» » खुशीलाल मण्डलले भन्नुभयो, चुनावलाई राजनीतिक बहिष्कार गर्नुपर्छ

काठमाडौं, जेठ १३ गते । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले स्थानीय चुनावलाई सामाजिक र राजनीतिक बहिष्कार गर्नु पर्ने बताउनुभएको छ ।

मधेश समता अभियान तथा मधेशी जनता पार्टीले आज आयोजना गरेको कार्यक्रमा उहाँले मधेशका विरुद्ध भइरहेको षड्यन्त्रबाट सचेत रह्न आग्रह गर्नुभयो । मण्डलले आग्रहसमेत गर्नुभएको छ । उहाँले मधेशवादी दलहरु अहिले द्विविधामा रहेकोले परिवर्तनकारी शक्तिहरुलाई एकजुट हुन आग्रह गर्नुभयो ।

केही मधेशवादी दलहरु उपलब्धीलाई रक्षाका लागि निर्वाचनमा भाग लिने भन्ने तर्कको विरोध गर्दै मण्डलले भन्नुभयो, ‘संविधान संशोधन होइन पुनर्लेखनको माग गर्ने उपेन्द्र यादवले कुन आधारमा चुनावमा भाग लिएका छन् ?’ उहाँले नवगठित राजपा नेपाल पनि चुनावको तयारीमा रहेकोले अधिकार प्राप्त नभएसम्म चुनाव बहिष्कार गर्नुपर्ने तर्क गर्नुभयो ।

यसैगरी, पूर्वमन्त्री रामचन्द्र कुशवाहाले स्थानीय चुनावको बहानामा मधेश आन्दोलनबाट प्राप्त उपलब्धी संघीयतालाई समाप्त पार्ने खेल भइरहेको बताउनुभयो । उहाँले मधेशका विरुद्धमा रहेका कांग्रेस, एमाले र माओवादी केन्द्रले कहिल्यै पनि मधेशको हित नचाहेको आरोप लगाउनुभयो ।

उहाँले संविधानको कार्यान्वयन र प्राप्त उपलब्धीको रक्षाको नाममा मधेशीको हर्ताकर्ता भनाउँदाहरुले शासकवर्गको डिजाइन अनुसार स्थानीय निकायको चुनावमा सहभागी भएको र केही सहभागी हुने तरखरमा रहेको आरोप लगाउनुभयो ।

यस्तै, पत्रकार सम्मेलनमा मधेशी जनता पार्टीका अध्यक्ष महेश कलवारले दोस्रो चरणको निर्वाचन गर्नु भनेको राष्ट्रलाई टुक्राउनु रहेको दावी गर्नुभयो । उहाँले आफूहरुको स्पष्ट लाइन संविधान संशोधन नभई पुनर्लेखन रहेको बताउनुभयो । ‘हामीलाई पहिला अधिकार चाहियो त्यसपछि निर्वाचन’ अध्यक्ष कलवारले भन्नुभयो ।

‘के मधेशी जनताले गोलीको जवाफ गोलीले दिनुपर्ने हो त ? यदि त्यसो भयो भने यो राज्यसत्ताले थेग्न सक्छ ?’ अध्यक्ष कलवारले प्रतिप्रश्न गर्नुभयो । उहाँले जबसम्म संविधान पुनर्लेखन हुँदैन तबसम्म आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता पनि नगराउने र संविधान पनि नमान्ने बताउनुभयो ।

कार्यपालिकामाथिको न्यायपालिकाको हस्तक्षेप प्रतिगमनले कू गर्ने संकेत हो भन्ने शंका व्यक्त गर्दै यस्तै हुँदै गए देश न्यायविहीन हुने बताउनुभयो ।

यसैगरी, पत्रकार सम्मेलनमा राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टीका अध्यक्ष इन्दूराय यादवले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । उहाँले कांग्रेस, एमाले, माओवादीले कहिल्यै पनि मधेशीलाई अधिकार नदिने ठोकुवा गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..