सुनसरी चैत २४ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय गच्छदारले काठमाडौंमा पार्टी एकीकरण गरिरहँदा उता उहाँकै जिल्ला सुनसरीमा पूर्वसभासद्ले पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
सुनसरीको क्षेत्र नं. ४ कप्तानगञ्ज र ५ नरसिंहमा संघीय समाजवादी फोरम नेपाल, सुनसरीले हिजो एकै दिन आयोजना गरेको पार्टी प्रवेश तथा सभामा पूर्वसभासद् र पूर्वगाविस अध्यक्षदेखि सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि फोरम नेपाल प्रवेश गरेका छन् ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका पूर्व सभासद् मूँगालाल मेहताले पार्टी परित्याग गरि आफूसँग रहेका अन्य कार्यकर्ताहरु सहित फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष शत्रुहन यादवले पनि पार्टीको नीति र सिद्यान्तप्रति असन्तुष्टि जनाउँदै फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।
परिमार्जनसहित संविधान संशोधन नभए चुनाव हुनै नदिने उद्घोष गरेर आन्दोलनमा होमिएर आन्दोलनसँगै संगठन विस्तारमा सक्रिय रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी नेता कार्यकर्ताहरुलाई अबीर फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराउनुभयो ।
मंगलबार मात्रै सिरहामा फोरम नेपालले आयोजन गरेको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस, एमाले, माओवादी, राप्रपा, सद्भावना पार्टी परित्याग गरि १५ सयको संख्यामा पार्टी प्रवेश गरेका थिए ।
No comments: