» » देशैभरका निर्वाचन कार्यालय घेराऊ भएपछि सरकारलाई थपियो चुनौती

काठमाडौं चैत्र १५ गते । सरकारले आगामी बैशाख ३१ गतेलाई घोषणा गरेको स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै जाँदा संविधान संशोधनको माग गर्दै आन्दोलनरत शक्तिहरुले संशोधन नभए चुनाव हुनै नदिने गतिविधिलाई झन् सक्रिय बनाएका छन् ।

निर्वाचन कार्यालयहरु घेराऊ गर्ने, बोर्ड हटाउने, कर्मचारीहरुलाई धपाउने, प्रचार सामाग्री जलाउने जस्ता चुनाव विरोधी अभियान तीब्र बनेपछि सरकार थप संकटमा परेको छ ।

सहमति बिना चुनाव हुन नदिने अभियानलाई सफल बनाउन संघीय गठबन्धन र मधेशी मोर्चाको आह्वानमा आज देशैभरका निर्वाचन कार्यालयहरु घेराऊ गरिएको छ । परिमार्जनसहित संविधान संशोधन नभए चुनाव हुनै नदिने निर्णय गरेका गठबन्धन र मोर्चाका नेता कार्यकर्ताले मंगलबार निर्वाचन कार्यालय घेराऊ गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

सिरहा, सप्तरी, रौतहट, महोत्तरी लगायतका जिल्लाहरुमा जिल्ला समन्वय समिति र निर्वाचन कार्यालयको बोर्ड हटाइएको छ । काठमाडौं उपत्यका र देशका अन्य जिल्लाहरुसँगै मधेशका सबै जिल्लामा निर्वाचन कार्यालयहरु बिहान १० बजेदेखि घेराउ गरिएको थियो । कतिपय स्थानमा धर्ना दिएर मोर्चाका कार्यकर्ताहरु बसेका थिए । केही स्थानमा निर्वाचन कार्यालयका कर्मचारीहरुलाई बाहिर निकालिएको थियो ।

संविधान संशोधन पछि मात्र निर्वाचनको माग गर्दै आएको २८ दलीय गठबन्धन र मोर्चाले आगामी बैशाख ३१ ग्तेलाई घोषित निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न माग गर्दै आएको छ ।
 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..