» » चुनावको वतावरण बनाऊ (सम्पादकीय)

पहिलो चरणको चुनावको मतदान सम्पन्नसँगै दोस्रो चरणको चुनावको चहल पहल शुरु हुनेछ । यद्यपी यो दोस्रो चरणको चुनावमा अन्योल देखिएको छ, खतराको कालो बादल मडारिरहेको छ ।

पहिलो चरणको चुनाव सम्पन्न गराउन सरकारलाई जति सजिलो भयो त्यति सजिलो दोस्रो चरणमा छैन । जुन जे कारणले एकैचरणमा हुने चुनावलाई दुई चरणमा गर्ने घोषणा गर्यो, त्यसमध्ये कुनै पनि कारणको निराकरण भएको छैन ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले विभिन्न माग राखि गरिरहेको आन्दोलनलाई मध्यनजर गर्दै दुई चरणमा चुनाव गर्ने सरकारले घोषणा गरेको छ । पहिलो चरणमा ३, ४ ६ नम्बर प्रदेशमा स्थानीय तहको चुनावमा मतदान भयो भने १, २, ५ र ७ नम्बर प्रदेशमा दोस्रो चरणको चुनाव जेठ ३१ गते हुन गइरहेको छ, ती प्रदेशहरुलाई विवादित प्रदेशको रुपमा लिएको छ ।

यी प्रदेशमा देखिएको विवाद समाधान नभए चुनाव हुन नदिने चेतावनी आइरहेको छ । सविधान संशोधनको माग गर्दै मधेशी मोर्चा र गठबन्धनले आन्दोलन गर्दै आएका छन् । राज्यले पनि माग पूरा गर्ने भनि विभिन्न आश्वासन दिइरहेको छ तर ती आश्वासन पुरा हुने सम्भावना हालसम्म देखिएको छैन ।

वैशाख १७ गते बसेको व्यवस्थापिका संसदबाट संशोधन विधेयक पारित गर्ने जोडबल लगाईएको थियो तर पास हुन सकेन । राप्रपाले धोका दियो रे भनि प्रधानमन्त्री प्रचण्डको अनौपचारिक धारणाहरु बाहिर आएको छ । पार्टीको बैठक होस् वा मधेशी मोर्चासँगको छलफल, सबैमा प्रधानमन्त्री प्रचण्डले आफू संशोधन विधेयक पारित गराउनका लागि भरमग्दुर प्रयास गरेको तर तत्कालिन सत्ताधारी दल राप्रपाका केही सांसदहरु फ्लोरक्रश गर्ने योजना बनाएको कुरा थाह पाएपछि आफूले बैठक सारेको भन्दै आउनु भएको छ ।

यो कति पत्याउने तथा नपत्याउने कुरा हो त्यो त प्रधानमन्त्री प्रचण्डलाई स्वयं थाह होला । तर अबको परस्थिति झन पेंचिलो भएको छ । त्यतिबेला त राप्रपा पनि सरकारमा थिए, अहिले सरकारमा पनि छैन । जेठ ४ गते बस्ने व्यवस्थापिका संसदबाट संशोधन विधेयक पारित गराउनका लागि राप्रपा नेपालले सहयोग गर्छ भनि के ग्यारेण्टी छ ? यद्यपी सरकार छाड्ने क्रममा राप्रपाका अध्यक्ष कमल थापाले सरकार छाडेपनि सविधान संशोधन विधेयक पारित गराउनमा आफ्नो पार्टीको सहयोग रहने प्रतिवद्धता जनाउनु भएको थियो । तर, त्यो बेला बोल्नु भएको र अहिलेको परस्थितिमा धेरै परिवर्तन आएको छ ।

चुनावका लागि मतदान भएको छ । चुनावमा राप्रपाले विभिन्न ठाउँमा एमालेसँग तालमेल गरेको छ । चुनावको परिणाम आउन बाँकी छ । एमाले प्रतिपक्षिको भूमिकामा रहेर संशोधन विधेयकको विपक्षमा उभिएको छ त्यस अवस्थामा राप्रपाले सहज रुपमा विधेयक पारित गराउनमा सहयोग गर्ला जस्तो देखिएको छैन । राप्रपाले कुनै बाहनामा विधेयक पारित गराउनमा सहयोग गर्न इन्कार गरि दिए भने सरकारलाई अप्ठ्यारो पर्नेछ । र, विधेयक पारित भएन भने मधेशी मोर्चा चुनावमा जाँदैन ।

यस्तो चेतावनी मधेशी मोर्चाका नेताहरुले पटक पटक दिँदै आउनु भएको छ । पहिलो चरणको चुनावको विरुद्धमा घोषणा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिएर संघीय गठबन्धनले चुनावको वतावरण बनाउनमा सहयोग नै गरेको मान्नुपर्छ । मधेशी मोर्चामध्येका एक प्रमुख घटक संघीय समाजवादी फोरम नेपाल पहिलो चरणको चुनावमा भाग नै लिएको छ, त्यसले चुनावको वतावरण बनाउन सहयोग गरेको छ । पहिलो चरणको चुनावमा भाग लिएको कारणले मधेशमा फोरम नेपालको आलोचना पनि भएको छ ।

तर अब मधेशमा हुने दोस्रो चरणको चुनावमा फोरम नेपालले भाग लिन्छ कि लिदैन ठेगान छैन । यद्यपी अब मधेशमा दोस्रो चरणको चुनाव गराउनका लागि वतावरण बनाउने काम सरकार हो । सविधान संशोधन लगायत मुद्दा फिर्ता, सहिद घोषणा, सहिद परिवारालई क्षतिपूर्ति, घाइतेलाई उपचार, बन्दी रिहायका काम सरकारले तत्कालै गर्नुपर्छ तत्कालै गरिएन भने पहिलो चरणको चुनाव जतिको दोस्रो चरणको चुनाव सहज हुनेछैन ।

सरकारले आफ्नो प्रयास कायम राखेको पनि देखिाइएको छ । वैशाख २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहको सँख्या थप गर्ने विषयमा अध्ययन गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा तीन सदस्य कार्यदल बनेको छ । यसले कति काम गर्छ गर्दैनन्, प्रतिवदेनले बताउने छ तर सरकारको यो कदमप्रति मधेशी मोर्चाका नेताहरु पनि खुशी छन् ।

हुन त यसअघ पनि सरकारमा रहेको बेला कमल थापाको नेतृत्वमा यस्तै कार्यदल बनेको थियो तर कार्यदलले कामै नगरिकन कमल थापा सरकारबाट बहिरिनुभयो । कमल थापालाई संयोजक बनाउँदा जति सकारात्मक मधेशी मार्चाका नेताहरु हुनुहुन्थेन त्यति सरकारात्मक देखिनु भएको छ  । त्यसलै सरकारले अलिकति ध्यान पुर्यायो भने माग पनि पूरा हुनेछ र दोस्रो चरणको चुनावमा मधेशी मोर्चा सहभागि पनि हुनेछ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..