» » स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदनमाथि देखिएको गुनासाबारे २ नं प्रदेशका सांसदसँग परामर्श

काठमाडौँ, फागुन ३ गते । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले २ नं प्रदेशका सांसद्सँग परामर्श गरेको छ ।

समितिले सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आइतबार, सोमबार र मङ्गलबार गरी २ नं प्रदेशका आठ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासा सम्बोधन गर्न परामर्श गरेको हो ।

समितिले आज सर्लाही, पर्सा, बारा र रौतहट जिल्लाका सांसदसँग छलफल ग¥यो ।

छलफल स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा २ नं प्रदेशका जिल्लामा देखिएको गुनासो हल गर्ने बारेमा केन्द्रित भएको थियो ।

छलफलमा सहभागी विभिन्न दलका सांसदले केही मात्रामा स्थानीय तहको सङ्ख्या थप गरेर भए पनि गुनासो समाधान गर्नुपर्ने बताएका थिए ।

उनीहरुले प्रतिवेदन तयार गर्दा जनसङ्ख्या र भूगोललाई आधार नबनाइएको, यसअघिको छलफलमा जनप्रतिनिधिले आयोगलाई दिइएको अवधारणालाई नसमेटिएको बताएका थिए ।

सहभागी सांसद्ले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगले संरक्षित क्षेत्र, स्वायत्त क्षेत्रको सिफारिस नगरी नगरपालिका र गाउँपालिका मात्र सिफारिस गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

छलफलमा सप्तरीबाट नेपाली काँग्रेसका सांसद रामचन्द्र चौधरी, डा अमरेशकुमार सिंह र हरेशप्रसाद महतो, नेकपा (एमाले) का हरिप्रसाद उप्रेती, कमलादेवी महतो, दुलारी देवी र रन्जनाकुमारी सरकार, नेकपा (माओवादी केन्द्र) का शम्भुलाल श्रेष्ठ, तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल राय तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश्वरी देवीलगायत सहभागी हुनुहुन्थ्यो ।

छलफलमा पर्साबाट नेपाली काँग्रेसका सांसद सुरेन्द्रप्रसाद चौधरी, नेकपा (एमाले) जयप्रकाश थारु, जुनैद अन्सारी र नागेन्द्रप्रसाद थारु तथा नेकपा (माओवादी केन्द्र) का फुलझरी देवी, बारा जिल्लाबाट नेपाली काँग्रेसका फरमुल्लाह मन्सुर र मधु शाही ठकुरी, नेकपा (एमाले) बाट नेजमा आलम, बलवीरप्रसाद चौधरी र पुरुषोत्तम पौडेल तथा नेकपा (माओवादी केन्द्र) बाट दिलमाया धामी सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी छलफलमा रौतहट जिल्लाबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का नेता माधवकुमार नेपाल, डा वंशीधर मिश्र र रामकुमार भट्टराई, नेपाली काँग्रेसका सुनीलकुमार यादव, नेकपा (माओवादी केन्द्र) का प्रभू साह, सत्यनारायण भगत विन र सुरेन्द्रप्रसाद जैसवाल तथा मनोनित सांसद लालबाबुप्रसाद यादव सहभागी हुनुहुन्थ्यो ।

समितिले आइतबार सप्तरी, सोमबार सिरहा, धनुषा र महोत्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको थियो ।

बिकल्पसहितको सुझाव दिन आग्रह 

छलफलपछि समितिका संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २ नं प्रदेशका सांसदलाई आआफ्नो जिल्लाको गुनासो सम्बोधन गर्ने गरी बिकल्पसहितको सुझाव दिन आग्रह गरिएको बताउनुभयो ।

प्रत्येक जिल्लाका सांसदमध्येबाट एक जनालाई संयोजकको जिम्मेवारी दिइएर सबै राजनीतिक दलका सांसदसँग छलफल गरी सुझाव दिन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

मन्त्री पाण्डेले प्रतिवेदनका सम्बन्धमा देखिएका गुनासा, छलफलका क्रममा प्राप्त र सांसद्हरुले दिएको विकल्पसहितको सुझाव अध्ययन गरेर आफूले मन्त्रिपरिषद्मा प्रतिवेदन पेस गर्ने बताउनुभयो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..