» » ‘वैशाख ३१ र जेठ ३१ गते चुनाव हुनसक्दैन’


काठमाडौं, वैशाख १६ गते । राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमन
ले संविधान संशोधन पास नभएसम्म चुनावमा भाग नलिने बताउनु भएको छ । उहाँले वैशाख ३१ र जेठ ३१ गते दुवै मितिमा चुनाव हुन नसक्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘अहिले धेरै गञ्जागोल छ, हामी त संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि निर्वाचनमा भाग लिँदैनौं ।’ उहाँले निर्वाचन आयोगले कमिसनको खेलमा हतारहतार गरेर मतपत्र छापेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘उम्मेदवारी भएकै छैन, तर मतपत्र हतार गरेर छाप्ने काम भयो, यो सबै कमिशनखोर हो ।’

उहाँले मौसमी र प्राविधिक कुराहरुको तयारीका लागि पनि चुनाव कार्तिकसम्मका लागि सार्नुपर्ने बताउनुभयो । उहाँले माघ ७ गतेसम्म तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले अहिले पनि केही हतार नभएको प्रतिक्रिया दिनुभयो ।

राजधानीमा आज भएका एक अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले तीन तहकै निर्वाचन कार्तिकमा गर्न सकिने बताउनुभयो ।

सुमनले संविधान जारी गर्दा हतारिँदाको परिणाम अहिले भोगिरहेका दलहरुले निर्वाचन गर्नपनि हतार गर्न नहुनेबारे सचेत गरानुभयो । उहाँले बैशाख ३१ मा चुनाव हुनै नसक्ने ठोकुवा गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले संशोधन प्रस्तावमा सर्बसम्बत बनाउन सरकार लागिरहेको बताउनु भएको  छ । उहाँले सरकारले प्रतिपक्षी दल नेकपा एमालेलाइ समेत समेट्न लागिरहेकोले केही ढिला भएपनि प्रक्रियामा गए संशोधन पास हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संशोधन प्रस्ताव पारित हुन्छ, सरकारले हरप्रयास सहमतिको लागि जोड दिईरहेको छ, प्रक्रियामा गए पनि पास हुन्छ ।’ उहाँले भोलि कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित गर्नुपर्ने बताउनुभयो । सहमति नभए एक दुई दिनभित्र भएपनि प्रस्ताव पारित हुने यादवको विश्वास थियो ।

प्रमुख दल नेपाली काँग्रेसका नेता फर्मुल्लाह मन्सुरले चुनावको वातावरण बनाउनको लागी संशोधन ल्याउनु परेको बताउँदै संशोधन प्रस्तावको विरोध गरेर एमाले निर्वाचनबाट भाग्न खोजिरहेका आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म कुनैपनि निर्वाचन हुन सक्दैन्, त्यसैले निर्वाचनको वातावरण बनाउनको लागि पनि संशोधन अनिवार्य छ ।’

उहाँले सरकारले परिमार्जनसहितको संशोधन विद्येयक अघि बढाएपछि आम जनतामा निर्वाचन हुनेबारे सकारात्मक विश्वास पैदा भएको उल्लेख गर्दै भन्नुभयो, ‘विश्वासको वातावरण बनिरहेको छ, तर एमालेले यसलाई राष्ट्रघाती भनेर गलत प्रचार गरिरहेको छ, यसले वातावरण बनाउँदैन् ।’

नेता मन्सुरले संशोधन प्रस्तावको विरोध गर्नु भनेको एमाले निर्वाचन विरोधी हो भनेर जनताले बुझिसकेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयोे, ‘प्रस्तावित संशोधन प्रस्तावको पक्षमा जनमत बनिरहेको छ, राप्रपा पनि यसको पक्षमा छ ।’ उहाँले एमालेले विरोधको शैली अपनाएर मुलुकलाई बन्धक बनाउन खोजीरहेको बताउँदै ईतिहासले एमालेलाई श्राप्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेले जे नाटक अहिले मञ्चन गरिरहेको छ, यो जनताको अधिकार बञ्चित गर्ने कुरा हो, ईतिहासले एमालेलाई श्राप्ने छ, एमाले अब पहाडको मात्रै पार्टी हुनेछ, मधेशमा पाईला टेक्ने ठाउँ हुँदैन् ।’ उहाँले संशोधन प्रस्ताव भोलि (आईतबार) निर्णयार्थ प्रस्तुत हुने भएकोले एमालेले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
एमालेको अडानले राजनीतिक निकास लिन नसक्ने र निर्वाचनको वातावरण भाँड्ने काम गरिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यद्धपी उहाँले संविधान संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदासम्म एमालेले पनि साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकारले घोषणा गरेको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन दुई चरणमा घोषणा भैसकेको छ, अब फेरि एक चरणमा गर्नुपर्छ भन्नु गलत हो, कोही पनि निर्वाचनबाट भाग्नुहुँदैन् ।’ उहाँले संशोधन प्रस्ताव सदनबाट पारित हुने ठोकुवा समेत गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुबिर महासेठले विदेशीले तयार बनाएर संबिधान कार्यान्वयन हुन नदिने षड्यन्त्रका साथ अहिलेको संशोधन प्रस्ताव आएको आरोप लगाउनु भएको छ । उहाँले अहिलेको संविधान लागु होस् भन्ने जनताको चाहना रहेको बताउनुभयो ।

उहाँले बलियो प्रतिपक्षी दल हुँदाहुँदैपनि एमालेसँग कुनै छलफल तथा सहमति नगरीकन प्रस्ताव आउनु नै दुर्भाग्य भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बलियो प्रतिपक्षी दल हुँदाहुँदै पनि हामीसँग कुनै छलफल गरिएन्, किनकी उहाँहरुलाई थाहा छ, एमालेले यो कुरा मान्दैन भनेर, देश र जनताको हितमा भएको भए पो उहाँहरुले हामीसँग सल्लाह गर्नुहुन्थ्यो ?’

नेता महासेठले मोर्चाका नेताहरुले दुताबास गएर बैठक गर्ने गरेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुको बैठक दुतावासमा हुन्छ, त्यो पनि राती होईन, दिउँसै १२ बजे, उहाँहरुको पार्टी हेडक्वार्टर छैन र ?’

एमालेलाई बदनाम गराउन अहिले खेल भैरहेको समेत उहाँको आरोप थियो । उहाँले सत्तारुढ दल राप्रपाको चरित्र पनि जनताले परिक्षण गरिसकेको बताउँदै राप्रपा अहिले काँग्रेस, माओवादी र मधेशवादी दलको कित्तामा उभिएको आरोप लगाउनुभयो ।

त्यस्तै उहाँले ११ जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउन लागिएकोप्रति टिप्पणी गर्दै भन्नुभयो, ‘यो त मधेशी मधेशीबीच लडाउन ल्याउन लागेको हो, हार्ने ठाउँमा संख्या बढाउन खोजिएको छ, उहाँले नेपालको स्वाधिनता र राष्ट्रियतामा आक्रमण गर्न पाईदैन् ।’ उहाँले आफ्नो पार्टीले जस्तोसुकै मुल्य चुकाउनु परेपनि पछि नहट्ने भन्दै देश र जनताको हित विपरित आएको प्रस्तावको विरोध गर्ने र अन्तिमसम्म पनि लड्ने स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरु चुनावको पक्षमा रहेकोले वर्तमान सरकारले घोषित मितिमा चुनाब गराउन नसके राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव गराउन नसके प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ, तर चुनावको विकल्प छैन् ।’

उहाँले संसदमा रहेको संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुनै नसक्ने बताउँदै सरकारले संशोधन पारित गराउनको लागी चलखेल गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले व्यापक चलखेल भैरहेको छ, यस्तो चलखेल नहोस्, तर संसदबाट पारित हुन्छ भने हामीले नतिजा त मान्नैपर्ने हुन्छ, तर हामी आफ्नो अडानबाट दायाँबायाँ हुँदैनौं ।’


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..