» » मधेशी मोर्चालाई वार्ता र संवादमा आउन प्रचण्डको आग्रह

काठमाडौँ, चैत ३१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनमा नजान र सहमति र सहकार्यमा आउन मधेसकेन्द्रित दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको छ ।

मधेस केन्द्रित दलको बुधबारको बैठकले सरकारले पछिल्लो पटक संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्तावले आफूहरूले उठाएको माग सम्बोधन नहुने जनाउँदै आन्दोलनमा जाने निर्णय गरेको भोलिपल्टै प्रधानमन्त्रीले वार्ताका लागि आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले मधेस केन्द्रित दलका शीर्ष नेतालाई आज टेलिफोन गरेर वार्ताका लागि आउन र कुनै पनि बहकाउमा नलाग्न आग्रह गर्नुभएको हो ।

 प्रधानमन्त्रीले आज सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई वार्ता र संवादमा आउन र नमिलेका विषयलाई मिलाएर जान सरकार तयार रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन राष्ट्रिय आवश्यकताको विषय भएकाले कुनै पनि बहकाउमा नलाग्न र राष्ट्रिय विषयलाई वार्ता र संवादका माध्यमबाट नै हल गर्नु अत्यावश्यक रहेको बताउनुभयो ।

सरकारले गत मङ्सिर ५ गते संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर गत मङ्गलबार नयाँ संशोधन प्रस्ताव दर्ता गराएको थियो । उक्त संशोधन प्रस्तावले समेत आफूहरूको माग सम्बोधन गर्न नसक्ने भनी मधेस केन्द्रित दलले प्रतिक्रिया जनाएका थिए ।

प्रधानमन्त्रीले वार्ता र संवादका माध्यमबाट नमिलेका विषय मिलाउन सकिने ठाउँ भएको बताउँदै कुनै पनि आग्रह तथा पूर्वाग्रहले राष्ट्रिय आवश्यकता पूरा गर्न नसक्ने स्पष्ट गर्नुभयो ।

 प्रधानमन्त्रीले तत्काल संवादमा आउन र राजधानीमा नै रहेर समस्या समाधानमा केन्द्रित रहन समेत उहाँहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

सरकारले मधेस केन्द्रित दलकै आग्रहमा संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गराएको भन्दै प्रधानमन्त्रीले सोही प्रस्तावको वरिपरि रहेर संवाद गर्न र सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

मुलुक र जनताको आवश्यकतानुसार नै सरकार अगाडि बढेको र सबै दल तथा पक्षलाई मिलाएर अगाडि जान समेत सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ रहेको प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको आग्रहलाई मधेस केन्द्रित दलका शीर्ष नेताले सकारात्मक रुपमा लिँदै वार्तामा आउन आफूहरू तयार रहेको जानकारी गराउनुभएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..