» » एमालेसँग सकारात्मक सम्बन्ध रहेको भन्नुहुँदै उपेन्द्रले खोज्नुभयो सरकारको विकल्प

काठमाडौं, चैत्र १२ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नु पर्ने बताउनुभएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको छ । यसको विकल्प खोज्नु पर्ने भयो । यसै गरि उहाँले ओली नेतृत्वको सरकारको पालामा पनि रिर्पोटर्स क्लवमै गएर ओली सरकारको विकल्प खोज्नुपर्ने धारणा राख्नु भएको थियो नभन्दै दुई महिनापछि ओली नेतृत्वको सरकार ढलेको थियो ।

आज फेरि उपेन्द्र यादवले प्रचण्ड नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने भन्नुभएको छ, अब यो सरकार कति दिन टिक्छ हेर्न बाँकी छ ।

एमालेसँगको नजिकिदो सम्बन्ध र सरकार परिवर्तनको संम्भावनाको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा यादवले त्यस्तो बताउनु भएको हो । उहाँले एमाले आफूहरुको स्थायी शत्रु नभएको र राजनीतिमा स्थायी शत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताउनुभयो ।

मुलुकमा बेथिती बढेको र एनसेलसँग अर्बो लाभकर उठाउन नसकेको, र सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडांै पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप उहाँले लगाउनुभयो ।

एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने उल्लेख गर्दै यादवले भन्नुभयो, ‘यो ठूलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याईहाले, अब कसले छानविन गर्छ ? मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’

अध्यक्ष यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भन्नुभयो, ‘कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याईरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसदको चुनाव गर्नुपर्छ ।’

उहाँले सरकारले स्थानीय तहको निर्वाचन पहिले गर्न खोजेर संघीयता र गणतन्त्रलाई सखाप पार्न षड्यन्त्र गरिरहेको आरोप लगाए । यादवले भन्नुभयो, ‘पहिले संसदको निर्वाचन हुनुपर्छ, त्यस पछि प्रदेशको र अन्त्यमा स्थानीय तहको निर्वाचन हुनुपर्छ, अहिलेको संविधानले मधेशी, जनजाती, थारु, संघीयता पक्षधर र सिमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुर्नलेखन नगरिएसम्म मुलुकको भलो हुँदैन ।’

अध्यक्ष यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि विषयलाई थाँती राख्नुहुँदैन्, यसले समस्यालाई झनै बल्झाउँछ, यदि सीमांकनको विवाद समाधान गर्नको लागि आयोग गठन गर्ने हो भने, यसलाई शक्तिशाली आयोग बनाउनुपर्छ, यदि सरकारले चाहेको हो भने संघीय आयोगलाई जिम्मा दिओस् न त ?’

उहाँले प्रचण्ड नेतृत्वको वर्तमान सरकार टाउकोले टेकेर हिँडिरहेको आरोप लगाउँदै भन्नुभयो, ‘ टाउकाले यात्रा कहाँसम्म गर्न सक्छ ?, हामी खुट्टाले हिँड्नको लागि सुझाव दिईरहेका छौँ, हिजो राजाले पनि यस्तो निर्वाचन नगरेका होईनन्, त्यस्तै आज सरकारले सेना परिचालन गरेर निर्वाचन गर्नु भनेको मुलुकलाई झन भड्खालोमा जाक्ने काम हो ।’

उहाँले सरकारले सेना लगाएर चुनाव गराउन खोजे त्यो प्रत्युत्पादक हुने चेतावनी दिनुभयो ।

सरकारले विद्यार्थीको निर्वाचन गर्न नसकेको इतिहास साँक्षी रहेको भन्दै स्थानीय निर्वाचन गर्ने कुनै आधार नभएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारका कामहरू सबै हामीले देखेका छौँ, निवार्चन हुँदैन, हुन दिँदैनौँ, तर हामी वार्ताबाट भाग्दैनौ, पछिल्ला दिनहरुमा वार्ताको नाममा हामीलाई खेलाउने काम भएको छ, दिन कटाउने काम भइरहेको छ, दुनियाँलाई देखाउने र नाटक देखाउने काम भइरहेको छ, सरकार जिम्मेवारीपूर्ण ढंगले प्रस्तुत भइरहेको छैन, समस्याको समाधान निकाल्नेबारे सरकारको तयारी छैन्, हामीले घोषणा गरेका कार्यक्रमहरू निरन्तर अघि बढ्छन्, भोलिदेखि सप्तरीबाट आन्दोलन सुरु हुँदैछ ।’

यद्यपी यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा यस्तो समस्या नै नआउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले गम्भिरता देखाएन् ।’
प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई कसरी लिनुभएको छ भनी पत्रकारले सोधेको एक प्रश्नमा यादवले भन्नुभयो, ‘मुलुकको समस्या समाधान गर्नुपर्ने बेलामा उहाँ चीन जानुभयो, मुलुकको समस्या समाधान गरेर चीन मात्रै होईन, जापान, अमेरिका जहाँ गए पनि हुन्थ्यो ।’

मधेशमा मोर्चाका कार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटेका छन् नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा यादवले भने,‘हाम्रा कार्यकर्ताहरुले के गरिरहेका छन् भन्ने कुरा हामीलाई पनि थाहा हुन्छ, हाम्रा कार्यकर्ता निर्वाचन होईन आन्दोलनको तयारी गर्दैछन् ।’





About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..