» » उपेन्द्र यादव भन्नुभयो, राजपा नेपालसँग मधेशमा सहकार्य हुन्छ


काठमाडौं, वैशाख १४ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प नभएको बताउनु भएको छ ।

सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै यो संशोधन प्रस्ताव अगाडि बढाईएको हो, यसलाई पारित गर्नुपर्छ, यही वैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्ने उहाँले बताउनु भएको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले सत्तारुढ र आफूहरुबीच भएको सहमति अनुसार नै संशोधन प्रस्ताव पारित गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘सहमतिको अक्षरंस अनुसार नै जानुपर्छ, संशोधन प्रस्ताव प्रक्रियामा गइसकेको छ, यसको सैद्धान्द्धिक छलफल सुरु भइसकेको छ, ७२ घण्टासम्म संशोधनको लागि समय छुट्टयाईएको छ, यही बीचमा यसलाई अनुमोदन गर्नुपर्छ, अब ढिलो गर्नुहुँदैन, समय अत्यन्तै कम छ ।’

संघीय गठबन्धनका संयोजक समेत रहनु भएका नेता यादवले उक्त प्रस्ताव पारित नभए आफूहरुले कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रस्ताव पारित नभए हामी आन्दोलनमा जान्छौं, प्रस्ताव पारित गराउन वातावरण बनाउनका लागि हामीले केही दिनमात्रै संघर्षका कार्यक्रमहरु स्थगन गरेका छौं, यदि प्रस्ताव पारित हुँदैन, फेरि पनि हामीमाथि धोका हुन्छ भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं, त्यतिबेला निर्वाचन नहुन सक्छ ।’ अध्यक्ष यादवले संविधान संशोधन नभए निर्वाचनलाई सोझै प्रभाव पर्ने समेत स्पष्ट पारे ।

उहाँले आफूहरुसँग भएको सहमति तथा समझदारी अनुसार सरकारले संविधान संशोधन नगरे सरकार स्वयम नै चुनाव बिथोल्न लागेको भनि प्रष्ट हुने टिप्पणी गर्नुभयो ।

अध्यक्ष यादवले सरकारले घोषणा गरेको दुई चरणको निर्वाचन गलत भएको बताउँदै दुई चुरणको निर्वाचन गलत हो, गलत मात्रै होईन यो अत्यन्तै गलत छ, यसले भविष्यमा नराम्रा संकेत छोड्न सक्छ, एकै चरणमा निर्वाचन गर्नु नै देशको हितमा छ, हतारो गरेर उपर्युक्त नहुने बताउनुभयो ।

निर्वाचनको मिति धेरै नजिक आईपुग्दा समेत निर्वाचनका प्रक्रिया जस्तो नियमावली अझैपनि नपाउनु दुःखदायी कुरा भएको उहाँलेको टिप्पणी गर्नुभयो । उहाँले संविधान संशोधन पूरा गरेरमात्रै निर्वाचनको तयारी थाल्नुपर्ने थियो भन्दै सरकारको ध्यानाकार्षण गराउनुभयो । उहाँले भन्नुभयोे, ‘संविधान संशोधन भनेको नै चुनावको लागि हो, बिल अहिले हाउसमा छ, यता निर्वाचनको प्रक्रिया अघि बढाईएको छ ।’

त्यस्तै उहाँले चुनावको लागि उम्मेद्धवारी दिन दलहरु तयार भइरहेको अवस्थामा अझैसम्म पनि स्थानीय तहको सँख्या कति हुने हो भन्ने कुरा टुँगो नलाग्नु पनि उतिकै दुःखदायी भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘अझैसम्म पनि स्थानीय तहको संख्या कति हुने हो भन्ने कुराको टुँगो छैन, २१ वटा जिल्लामा मात्रै सँख्या बढाउने कुरा राम्रो होईन, बढाउने हो भने यो देशभरि नै लागु हुनुपर्छ ।’

त्यस्तै उहाँले सरकारले स्थानीय तहको सँख्या बढाउने निर्णय फिर्ता लिएको विषयमा टिप्पणी गर्दै भन्नुभयोे, ‘यो सरकार कुहिरोमा हराएको कागजस्तै छ, आँफै निर्णय गर्छ अनि आँफै फिर्ता लिन्छ ।’

अध्यक्ष यादवले निर्वाचनको तयारी तीब्र भइरहेको अवस्थामा तराई र पहाडमा जनताहरु भोटर्स रेजिष्ट्रेशनबाट बञ्चित भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनतालाई भोट हाल्ने यो अवसरबाट बञ्चित गराउनु हुँदैनथ्यो ।’ उहाँले आफ्नो पार्टीले देशभरिका ७४४ वटै युनिटमा उम्मेद्धवारी दिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष यादवले सरकारले बेईमानी गरे जुनसुकै बेला आन्दोलनमा जान आफ्नो पार्टी र जनता तयार रहेको समेत जिकिर गर्नुभयो । उहाँले भन्नुभयोे, ‘किनकी यो सरकारले जहिलेपनि ढाँट्ने र ठग्ने काम गरेको छ, दोहोरो चरित्र देखाउने गरेको छ, एउटा चरित्र त हिजै देखियो नि, स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएको देखियो ।’

त्यस्तै उहाँले मुस्लिम समूदायको रमजान पर्व पर्ने भएकोले चुनावको मिति सारेर भएपनि एकै चरणमा निर्वाचन गर्दा राम्रो हुनेतर्फ सरकारको ध्यानाकार्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘धार्मिक आस्थालाई पनि ख्याल गर्नुपर्छ, चुनावको मुखमा उहाँहरुको रमजान पर्व छ, यसमा राज्य गम्भिर बन्नुपर्छ ।’

उहाँले नवगठित राष्ट्रिय जनता पार्टी नेपाल र आफ्नो पार्टीबीच तराईमा सहकार्य हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामीबीच चुनाव र संघर्ष दुवैमा सहकार्य हुन्छ, गर्न सकिन्छ, अरुसँगपनि तालमेल गर्न सकिन्छ ।’

त्यस्तै उहाँले आयोगमा दर्ता भएको दलहरुलाई चुनाव चिन्ह दिएपनि निर्वाचनमा प्रयोग गर्न नदिनु गलत भएको टिप्पणी गर्नुभयो  । उहाँले भन्नुभयो, ‘कि त दल दर्ता नै गर्न नदिनु ? दल दर्तां भएपछि चुनाव चिन्ह दिनुपर्छ ।’ यादवले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीलाई आफ्नो पार्टीको चुनाव चिन्ह मसाल दिने समझदारी भएको बताउनुभयो ।

त्यस्तै उहाँले नवगठित राजपा नेपालले पनि चुनाव चिन्ह माग गरे आफूहरु दिन तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुले माग्नुभयो भने हामी दिन्छौं, तर नमागि कसरी दिने ?’

नयाँ शक्ति पार्टीसँगको एकता कहाँ पुग्यो भन्ने पत्रकारको एक प्रश्नको उत्तर दिँदै यादवले विचार, सिद्धान्त मिल्यो भने पार्टी एकता हुन्छ, तर पार्टी एकता भनेको मकै, भटमास र गहुँ मिसाएजस्तो होईन नि ? विचार मिल्यो भने एकता हुन्छ ।’


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..