तीनै अध्यक्षलाई जानकारी गरायो ।

सो कार्यदलले राष्ट्रिय अध्यक्ष, अध्यक्ष र सह अध्यक्षको नेतृत्व मोडेल टुंगाएपछि एकीकरणलाई अन्तिम रुप दिनका लागि बर्दिवासमा रामसपा अध्यक्ष भण्डारीले बैठक डाके तर सो बैठकमा राजकिशोर भने उपस्थित भएनन् । परिणाम, तीन पार्टी बिच एकीकरणका लागि हुने भनिएको अन्तिम र निर्णायक बैठक बर्दिवासमा सम्पन्न हुन सकेन् ।

तमलोपा र सद्भावना एकीकरण
तमलोपा र सदभावना बिचमा पनि एकीकरण गर्ने बारेमा कुराकानी पनि मन्दमन्द गतिमा भई नै रहेको थियो ।

सो पार्टी एकीकरणका लागि तमलोपाका बृषेशचन्द्र लाल तथा  सदभावनाका लक्ष्मणलाल कर्ण,  देवेन्द्र यादव लगायतले एकीकरणका लागि मोडालिटी पनि तयार पारे । तर, नेतृत्वसहित अन्य नेताको ब्यवस्थापनका बारेमा भने उनीहरु बिचमा सहमति भइरहेको थिएन ।

 ‘तमलोपा र सदभावना पार्टी बिच एकीकरण गर्ने भनेर केही मोडालिटी पनि तयार पारेका थियौं तर दुई पार्टी बिच नेतृत्वको ब्यवस्थापन गर्न सकिएन्’ बृषेचन्द्र सम्झन्छन । सो पार्टी एकीकरणमा ठाकुरलाई अध्यक्ष मान्न राजेन्द्र महत्तो तयार भए पनि, हृदयेश त्रिपाठीलाई आफु सरह पोजिसन राख्न महत्तोले अस्विकार गरिदिए । परिणाम, त्यो एकीकरण प्रक्रिया त्यही टुंगिएको अवस्थामा थियो ।


उपेन्द्र, महेन्द्र र शरतको एकीकरण
संविधान जारी भए पछि उपेन्द्र यादव, शरदसिंह भण्डारी र महेन्द्र राय नेतृत्वको पार्टी बिच एकीकरण हुने कुराकानी सुरु भयो । त्यसैको प्रभाव स्वरुप, मोर्चा भित्रका ७ दल मध्ये तीन दल एकातिर पनि देखिन पुगेका थिए । जस्तो कि, संविधान जारी गरेको बर्षगाठको दिन अर्थात असोज ३ लाई ‘कालो दिवस’ मनाउँदा उनीहरु बिच प्रस्ट रुपमा नै फरकपना देखियो ।

उपेन्द्र, शरदसिंह र महेन्द्रराय रत्नपार्कतिर तथा महन्थ, राजेन्द्र, राजकिशोर र अनिल नेतृत्वको पार्टीको कार्यक्रम माइतीघरम गरियो ।

मोर्चा भित्र रहेर पनि अलग अलग भएर कार्यक्रम गरिएको यो पहिलो घटना थियो । तर, उपेन्द्रले पहलकदमी लिन नखोजे पछि त्यो एकीकरणको प्रयास पनि यसै सेलाउन पुगे, यद्धपी, यता ६ पार्टी बिच एकीकरण हुने हल्ला सुरु भए पछि उपेन्द्र यादवले पुनः प्रयास गरे तर त्यो प्रयास ढिलो भईसकेको थियो ।

शोकसभाको प्रतिफल
प्रतिपक्ष नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा सुरक्षाकर्मीवाट ज्यान गुमाएकाको सम्मानमा आयोजना गरेको शोकसभा चैत १३ गते सप्तरीको, राजबिराजमा सुरु भयो । सानो पार्टी भएकाले सुरुमा नै बोल्ने मौका पाएका राजकिशोरले पाए, जहाँ उनले मधेस केन्द्रित पार्टीका बिचमा एकीकरणको लागि सार्वजनिक प्रस्ताव गरे ।

उपेन्द्र यादव बोलेर पहिला नै गइसकेका थिए । शोकसभामा रहेका अन्य नेताले राजकिशोर कै प्रस्तावमा समर्थन जनाउँदै मन्तब्य दिएर एकीकरणका लागि सबै तयार रहेको सन्देश दिए ।

सोही राती नै राजकिशोरले राजविराजमा पार्टी केन्द्रिय समिति बैठक डाकेर पार्टी एकीकरण गर्ने निर्णय लिईदिए भने १४ गते बिहानै भारदह पुगेर महतोलाई भेटी पार्टी एकीकरणका लागि औपचारिक प्रस्ताव नै गरे । त्यसपछि मात्रै मधेस केन्द्रित पार्टी एकीकरणका लागि पुनः दलहरु गतिशिल हुन पुगेको देखिन्छ । तर, त्यो प्रयासले मुर्तरुप भने लिन सकिरहेको थिएन ।


राजकिशोर गायब 
शरदसिंह, महेन्द्रराय र राजकिशोरका पार्टी बिचमा एकीकरणका लागि कुराकानी भएको र पार्टी घोषणा अन्तिम अवस्थामा पुग्दा अचानक चैत २६ तिर राजकिशोर एकाएक हराए ।

उनको मोबाइलमा शरदसिंह र महेन्द्ररायले सम्पर्क गरिरहदाँ सधै स्विच अफ मात्रै भन्यो । पछि रहस्य खुल्यो, उनी नयाँदिल्ली गएका रहेछन् । उनी त्यस्तै चैत ३० गतेतिर दिल्लीवाट फर्के । पार्टी एकीकरण अन्तिम चरणमा खबर नै नगरी दिल्ली गए पछि दुवै नेता राजकिशोरसँग आक्रोशित भए ।

तर, आफू तीन पार्टी बिच एकीकरणको बिपक्षमा नरहेको भन्दै प्रस्टीकरण मात्रै दिएनन, मोर्चाका अन्य ६ दल मिल्नु पर्ने तर्क पनि राख्न सुरु गरे । राजकिशोरको यो तर्क उनको दिल्ली यात्रावाट फर्केपछि सुरु हुन थालेको थियो ।


भारतीय दुतावास
यसैबिचमा, भारतीय दुतावासमा मधेस केन्द्रित दलका सबै अध्यक्ष दिवाभोजका लागि डाकिएको थियो, सो भोजको अघिल्लो दिन पनि सबै अध्यक्षहरु भारतीय दुतावास पुगेका थिए । अघिल्लो दिनको निम्तो चाँही प्रवृद्ध समुहको बैठक सम्पन्न भएपछि सवै पार्टीका नेताहरुलाई बोलाउने क्रममा मधेस केन्द्रित दलका अध्यक्षलाई पनि त्यहाँ बोलाइएको थियो ।

सोही भेलामा पार्टी एकीकरणका लागि भइरहेको प्रयासका बारेमा सामान्य जानकारी आदानप्रदान भएपछि भारतीय राजदुत मञ्जिप सिंह पुरीले त्यसको भोलीपल्टै मोर्चाका नेताहरुलाई मात्रै इन्डियाना हाउसमा दिवाभोज दिए । जुन भोजमा पार्टी एकीकरणको प्रयासका बारेमा कुराकानीसमेत भयो । सो भोजमा राजदुत पुरीले मोर्चाका नेताहरुलाई एकीकरणका लागि शुभकामना पनि दिए, नेताहरु सम्झन्छन ।

त्यस घटनापछि शरदसिंह पोखरा गए भने अन्य नेताहरु बिभिन्न कार्याक्रमको सिलसिलामा काठमाडौं र काठमाडौं उपत्यका बाहिर सक्रिय हुन पुगे तर मुर्त र ठोस रुपमा पार्टी एकीकरणको प्रक्रिया अघि बढेन् यद्धपी, राजकिशोर, केशव झालगायतका नेताहरु एकीकरण प्रयासका लागि भने खटि नै रहेको देखिन्थ्यो । तीन पार्टीका बिचमा एकीकरण प्रक्रिया चलिरदहाँ राजेन्द्र महतो मिसिन आइपुगेका थिए ।

एकीकरणका लागि कार्यदल
फोरम गणतान्त्रिका महासचिव सिपी सिहंको कार्यालय, बिजुलीबजारमा सदभावना, रामसपा, तमसपा र गणतान्त्रिक पार्टी बिचमा एकीकरण गर्ने भन्दै ४ सदस्सीय कार्यादलको बैठक बस्यो ।

 त्यो बेलासम्म ४ पार्टी बिचमा मात्रै एकीकरण गर्ने कुराकानी भए अनुसार बैठक अनुसार सो बैठक बसेको थियो । ‘हामी ४ पार्टीका बिचमा एकीकरण गर्ने भन्ने मात्रै थियो, त्यो बेलासम्म’ सो कार्यदलका सदस्य मनिष सुमन भन्छन, ‘त्यसले केही बिषयहरु निर्णय गरेको थियो, त्यहाँ भएको केही सैद्धान्तिक सहमति अनुसार नै पछि ६ पार्टी बिचमा एकीकरण हुन पुगेको हो ।’

जस्तो कि, सो बैठकमा राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक सदभावना पार्टीमध्ये एक नाम राख्ने, चुनाव चिन्ह तीर राख्ने र विकल्पमा साइकल पनि चुनाव चिन्ह बनाउने भनियो । अध्यक्ष मण्डलको संरचनामा जाने र सामुहिक निर्णय गर्ने भन्ने बिषय पनि सोही कार्यादलले मोटामोटी टुंगायो । उक्त कार्यादलमा ४ पार्टीका बिचमा ३–३ महिना आलोपालो नेतृत्व गर्ने भन्ने बिषयलाई पनि टुंगायो ।


सोही अनुसार साँझ सांसद राउतको घरमा ४ पार्टी बिच एकीकरण गर्ने भन्दै १ बजे राति सम्म ४ अध्यक्षका बिचमा सामुहिक बैठक बस्यो ।

 जसमा कार्यादलमा रहेका सिपी सिंहबाहेक अन्य सबै सदस्य उपस्थित थिए । तर, सो बैठकमा कार्यादलले टुंगाएको बिषयमा छलफल भने सुरु नै हुन सकेन । कारण, सो बैठकमा पहिलोपल्ट राजेन्द्रले तमलोपालाई पनि ४ पार्टीको बिचको एकीकरण प्रक्रियामा सामेल गराउनु पर्ने प्रस्ताव गरे । त्यसले थप अन्यौल जन्माईदियो ।

सुरुमा ३ पार्टीबाट त्यसमा महतो थपिएर ४ पार्टी बिच एकीकरण गर्ने भन्दै कार्यादल बनाएर काम सम्पन्न गरिसकेको अवस्थामा फेरी तमलोपा थपेर ५ पार्टी बिच एकीकरण गर्ने प्रस्ताव आएपछि भण्डारी र महेन्द्रराय थप सशंकित हुन पुगे ।

कारण, एकीकरण प्रक्रियालाई टुंगोमा पु¥याउने भन्दा लम्ब्याउन खोजेको भन्दै महतो र राजकिशोरसँग दुवै नेता सो बैठकमा रिसाउन पनि पुगे । तर, तमलोपा एकीकरणका लागि तयार भएको विश्वस्त बनाईए पछि दुवै नेतालाई परेको भ्रम त्यही टुटयो ।


किनकी, त्यही दिन बिहान ९ बजे राजेन्द्रले हृदयेश त्रिपाठीलाई भेटेर एकीकरणका लागि प्रस्ताव गरेका थिए । ४ गते बिहान महत्तोले शंखमुल भ्यू रेष्टुरेन्टमा भएको भेटमा हृदयेशले ‘आफनो पोजिसन’ का कारण एकीकरण हुन नसक्ने कुरा टार्दै आफु एकताका लागि बाधक नभएको भन्दै प्रतिवद्धता जनाएका थिए । ‘मलाई जे जिम्मेवारी दिए पनि हुन्छ, म एकीकरणका लागि जे गर्न पनि त्याग गर्न तयार छु तर महन्थजीलाई भने उचित र सम्मानजनक स्थान दिनुपर्छ’ भनि सर्त राखे ।

 त्यसमा कसैको बिमति हुने अवस्था पनि थिएन, सबैलाई त्यो स्विकार योग्य कुरा नै थियो । हृदयेशसँग कुरा मिलेको केही समय पछि उनै राजेन्द्रले बृषेशचन्द्र लालसँग पनि कुराकानी गरिहाले ।

बृषेशचन्द्रलाल पनि प्रस्ताव राख्ने बितिक्कै सकारात्मक भई दिए । त्यो कुराको जानकारी पनि महत्तोले बैठकमा सुनाई दिएपछि वातावरण सहज बन्यो । राजेन्द्रले हृदेयश र बृषेशचन्द्र लालबिच भएको कुराकानी सुनाए पछि तमलोपासँग एकीकरणका लागि औपचारिक रुपमा नै कुराकानी बढाउने भनिए पछि निर्जला निवासवाट नेताहरु निस्किए ।

बैशाख ४ गते भएको राती ४ अध्यक्षका बिचमा भएको सहमति अनुसार सदभावना पार्टी कार्यालयमा केशव झा र राजेन्द्र महत्तो बिचमा ८ बजे देखी ११ बजेसम्म तमलोपालाई पनि पार्टी प्रवेश गराउने बिषयमा लामै कुराकानी भयो ।

‘४ पार्टीका बिचमा एकता गर्ने भनिए पनि तमलोपा पनि समावेश हुने भएपछि कसरी अघि बढने बारेमा राजेन्द्रजी र मेरो बिचमा लामै कुराकानी भयो, राजेन्द्रजीले तमलोपा पनि सकारात्मक छ भन्ने कुराकानी गरेपछि एकताको चरण अर्कोतर्फ बढदै गयो ।’

उनका अनुसार त्यो बैठक सकेर झा तमलोपा कार्यालय गए भने महत्तो राजकुमार लेखीलाई पार्टी प्रवेश गराउनका लागि अर्याल होटल, बानेश्वरतर्फ गए ।

झासहित तमलोपा कार्यालयमा सुरुमा हृदयेश र जितेन्द्र सोनालका बिचमा कुराकानी भयो । त्यससमा राजकिशोर र सोनाल थपिए, त्यहाँ कुराकानी चल्दै गयो । पार्टी नेतृत्वको मोडेल, आलोपालो नेतृत्व, संसदको हैसियत अनुसार बैठक अध्यक्षता गर्ने बिषयका बारेमा झाले अघिल्लो दिन ४ पार्टी बिचमा भएको मोडालिटीका बारेमा झाले त्यहाँ ब्रिफिङ पनि गरे ।

त्यसमा तमलोपा अध्यक्ष महन्थले कुनै प्रश्न नै नगरी सहमत जनाउँदै भने, ‘तपाईहरु जे जे मिलाउनु हुन्छ, मिलाउनुहोस, मेरा कुनै अप्सन र सर्तहरु छैनन तर पार्टी एकीकरण भने हुनुपर्छ ।’ त्यो बैठक ५ गते अपरान्ह ३ बजेसम्म बिजुलीबजारमा चल्यो । त्यही बेला झम्सिखेलमा भण्डारी र महेन्द्रराय बिच कुराकानी भइरहेको थियो । त्यहाँ झाले दुवै अध्यक्षलाई तमलोपाका बारेमा भइरहेको कुराकानी सुनाए ।

त्यसैरात, सदभावना पार्टी कार्यालयमा राजेन्द्र, लक्ष्मणलाल कर्ण, उपेन्द्र महतो, रामनरेश राय, पंकज दासको बिचमा राति ११ बजेसम्म छलफल भयो । तमलोपालाई कसरी समावेश गराउने र अनिल झालाई पनि ल्याउन पहलकदमी गर्नेलगायतका बिषयमा सो बैठकमा गम्भिर रुपमा छलफल भएको थियो ।


त्रिपाठीको पोजिसन
झम्सीखेलस्थित निर्जला राउतका निवासमा महेन्द्र राय र शरदसिंहका बिचमा लामै छलफल भयो । ९ बजे देखी चलेको छलफल दिउँसो २ बजेसम्म जारी भयो भने तमलोपा कार्यालयमा राजकिशोर, हृदयेश, जितेन्द्र सोनाल र महन्थ ठाकुरका बिचमा नेतृत्वको मोडलका बारेमा कुराकानी भइरहेको थियो । तमलोपासँग अन्य पार्टीको एउटा बिषय मिलि रहेको थिएन ।

‘पहिलो, महन्थलाई सर्वमान्य नेता मानेर हृदयेशजीलाई पनि अध्यक्ष मण्डलमा समावेश गराउन, दोस्रो हाल कायम रहेका अध्यक्षहरुको मात्रै अध्यक्ष मण्डल बनाउने दुई मोडेलमा कुराकानी भइरहेको थियो, पहिलो मोडेललाई अन्य दलका नेताले मानेनन, अन्त्यमा सबै अध्यक्ष रहने गरी दोस्रो मोडेलमा सहमति भयो’ सोनाल सो बैठक सम्झन्छन ।

खासमा महन्थले पुरानो नेता भएको नाताले पनि हृदयेशले कार्यकारी पद पाउन भन्ने इच्छा राखेका थिए ।

हृदयेशलाई सम्मानजनक स्थान दिनुपर्ने महन्थको इच्छा प्रकट भएपनि अन्य नेताले त्यसलाई स्विकार गरिदिएनन । स्थीति केही बिग्रेजस्तो पनि हुनपुग्यो । अन्ततः अध्यक्ष मण्डलकोे मोडेलमा तमलोपा सहमत भएको सन्देश लिएर राजकिशोर चाँही राजेन्द्रकोमा पुगेर तमलोपा सहमत भएको सन्देश सुनाई दिए ।
तमलोपा अध्यक्ष मण्डलका लागि तयार भएको सन्देश बोकेर राजेन्द्र  झम्सिखेल पुगे, जहाँ भण्डारी र महेन्द्रराय बिहानदेखि कै छलफलमा ब्यस्त थिए र तमलोपको निर्णय कुरेर बसिरहेका थिए ।

झम्सीखेलमा महत्तोसहित भण्डारी र महेन्द्ररायका बिचमा ६ बजेसम्म छलफल र कुराकानी भयो । त्यो छलफल पछि साँझ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता बिचमा कुराकानी गर्ने निर्णय गर्दै तीन अध्यक्षको बैठक टुंगियो । उता, राजकिशोर यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुरका बिचमा भने बिजुलीबजारस्थित कार्यालयमा एकीकरणका बारेमा गम्भिर छलफल भइरहेको थियो ।

बिजुलीबजारमा रहेका राजकिशोर र महन्थलाई साँझ ६ बजे सेलेबेस रेष्टुरेन्टमा बस्ने जानकारी गराउँदै त्यहाँ नै साँझका लागि निम्तो गरियो । झम्सीखेलवाट तीनै नेता जावालाखेलस्थित सो रेष्टुरेन्टमा आएर एकीकरण प्रक्रियाका बारेमा सामुहिक रुपमा पहिलो र अन्तिम निर्णायक वार्ता सुरु गरे । बैशाख ६ गते राती ११ः५५ मिनेटमा छाता चुनाव चिन्ह राखेर राष्ट्रिय जनता पार्टी नामाकरण गर्दै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति जुटयो ।

बैशाख ७ गते 
पार्टी एकीकरणको कार्यक्रम तालिका बनाउनका लागि सदभावना पार्टी कार्यालयमा दोस्रो तहका नेताहरुको बैठक बस्यो । सो बैठकमा केशव झा, मनिष सुमन, जितेन्द्र सोनालहरुको संयुक्त बैठक बस्यो ।

सुरुमा बानेश्वर बैंकटमा एकीकरण घोषणासभा गर्ने तयारी गरिए पनि त्यहाँ ठाउँ खालि नभए पछि अमृत भोगमा स्थान तय गरिएको थियो ।

 जो स्थान तय गर्ने काम रामसपाका महासचिवसमेत रहेका झाले गरेका थिए । त्यसो त ५ जनाको अध्यक्षहरु उपस्थित हुने भएपनि अनिल झाको टुंगो लागेन । कार्यक्रममा ब्यानरमा झाबाहेक आइतवार राती बसेका ५ जना पार्टीको नाम र अध्यक्षहरुको तस्विर राखेर कार्यक्रम सञ्चालन गरियो ।

तर, अन्तिममा अनिल झा सो एकीकरण सभामा उपस्थित भए, उनी उपस्थित हुदाँ अन्तिम वक्ताको रुपमा महन्थ ठाकुरले बोलिरहेका थिए । अमृत भोगमा झा आउने कुरा पक्का भएपछि मुलढोकासम्म हृदेयश त्रिपाठी र बृषेशचन्द्र लाल लिन पुगेका थिए । त्यसपछि ६ पार्टी बिच एकीकरण प्रक्रिया ७ गते साँझ सम्पन्न भयो ।
(पत्रकार तिमल्सिना नागरिक दैनिकमा आवद्ध हुनुहुन्छ)

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..