» » बामदेवको कार्यकालमा किन बहुलाउँछन् थारुहरु ?

–सीएन थारु
जब जब वामदेव जी गृहमन्त्रालय सम्हाल्दो रहेछ, तब तब थारु बहुलाउँछ । २०६५ सालमा थारुलाई मधेसी घोषणा गरेको निहुँमा थारु बहुलाए । फाल्गुन १९ गतेदेखि चैत्र १ गतेसम्म १३ दिन आन्दोलनमार्फत तराई ठप्प पारे । यो आन्दोलनको बेला फाल्गुन २२ गते चितवनको टाँडिमा कमल चौधरी र विपिन खड्का क्षेत्री सशस्त्रको गोली लागेर सहादात प्राप्त गरे । त्यसैगरी देउखुरीको लग्ठवामा फाल्गुन ३० गते अर्को घटना दोहरिए जहाँ रामप्रसाद चौधरी र प्रकाश सत्गौंवा थारु सशस्त्रको गोली लागेर सहादात प्राप्त गरे ।
शायद त्यो बेलामा थारुले प्रहरी चौकी उपर हमला पो गर्ने हुन कि भनेर गोवरडिहा प्रहरी चौकी खाली गराइएको थियो ।

थरुहट सेनाको नाममा त्यसबेला युवाहरु संगठित पनि थिए । १३ दिने संघर्षको बेला गाइघाटको देउरी बजारमा डिएसपीको गोली विद्युत पोलमा लागेर झण्डैले आन्दोलनकारी बाँचेको थियो । संविधानसभाको दोश्रो निर्वाचनपछि सुशिल कोइरालको नेतृत्वमा सरकार बन्यो र बामदेव जी फेरि गृहमन्त्रालय सम्हाल्न पुगे । बामदेव जी ! तपाईलाई एक एक रिपोर्ट गृहमन्त्रालयको अनुसन्धानमा खटिएका विशेष प्रहरीहरुले दिइरहेकै हुनुपर्दछ । थारुहरु १६ बुँदे सहमतिको विरुद्ध सडक संघर्षमा थिए । उनीहरुले संघर्षको क्रममा कोहलपुर, गुलरिया तथा टीकापुरमा थरुहट सरकार भनेर बोर्ड राख्न पुगेकै हुन् ।

भाद्र ७ गते थारुहरुले निर्धारित कार्यक्रम अनुसार टीकापुर पुगेको वेला बामदेव जी जातीय संहारको योजना पनि बुनेकै थिए । यो नश्लीय उन्मादको शासकीय चरित्र थिएन कसरी भन्न सकिन्छ ? नेपालमा उच्च जातीय खसआर्य हिन्दुको अहंकार होइन भनि प्रमाणीत गर्ने तर्क छ ? भाद्र ७ गते टीकापुर घटनामा यदि सशस्त्रले फायरिङ्ग खोलेको भए निशस्त्र थारुहरुको लासको थुप्रो यो देशको सामु हुने थियो र माओवादीलाई अहिले जे आरोप लगाई तिम्रो गिरोहले दुत्कार्न सकेको हो, त्यो कलंक तिम्रो टाउकोमा बज्रिने थियो । त्यसैलाई तिमीले विखण्डनकारीको आरोप लगाउने काम गर्दैछौं । देशद्रोही देख्दैछौं । यति बेला मलाई इन्दु थारुको कविताको

अंश याद आउँछ कि 
तिम्रो मनमा खोटैखोट छ । 
त्यसैले त टीकापुर विष्फोट हुन्छ । ।

नेपाली राष्ट्रियता बारेः बामदेवजी पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता देख्नु हुन्छ र मेहेन्द्रीय राष्ट्रवाद प्रगतिशिल मान्नु हुन्छ । ऐतिहासिक भौतिकवादी ढंगले नै उहाँले यसलाई सही ठानेपछि यहाँ सवाल उठ्छ कि पश्चिमा अस्तित्ववादीले भने अनुसार “अस्तित्व सार भन्दा अगाडि हुन्छ ।” भन्दा नेपाल राज्यको सार के हो जस भन्दा अगाडि अस्तित्व हुन्छ ?

शायद नेपाल राज्यको निर्माण हुनु अगाडि यहाँ थारु अस्तित्वमा थिए र छन् । यहाँका खस पनि नागराज शासन गर्दाको अगाडि देखि बसोवास गर्दै आएका हुन् । किराँतको इतिहास झन खसआर्य भन्दा अगाडि पुग्दछ र हाल पनि अस्तित्ववान छन् । नेवार यहि नेपाल खाल्डोको भूमिपुत्र भएकोमा कसैको शंका छैन । मगर र तमु गण्डक क्षेत्रमा शासक भएरै थलोकिलो कायम गरे भने तामाङ नेपाल खाल्डोको वरिपरि विभिन्न समयमा आफ्नो शासनसत्ताको माध्यमले शासित हुने गरेको इतिहास छ ।

यसलाई के ऐतिहासिक भौतिकवादी ढंगले विश्लेषण गर्न सकिंदैन ? के पृथ्वी नारायण शाह र उनका छोरावुहारीले पराक्रम देखाएरै गोरखा राज्यको विस्तार गर्न सके ? इतिहास साक्षी छ कि अनेकौं छलकपट र सन्धिमार्फत गोरखा राज्य लिम्बुवान र सप्तरीसँग साझेदारीको हात बढाए । लिम्बुवानसँग वि.सं. १८३१ को सन्धिपत्र अद्यावधि कायम छ ।

यसले के देखाउँछ भने नेपाली राष्ट्रियता एक सम्झौता हो र आधुनिक नेपाल राज्यको निर्माण हुँदा नागिरिक राष्ट्रियता विकास गर्ने क्रममा यसको अस्तित्व कायम हुन पुग्यो । त्यसकारण नेपाली राष्ट्रियता बोनाफाइड राष्ट्रियता होइनन् र यहाँको नेवार, तामाङ, थारु, किरात लिम्बु, खम्बु, खस, मगर, तमु, आर्य, मधेसी आदिको सम्झौताबाट निर्मित नेपाली राष्ट्रियता दक्षिण एसियाको भूराजनीतिक पक्षबाट हेर्दा लाभदायक रहेको ठहर्छ । यसैलाई डा. बाबुराम भट्टराईले इन्द्रेणी राष्ट्रियता भन्नु भएको हो र वास्तविकता पनि यहि नै ठहर्छ ।

बामदेव जी ! तिम्रो नजरिया उपरोक्त हिसावले न ऐतिहासिक भौतिवादी विश्लेषण हुन सक्यो न प्रगतिशिल राष्ट्रवाद नै । मैंले माथि नै उल्लेख गरि सकें कि नेपाली राष्ट्रवाद एक सम्झौता हो । विश्वव्यापीकरण मार्फत जब केन्द्रीकृत राज्यको शक्ति क्षय हुन पुग्यो र बजारले शक्ति संचय गर्न पुगे त्यसपछि नेपाली राष्ट्रवाद शासकवर्गको पेवा जस्तै भयो र बाँकी बजारको निर्णायक शक्ति ।

त्यसैले त टुँडिखेल पनि थारुमय बन्छ, तमुमय बन्दछ र तामाङमय बन्दछ । त्यसैले विश्वव्यापीकरणले थारु, तमु, तामाङ आदि देख्दैनन् भन्ने मानसिकता जो शासकवर्गमा कायम छ त्यो तिम्रो अज्ञानता हो । श्यामुल पी. हन्टिङ्टन लेख्छन्– जब व्यक्ति आधुनिक बन्दै जान्छ, ऊ एक्लीदै जान्छ र अन्ततः आफ्नो संस्कृति र पहिचान खोज्छ । त्यस्तै जब समाज आधुनिक बन्दै जान्छ, उसले आर्थिक, राजनैतिक र सैनिक शक्ति प्राप्त गर्दछ र अन्ततः आफ्नो संस्कृति र पहिचान खोज्छ । विव्यव्यापीकरणले अल्ट्रा राष्ट्रवादको लहर पनि ल्याए ।

यसै लहरमा लहरिंदै के.पी.ओली नेपाली राष्ट्रवादको एक पक्षीय वकालत गर्न अग्रसर भए जुन तिम्रो नजरमा प्रगतिशिल नै ठहर भएको छ ।

तिमीले गर्न खोजेको तर्क भारतले नेपाललाई असल छिमेकीको रुपमा व्यववहार गरेनन् र यसको स्वतन्त्रता तथा सार्वभौमिता उपर धावा बोले । यसबारे तिमीलाई थप थाहा भएकै हुनुपर्दछ कि प्रधान सेनापति रुक्माङ्गद कटुवाल कारवाहीमा पर्दा के.पी.ओली त्यसको विरोध मात्र गरेनन् एमाले पार्टी भित्र पनि फरक बहस ल्याइदिए । परिणामस्वरुप पुष्पकमल दहालको नेतृत्वमा बनेको सरकार भंग हुन पुग्यो । के त्यो बेला एमाले र के.पी. ओलीले लिएको लाईन नेपालको स्वतन्त्रता र सार्वभौमिकताको पक्षधर मान्नु पर्ने ?

एमाले जनजाति विरोधी किन ? 

एमालेको ढुलमुले प्रवृति कायम रहेको छ र झन संसदीय भासमा यात्रा गर्न थालेपछि बहुदलीय जनवादको कार्यक्रमिक रोडम्याप पनि विचार विहिन बन्न पुगेको पाइन्छ । अहिले दलीय प्रतिस्पर्धा गौण र गिरोहतन्त्र हावी भएको छ । यसले यहाँको समाजलाई दिसानिर्देश गर्ने कुरो त परको विषय बनेको छ । समाज गिरोहतन्त्रमा फँस्दै दिनानुदिन असुरक्षित बन्दै गएको पाइन्छ । व्यक्ति यदि निश्चित गिरोहमा आवद्ध नहुने हो भन्ने उसको हरेक पक्ष संकटग्रस्त बन्ने पक्का छ ।

 एमाले यो प्रवृतिको बढावा दिएको छ र निरन्तर यसलाई आधारभूत तहमै सुदृढ बनाउने काम गर्दै गिरोह जन्माउने गरेको देखिन्छ । कुनै वेला सामुदायिक वनमा मौलाएको गिरोहतन्त्र, पछिल्लो समय उपभोक्ता समिति र विद्यालय व्यवस्थापन समिति लगायत गैरसरकारी संस्थामा देखा पर्यो ।

अहिले गिरोहतन्त्र आर्थिक सञ्जाल निर्माण गर्दै लघुवित संस्था लगायत विभिन्न सहकारी संस्थामा मौलाएको देख्दा माओवादी केन्द्र तथा अन्य दलहरुमा समेत यसको संक्रमण बढेको पाइन्छ । संगठित रुपले तिनै आर्थिक सञ्जालमार्फत भूमी माफियाहरुको विगविगि बढेकोले पार्टी भन्दा गिरोह हावी देखिन्छ । वर्गसंघर्षले नै सबै समस्याको समाधान दिने माक्र्सवादी विचार अब क्लासिकल भइसके किनकी नवउदारवादको लहरले त्यस्तो विचारको सन्दर्भ औचित्यहिन सावित गरिसके । अब पनि अन्तर्राष्ट्रियवादको नारा घोकेर नेपाली राष्ट्रवादको भरथेग गर्न मुश्किल छ । यहाँका थारु, तमु, लिम्बु, तामाङ, खम्बु, खस, मधेसी, मगर, नेवार आदि राष्ट्र हुनै सक्दैन भन्ने मनोविज्ञान एमालेजनमा रहेछ र उनीहरु नेपाली राष्ट्रवादमा सबै विलय भएको ठानेको हुनुपर्दछ । हो यहि नै एमालेजनको दृष्टीदोष मानिन्छ । त्यसको अस्वीकारोक्तिले एमाले जनजाति विरोधी हुने पक्का भइहाले साथै नक्कली राष्ट्रवादी पनि भएको ठहर्छ ।

अन्त्यमा,
मैंले जुन शीर्षक छानें त्यसको कारण खोजौं । जब जब बामदेव जी शासनमा विराजमान हुन्छ, थारु वहुलाउने गरेको छ । शासकलाई शासन गर्न शक्ति चाहिएको हुन्छ र थारु इतिहासको कुनै दुर्घटनाले बनेका आफ्ना शासकवर्गसँग शासन गर्ने शाश्वत अधिकार छ भन्ने कुरो मान्न अब तयार छैनन् । थारु प्रशासनबाट मुक्ति चाहन्छ किनकी प्रशासनले उनीहरु उपर विभेद वाहेक अरु केही दिएनन् । राज्यले विगतमा थारु उपर गरेका विभेदहरु कुनै पनि हिसाबले क्षम्य छैन र त्यस खालको शासनको विरुद्धमा स्वशासनको नारा सडकमा घन्काइएको हो । सामाजिक–साँस्कृतिक, आर्थिक तथा राजनीतिक तहमा विकल्प खोजी गर्दै थारु अबको राष्ट्रिय मुक्ति आन्दोलनमा आवद्ध हुन चाहेका छन् ।

इन्द्रेणी राष्ट्रवादको रुपमा नेपाली राष्ट्रवाद थारुको लागि स्वीकार्य बन्न सक्छ तर थारु आफैंमा सार्वभौम र स्वतन्त्र रहेको मान्यतालाई नक्कली नेपाली राष्ट्रवादमा विलय गराउन मञ्जुर छैनन् । त्यसको अर्थ करले नेपाली राष्ट्रियता स्वीकार गर्ने पक्षमा अब थारु छैनन् र नयाँ सम्झौता मार्फत नेपाली राष्ट्रियता परिभाषित गर्ने तर्फ सबैले सोच्न जरुरी भइसके ।

खुलामञ्चमा घण्टौं यस विषयमा वहस गर्ने डा. बाबुराम भट्टराईको चुनौती यसैको सेरोफेरो आएको हुनुपर्दछ तर यसलाई डा. बाबुरामको आत्मरतिको रुपमा लिनेहरुको कमी पक्कै छैन । सारमा, के.पी.ओलीको राष्ट्रवादको डाइलेक्टिकल पक्ष छ र नश्लवादी चरित्र बोकेको नेपाली राष्ट्रवादको वकालत गर्ने गरेको तथ्य र प्रमाण जुटाउनु आवश्यक नै पर्दैन ।

 टनकपुर सन्धिमा विस्तारवादी भारतको नियत नदेख्ने एमालेजन अहिले के.पी.ओलीको राष्ट्रवाद भनेको भारतको विस्तावादी र साम्राज्यवादी प्रवृतिको विरुद्ध उठाईएका प्रगतिशिल राष्ट्रवाद हुन भनेर लिनियर विश्लेषण गर्दैमा पत्याउने कुरो हुन्छ ? के राष्ट्रवादको विचार र सिद्धान्त के.पी.ओलीले व्याख्या गरे मुताविक मात्र जायज ठहर्छ भन्ने छ ? यसको पनि त अन्तर्राष्ट्रिय मापदण्ड होला ? शायद नक्कली कम्युनिष्टहरुको नकाव विस्तारै खुल्दै गएको बेला नेपालमा देखिएको खैलाबैला र अन्तरविरोधको उपयोग गर्न अर्को कसरत कामयावी बन्ला कि भनेर दाउ खोजे जस्तो देखिन्छ ।

तर विश्वव्यापीकरणले ल्याएको चेतना मुताविक अबको नक्कली कम्युनिष्टहरु जस्तो सुक्कै हरकत गरे पनि यो शताब्दी भनेको आदिवासी पहिचान बोकेका बोनाफाइड राष्ट्रियता बोकेका जनताहरुको शताब्दी हो । त्यसैले पहिचानको जगमा राष्ट्र, राज्य र राजनीतिको आधार तयार गरे मात्र नेपाली राष्ट्रियता बलियो बन्ने हो । बाँकी आरोप प्रत्यारोपको खेल मात्र ठहरिने र अन्त्यहिन बहसमा फँस्ने काम हुनेछ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. Acceptable line. Racism no need to prove in UML, it is by birth.

    ReplyDelete

..