» » सत्ताका लागि प्रचण्ड र देउवाबीच चर्काचर्की

काठमाडौं वैशाख १७ गते । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता हस्तान्तरणको विषयले प्राथमिकता पाउँदा ती दलबीच मतभेद बढेको हो।

संविधान संशोधन विधेयकलाई पारित गर्न विभिन्न विकल्पमा छलफलमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच शनिबार साँझ विधेयक पारित गराई दुई चरणको घोषित निर्वाचन गराउने विषयभन्दा सत्ता हस्तान्तरणले प्राथमिकता पाएपछि दुई नेताबीच भनाभनसमेत भएको स्रोतको दाबी छ।

संशोधन, दुई चरणको निर्वाचन र बजेट सार्वजनिक तालिकाप्रति असन्तुष्ट प्रमुख प्रतिपक्षी एमालेलाई मनाउन अध्यक्ष केपी ओलीनिवास बालकोट पुगेर फर्किएलगत्तै देउवाले स्थानीय तह निर्वाचनलगत्तै सत्ता नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री दाहाल आक्रोसित बन्नुभएको हो ।

स्रोतका अनुसार देउवाले दुई चरणमा घोषणा गरिएको निर्वाचन तालिका परिमार्जन गर्न र निर्वाचनलगत्तै पूर्वसहमतिअनुसार प्रधानमन्त्रीबाट राजीनामा दिन भनेपछि दाहाल–देउवाबीच भनाभन भएको हो।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलासहित प्रधानमन्त्री भेट्न पुगेका देउवालाई दाहालले निर्वाचनमा सहमति नजुटेसम्म आफूले सत्ता हस्तान्तरण गर्न नसक्ने बताउनु भएको थियो ।

आफू एमाले र मोर्चालाई मनाउन प्रयत्न गरिरहेको तर सहयात्री दलका हैसियतमा सहयोग गर्नुको सट्टा असान्दर्भिक विवाद झिकेको भन्दै प्रधानमन्त्री दाहाल सभापति देउवाप्रति आक्रोसित हुनु भएको थियो ।

दुई नेताबीच निर्वाचन र संशोधन भन्दा पृथक् विषयमा अनावश्यक विवाद सुरु भएपछि बैठकमा उपस्थित कांग्रेस र माओवादी केन्द्रका नेताहरूले पुनः छलफल गर्न प्रस्ताव गरेपछि सत्तारूढको संशोधन विधेयक पारित गर्ने रणनीति नै तय नगरी बैठक सकिएको सहभागी एक नेताले बताउनुभयो ।

प्रधानमन्त्री दाहालसँग भेट गर्नुअघि देउवा वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौलालाई लिएर एमाले अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव ईश्वर पोखरेललाई भेट्न ओली निवास बालकोट पुग्नु भएको आजको राजधानी दैनिकमा समाचार छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..