» » उपेन्द्र यादवले भन्नुभयो, माग पूरा नभए मधेशमा चुनाव हुन्न दिन्नौं


पर्सा वैशाख २५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परिमार्जनसहित संविधान संशोधन नभए मधेशमा चुनाव हुन नदिने चेतावनी दिनुभएको छ । 

संविधान संशोधनका लागि सरकार गम्भीर देखिएको र संशोधन प्रक्रिया अघि बढाएको हुनाले पहाड केन्द्रीत चुनावमा आफूहरुले भाग लिएको बताउँदै उहाँले पहिलो चरणको चुनाव भएपनि त्यो अघि संशोधन नभए दोस्रो चरणको चुनाव मधेशमा हुन नदिने चेतावनी दिनुभयो । 

पर्साको वीरगन्जमा फोरम नेपालका शीर्ष नेताहरुको उपस्थितिमा सोमबार आयोजित एक दिने गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन नभएसम्म दोश्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपालले भाग नलिने र चुनाव पनि हुनै नदिने बताउनु भयो । 

मधेसको माग सम्बोधन नभएसम्म आफूहरुको आन्दोलन जारी नै रहने उहाँको भनाई थियो  । उहाँले भन्नुभयो, ‘जबसम्म संविधान संशोधन हुदैन, तबसम्म मधेसमा चुनाव हुन दिन्नौ, यदि मधेसमा चुनाव भएन भने अहिले पहाडमा भएका चुनावको पनि कुनै अर्थ रहदैन । 

मधेसको एजेण्डामा आफूहरुको अडान कायमै रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘अहिले फोरम नेपालका बारेमा फिजाइएको हल्ला भ्रम मात्रै हुन्, हामी मधेसको एजेण्डामा कुनै किसिमको सम्झौता गर्न तयार छैनौ ।’ 

मधेसको मागको सवालमा नेकपा एमाले मात्र नभई काँग्रेस पनि विपक्षमा रहेको भन्दै उहाँले एमालेले संघीयता, धर्म निरपेक्षता र समावेशी लोकतन्त्रलाई समाप्त पार्नका लागि आन्तरिक रुपमा निर्णय नै गरिसकेको आरोप लगाउनुभयो । 

सोझो ढंगले गरिने राजनीतिले हक अधिकार नपाइने भन्दै उहाँले भन्नुभयो,– ‘सोझो राजनीतिले अधिकार पाइदैन, अधिकारका लागि राजनीतिमा औंला टेढो पार्नै पर्छ, त्यसैले हामी अहिले पनि आन्दोलन र संघर्षको मैदानमा छौ ।’

मधेस विरोधी ठूला तीन दलबीचको अपवित्र गठबन्धन तोड्नका लागि नै तत्कालीन केपी ओलीको सरकारलाई ढाल्न काँग्रेसका तत्कालीन सभापति शुसील कोइरालालाई मधेसी मोर्चाले भोट दिएको उहाँले बताउनुभयो । 

मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्न वीरगन्जको पदम पार्टी सेन्टरमा आयोजित गोष्ठीमा फोरम नेपालका वरिष्ठ नेता अशोक राई, केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दी, महासचिव रामसहाय यादव, मधेस प्रदेश सचिव शेष नारायण यादवका साथै फोरम नेपालका राजनीति समिति सदस्य, केन्द्रीय पार्षद, केन्द्रिय सल्लाहकार समितिका सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्य तथा  पर्सा, बारा, रौतहट र सर्लाहीका जिल्ला अध्यक्षहरुको सहभागिता थियो । 

गोष्ठीमा संविधान संशोधनका लागि सरकारले अगाडि सारेको प्रस्ताव, दोश्रो चरणको निर्वाचन, प्रधानन्यायधिश विरुद्धको महाअभियोग प्रस्ताव र फोरम नेपालमाथि अरु दलहरुले लगाएको आरोपका विषयमा गम्भिर रुपमा छलफल भएको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..