» » स्ववियुको चुनाव अन्योलमा


स्वतन्त्र विद्यार्थी युनियनको चुनाव फागुन १४ गतेका लागि तय भएको छ तर चुनाव हुने कि नहुनेमा अन्योल देखिएको छ । मधेशी मोर्चा विद्यार्थी संगठनसहित १० विद्यार्थी संगठनले विभिन्न माग राख्दै चुनावको बहिष्कार गर्ने धम्की दिएको छ भने नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेलगायतका केही दलका विद्यार्थी संगठनहरु चुनावको पक्षमा देखिएको छ । विद्यार्थी संगठनहरु क्याम्पसमा आआफ्ना संगठन पनि दर्ता गराएको छ भने यता आन्दोलनको पनि शुरुसार भइरहेको छ । पूर्ण समानुपातिक, फर्जि विद्यार्थी भर्नाको खारेजी तथा तीन विद्यार्थी संगठनको सेण्डिकेट अन्त्यका लागि माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । बिपल्ब माओवादी पनि आन्दोलनमा छन् । उनीहरुले हाम्रो महाधिवेशन अवधिसम्म चुनाव नगर्न माग गरेको छ त्यसका लागि आन्दोलनमा छ । त्रिविका शिक्षाअध्यक्ष सुधा त्रिपाठीको गाडी जलाएर त्यसको चुनावको विरोध गरेको छ । यी र यस्ता कारणले चुनाव अन्योलमा देखिएको छ । आन्दोलनरत दल विद्यार्थीसँग गरिएको कुराकानीको सम्पादीत अंश जस्ताको त्यस्तैः


पूर्ण निशुल्क शिक्षा हाम्रो अवधारणा
देशको परिवर्तनशील आन्दोलनको नेतृत् गर्ने हाम्रो गौरवशील संगठन मधेशी विद्यार्थी फोरम लोकतान्त्रिकले उत्पीडिन र विभेदमा रहेका आम विद्यार्थीहरुको परिवर्तनशील आन्दोलनको नेतृत्वदायिक भूमिका गर्ने एउटा सवल, सक्षम, वैचारिक रुपले देशको शैक्षिक विभेदको विरुद्धमा परिवर्तनशील समाज स्थापना गर्ने र देशलाई सही मार्गमा अगाडी बढाएर शिक्षा प्रत्येक आम नेपाली जनताको घरमा पुर्याउने आफ्नो संगठनको चाहना रहेको छ । हाम्रो संगठनले पूर्ण समावेशी शिक्षा, सिपमुलक शिक्षा र २१ औं शताब्दीका हरेक चुनौतिसँग जुध्न सिकाउने शिक्षाको परिकल्पाना हामीले गरेका छौ । अब हामीले राज्यको प्लस टु सहित राज्यको विश्वविद्यालयको स्तरसम्मको शिक्षा पूर्ण रुपले निःशल्क हुनुपर्छ भनि अवधारणा अगाडी सारेर चुनावमा सहभागि भएको छ । देश पूर्णरुपले शिक्षित बनाउने नाममा विगतमा केही जाती र समुदायले शिक्षालाई आफ्नो जातिको मात्र र आफूले मात्र आर्जन गर्ने गरि बनाएको नीतिलाई चिर्नको निम्ति सबैलाई निःशुल्क शिक्षा नारा सहित शिक्षामा समावेशीताको अवधारणा पहिलो पटक हाम्रो गौरवशाली विद्यार्थी संगठनले अगाडी सार्यो, जसको फलस्वरुप आज विभेदमा पारिएका र शिक्षाको ज्योतिबाट टाढिएका मधेशी, मुस्लिम, आदिवासी, जनजाति आदि समुदायमा ज्ञानरुपी ज्योति छर्ने काम गर्यो । स्ववीयुलाई गुण्डागर्दीरहित शैक्षिक साझा फोरम बनाउन हामीले चालेका हरेक कदमलाई सशक्त, झुझारु क्रान्तकारी, क्षमतावान बनाउनका लागि र लोकतान्त्रिक विद्यार्थी फोरम नेपालको नेतृत्वलाई हरेक क्याम्पसमा स्थापित गर्नका निम्ती लागि परेको छ ।
कपलेश्वर यादव
अध्यक्ष, मधेशी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिक



मधेशीको मत मधेशीलाई मात्र 
हामी विद्यार्थी हौं । हामी शिक्षा क्षेत्रको सुधारका लागि संघर्ष गरिरहेका छौ । स्ववियु चुनावमा पनि आफ्नो अधिकारका लागि मधेशी विद्यार्थीहरु एकजुट भएर लड्नुपर्ने आवश्यकता देखिन्छ । यो चुनावबाट प्रमाणित गर्नुपर्छ कि हामी मधेशी एकताबद्ध छौ, आफ्नो अधिकारका लागि एकतृत भएर आन्दोलन गर्न सक्छौ । मधेशीको अमूल्य मत मधेश विरोधी शक्तिलाई दिनु हुँदैन भने हामीले आह्वान गरेका छौ । मधेशीको मत लिएर मधेशीमाथि बज्रपात गरेका हुन्छन् । त्यसैले यसपालीको चुनावमा मधेशीको मत मधेशीलाई मात्र नारा लगाउँछौ । हामी जोसँग लडिरहेका छौ, त्यसलाई नै शक्तिशाली बनायौ भने हामीले आफ्नो खुट्टामा आफै बन्चरो हान्ने जस्तो हुन्छ । त्यसले विरोधी शक्तिलाई मधेशको मत नजाओस् भनेर हामी सचेत छौ । स्वविभयु चुनावमा जतिपनि विद्यार्थी संगठनले भाग लिएका छन् उनीहरु विद्यार्थीका लागि होइन आफ्नो मातृ संगठन राजनीतिक दलका लागि पृष्ठपोषणका लागि काम गरिरहेका हुन्छन् । स्ववियुबाट दलको स्वार्थ पूरा गरिरहेका हुन्छन् त्यसलाई हाम्रो संगठनले तोड्न चाहन्छ । विद्यार्थीको संगठन हो भने विद्यार्थीका लागि मात्र काम गर्नुपर्छ भनि हाम्रो माग हो । हामी मधेशी विद्यार्थीको भविष्यका लागि लडिरहेका छौ । मधेशी विद्यार्थी संगठनमा आए मात्र शैक्षिक रुपमा अधिकार पाउनेछ नभए अरुको मुख ताकेर बस्नुपर्छ र यस्तै विभेद सहेर बस्नुपर्छ । त्यसैले हामी मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम विद्यार्थीलाई आग्रह गर्न चाहन्छौ कि आफ्नो अधिकारका लागि संगठित हाऔं ।
मनिष मिश्र
अध्यक्ष, तराई मधेश विद्यार्थी फ्रन्ट



तीन विद्यार्थी संगठनको सिण्डिकेट तोड्नुपर्छ
हामी यो चुनावको विरोधमा छौ । यो तरिकाको चुनाव हुनु हुँदैन । जबसम्म पूर्ण समानुपातिकको ग्यारेण्टी हुँदैन तबसम्म चुनाव हुदैन । यहाँ चुनावको नाममा विभिन्न क्याम्पसमा फर्जि विद्यार्थी भर्ना भएको छ । त्यसको छानविन गरेर खारेज गर्नुपर्छ । जो असल विद्यार्थी हुन् त्यसले मात्र चुनावमा भाग लिनुपर्छ । यो विद्यार्थीको चुनाव हो तर गैर विद्यार्थीहरुको हावी भयो भने यसमा विकृती झनै बढ्नेछ । स्ववियुलाई हामीले विद्यार्थीको संगठन बनाउन चाहेका छौ । विद्यार्थीका हकहितका लागि गठन भएका विद्यार्थी संगठनहरु आआफ्ना मुलपार्टीका झोले भएका हुन्छन् । विद्यार्थीको हकहितको भन्दा आफ्नो पार्टीको हितमा काम गरिरहेका हुन्छन् । त्यसैले त्यसलाई पनि तोड्नु आवश्यक छ । परम्परा शैलीमा स्ववियुलाई सञ्चालन गर्नुहुँदैन । त्यसमा गणतन्त्र स्थापना भइसकेको छ त्यसलाई अब त्यसै अनुरुप ढाल्नुपर्छ । संघीय संरचनामा समावेशी समानपातिक शैलीको संरचना निर्माण गर्नुपर्छ । स्ववियुमा प्रमुख तीन ठूला संगठनको सिण्डीकेट रहेको छ पहिलो कुरा त्यसलाई तोड्नुपर्छ । तीन विद्यार्थी संगठनको सिण्डीकेट रहिर्यो भने देशमा विद्यार्थीको अधिकार कहिले सुरक्षित हुँदैन । त्यसको लडाईमा हामी १० विभिन्न विद्यार्थी संगठन लागि परेका छौ । जबसम्म यी सब कुराको सुनिश्चितता हुँदैन तबसम्म चुनावमा जानु हुँदैन भनिरहेका छौ । केही मधेशी विद्यार्थी मोर्चाका संगठनहरु पनि तीन विद्यार्थी संगठनको लहैलहैमा लागेका छन् । काँग्रेस, एमाले र माओवादीका विद्यार्थी संगठनले जे भनिरहेका छन् त्यही गरिरहेका छन् भोली गएर त्यही विद्यार्थीहरुले मधेशी विद्यार्थीहरुको अधिकारमाथि धावा बोल्छन् । त्यसबाट जोगाउनका लागि हामीले नै अहिले देखि संघर्षमा छौ ।,
जेपी यादव
अध्यक्ष, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट


चुनाव हुने छाँटकाट देखिएको छैन ।
 कतिपय विद्यार्थी संगठनहरुले भाँडभैलो मचाएर चुनाव नहोस भनि चाहेका छन् । चुनाव समयमा होस् भनि हामी पनि चाहेका छौ तर हाम्रा केही मागहरु छन् त्यसलाई सम्बोधन गर्नपर्छ । चुनाव पूर्ण समानुपातिक हुनुपर्छ भनि हाम्रो माग छ । चुनावका लागि विभिन्न विद्यार्थी संगठनहरुले फर्जि विद्यार्थी भर्ना गरेका छन् त्यो खारेज हुनुपर्छ । विद्यार्थी नै नभएका व्यक्तिलाई मतदाता बनाउनका लागि क्याम्पसहरुमा भर्ना गराइएको छ त्यो खारेज गर्नुपर्छ भने हाम्रो माग हो । सबै विद्यार्थी संगठनहरुले चुनावमा भाग लिनुपर्ने वतावरण बनाउनुपर्छ । यहाँ चुनाव घोषणा गरेर आन्दोलनकारी संगठनको माग नै सम्बोधन नगरि चुनावमा जाने प्रयाय भइरहेको छ । हाम्रो भनाई भनेको तोकिएको समयमा चुनाव होस् तर संगठनहरुले उठाएको माग सम्बोधन पनि गर्नुपर्छ । हाम्रो माग सम्बोधन नगरि चुनावमा जानुको कुनै अर्थ रहनेछैन । चुनाव भएन भने यसको दोष हामीलाई नजाओस् भनि हामी सचेत छौ । हामी सार्थक चुनाव चाहेका छौ । कुनै व्यक्ति, कुनै संगठन विशेषको स्वार्थमा चुनावको मिति सार्नु हुँदैन । फागुन १४ गतेका लागि चनुावको मिति घोषणा गरेको छ त्यही मिति होस् तर हाम्रो माग पनि सम्बोधन होस् । विद्यार्थीको संगठनलाई विद्यार्थी संगठनकै रुपमा प्रयोग गर्नुपर्छ, नकि कुनै राजनीतिक दलको रुपमा । विद्यार्थीको हक अधिकारका लागि गठन भएको संगठनले विद्यार्थीका लागि नै काम गर्नुपर्छ । देशमा संघीयता लागु भइसक्यो । देश गणतन्त्रमा गइसक्यो तर अझै पनि परम्परा शैलीमा स्ववियु सञ्चालन हुनुहुँदैन । देशमा संघीयता आएको छ भन्ने कुराको अनुभूति विद्यार्थीहरुले गर्नुपर्छ ।  स्ववियुको चुनाव मिश्रित निर्वाचन प्रणालीमा गराउन चाहेका छन् जो हामीलाई स्वीकार्य छैन ।
विवेक राय
अध्यक्ष, संघीय विद्यार्गी संगठन


सविधान संशोधन नगरिकन स्ववियु निर्वाचन गराउनु हुँदैन
यो सरकारले स्ववियुको चुनाव गराएर मधेशको मागलाई ओझेलमा पार्ने प्रयास गरिरहेको छ । हाम्रा मातृ पार्टीले सविधान संशोधनको माग लिएर आन्दोलनमा छन् त्यहीबेला चुनावको मिति घोषणा गरेर त्यसलाई प्रभाव पार्ने प्रयास गरिरहेको छ । सविधान संशोधन नभएसम्म निर्वाचनको मिति घोषणा गर्नुहुँदैन भनि मधेशवादी दलको माग रहेको छ तर सरकारले जवर्जस्ती चुनाव गराउनेतिर गइरहेको छ । स्ववियुको चुनाव सरकारको लागि एक प्रयोग हो । यो स्ववियु चुनावमा मधेशी मोर्चाका विद्यार्थीहरुले भाग लिन्छन कि लिँदैनन । लिए भने उनीहरुको उपस्थिति कस्तो रहनेछ उनीहरुको पोजिसन कस्तो आउनेछ भन्ने हेर्न चाहेका छन् । त्यसैले हामी यो चुनावको पक्षमा छैनौ । हामीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गरेका छौ । त्यस्तै माघ १४ पछि जतिपनि विद्यार्थीहरु भर्ना भएका छन् ती सबै खारेज हुनुपर्छ र तीन दलीय विद्यार्थी संगठनको सिण्डिकेट खारेज हुनुपर्छ भनि माग सारेर हामी आन्दोलनमा छौ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ तर राज्य अझै पुरानै ढर्राको चुनाव गराउन चाहेका छन् त्यो हामीलाई स्वीकार्य छैन । चुनावमा मतदानका गर्नका लागि धेरै फर्जि विद्यार्थीहरुको भर्ना भएको छ त्यसलाई खारेज गर्नुपर्छ अनि मात्र स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ । एमाले, काँग्रेस र माओवादीका विद्यार्थी संगठनले थुप्रै फर्जि विद्यार्थी भर्ना गरेका छन् । त्यो कुनै पनि हालतमा खारेज हुनुपर्छ ।
लालबाबु साह
अध्यक्ष, नेपाली विद्यार्थी मञ्च


चुनावको वतावरण भए मात्र चुनावमा भाग लिने
हामी चुनाव बहिष्कार गरेका होइनौ । मधेशी मोर्चा विद्यार्थी संगठनलाई बदनाम गराउने प्रयास भइरहेको छ । हामीले स्ववियु चुनाव हुनुपर्छ भनि माग गरेर आन्दोलन नै गरेका थियौं तर आज हामी त्यही स्ववियु चुनावको बहिष्कार गनृ मिल्दैन । यद्यपी चुनावको वतावरण बनाउन हामीले माग गरेका छौ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा चुनाव हुनुपर्छ । माघ १४ पछि भएका विद्यार्थीहरु भर्ना खारेज गर्नुपर्छ । सिनेटलगायत सरकारका विभिन्न निकायमा मधेशी विद्यार्थीको सहभागिता हुनुपर्छ लगायतका हाम्रा मागहरु छन् यदि त्यो पूरा गर्ने वतावरण तयार भयो भने हामी चुनावमा जान्छौ नभए आन्दोलनमा जान्छौ । अहिलेसम्म हामी चुनावकै पक्षमा छौ भने बाटो पर्खेर पनि बसेका छौ कि राज्यले हाम्रो माग पूरा गरोस् तर अहिलेसम्म हामीलाई कुनै खोजखबर छैन । मधेशी विद्यार्थीको पनि संगठन छ भने कुराको वास्ता छैन राज्यलाई । एकपटक हामीसँग वार्ता गरेको थियो तर हाम्रो मागको कुनै सुनुवाई नगरि जवर्जस्ती चुनावमा जाने घोषणा गर्यो । हामीलाई लागेको थियो कि चुनावको मिति घोषणा भएपछि पनि हामीसँग वार्ता गरेर हाम्रो मागको सुनुवाई गर्नेछ तर अहिलेसम्म केही गरेको छैन । मधेशी मोर्चालाई वाइपास गरेर स्ववियुको चुनाव गराउने प्रयास गरिरहेको छ । जो हामीलाई स्वीकार्य छैन । हामीले देशका विभिन्न ठाउँमा तालाबन्दी गरेका छौ तर त्यसको बारेमा कुनै सोधखोज नगरि, त्यसको बारेमा कुनै सुनुवाई नगरि जवर्जस्ती चुनाव गराउन खोजेका छन् । हामी चाहन्छौ, चुनावको वतावरण बनाइयोस् र तोकिएको समयमा चुनाव होस् ।
किशोर यादव
अध्यक्ष, विद्यार्थी मञ्च

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..