काठमाडौं फागुन १७ गते । संघीय समाजवादी फोरम नेपालको सिरहा जिल्ला अध्यक्षका लागि एघार जनाले उम्मेदवारी दिएका छन् ।
सिरहा जिल्ला अध्यक्षका लागि एघार जनाले उम्मेदवारी दिएपछि नयाँ नेतृत्वका लागि कडा प्रतिस्पर्धा देखिएको छ । हिजो उद्घाटन भएको जिल्ला अधिवेशन सम्पन्न भएपछि आज बन्द सत्र सकाउँदै जिल्ला नेतृत्वका लागि मनोनयन दर्ता भएको हो ।
जिल्ला अध्यक्षको लागि उम्मेदवारी दिनेमा वर्तमान अध्यक्ष किशोरी यादवसहित बादल प्रसाद यादव, विजय कुमार महतो, श्रीनारायण यादव, कुमार यादव, महेन्द्र प्रसाद साह, सञ्जीव कुमार यादव रहेका छन्
रामदियाल यादव, प्रमोद कुमार गोहियार, जागेश्वर प्रसाद यादव र रामकुमार यादवले पनि जिल्ला अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरि, जिल्ला सदस्यका लागि एक जना अध्यक्षसहित ५१ जनाको कार्यसमिति गठन गर्ने प्रावधान भएपनि सदस्य पदका लागि करिब एक सय पचास जनाले उम्मेदवारी दिएका छन् ।
राजनीतिक, आर्थिक र प्रशासनिक प्रतिवेदन प्रस्तुत भएर पारित भएर आज बन्द सत्र सकिएको छ । नयाँ नेतृत्वका लागि भोलि बुधबार निर्वाचन हुने कार्यक्रम तय भएको फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादवले जनाएका छन् ।
अन्य जिल्लाको तुलनामा शहरी क्षेत्रदेखि गाउँसम्मै बलियो पकड बनाएको फोरम नेपाल सिरहाको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने विषयलाई चासोको रुपमा हेरिएको छ । जिल्लामा पार्टीको पन्ध्र हजार बढी क्रियाशील सदस्यता वितरण गर्न सफल फोरम नेपाल सिरहाको प्रथम एकता अधिवेशनमा करिब दुई हजार प्रतिनिधि सहभागी रहेका छन् ।
No comments: