» » स्थानीय पुनःसंरचनाका लागि कार्यदलले यसरी गर्दैछ छलफल

काठमाडाँै, फागुन ३ गते । स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गरी मन्त्रिपरिषद्मा सुझाव पेस गर्न गठित कार्यदलले दुई नम्बर प्रदेशका संसदहरुसँग छलफल थालेको छ ।

हालसम्म सप्तरी, सिरहा, धनुषा र महोत्तरीका सांसदहरुसँग छलफल भइसकेको छ । छलफलमा अधिकाँश सांसदले आयोगको प्रतिवेदन परिमार्जन गर्नुपर्ने धारणा राख्नु भएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका जिल्लामा केही स्थानीय तहको सङ्ख्या थप गरेर जनताको भावना सम्बोधन गर्न स्थानीय विकास मन्त्री हितराज पाण्ड नेतृत्वको कार्यदललाई सुझाव दिएको छ ।

छलफलमा सहभागी मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का सांसद जितेन्द्र नारायण देवले भन्नुभयो, ‘सरकारले २ नं प्रदेशका सांसदसँग छलफल गरेर प्रतिवेदन परिमार्जन गर्न लाग्नु सकारात्मक कुरा हो तर लिएका सुझाव कति कार्यान्वयन हुन्छ त्यसमा भरपर्ने कुरा हुन्छ ।’ दुई नम्बर प्रदेशमा आयोगलाई बहिष्कार गरेको कारणले यो मात्र छलफलले नहुने पनि कतिपयजनाले धारणा राखेको उहाँले बताउनुभयो ।

उहाँले स्थानीय तहको सङ्ख्या बढाउँदा जनताले घर नजिकैबाट सेवा पाउने हुँदा सङ्ख्या बढाएर जानु नै उपयुक्त हुने सल्लाह दिएको मन्त्री पाण्डेका प्रेस सल्लाहकार अशोक आचार्यले जानकारी गराउनुभयो । स्थानीय तह (युनिट) सानो बनाउँदा जनताको घर नजिक सरकारको उपस्थिति हुने उहाँको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र) का सांसद अशोककुमार मण्डलले आयोगको प्रतिवेदन अव्यवहारिक भएको उल्लेख गर्दै त्यसलाई सच्याउन माग गर्नुभयो । “सिंहदरबारबाट मधेसको चित्रण गर्न सकिदैन”–स्थानीय तहको सीमाङ्कनबारे टिप्पणी गर्दै उहाँले भन्नुभयो, “सङ्घीयता जनतालाई दुःख दिन हो की, सुख दिनका लागि हो ।” ऐतिहासिक धरोहर, देवीदेवताको नाउमा स्थानीय तहको नामाकरण गर्न सकिने उहाँको भनाइ रहेको आचार्यले जानकारी गराउनु भयो ।

धनुषाका समानुपातिक सांसद रामसिह यादवले धनुषामा १८ केन्द्र हुनुपर्ने माग गर्नुभएका छ । उहाँले २५ हजार जनसँख्यामा गाउँपािलका र ४० हजार नागरपालिका तथा त्यसमाथी उपनगरपालि, महानागरपालिका हुनुपर्ने सुझाव आफूले दिएका जानकारी दिनुभयो । नेपाली काँग्रेसका सांसद रंजित कर्ण (सप्तरी) ले स्थानीय तह पुनःसंरचनाको मापदण्ड नै गलत भएको उल्लेख गर्दै मधेसी मोर्चाका सांसदको पनि सहमतिमा प्रतिवेदन टुङ्ग्याउन सुझाव दिएको बताइएको छ ।

त्यसैगरि नेकपा (एमाले) का सांसद सत्यनारायण मण्डलले जनसङ्ख्यालाई आधार मानेर व्यवाहारिक र वैज्ञानिक रुपमा स्थानीय तहको सङ्ख्या थपघट गर्न सुझाव दिनुभएको छ । सिरहाका सांसद पदमनारयाण चौधरीले सिरहा जिल्लामा १७ वटा इलाकालाई नै आधार मानेर गाउँपालिका र नागरपालिका चयन गर्न सुझाव दिनुभएको छ । हाल सिरहामा  ६ नगरपालिका र ६ गाउँपालिकाको सिफारिस गरेको छ । उहाँले त्यसलाई बढाउन सुझाव दिनुभएको छ । सांसद चौधरीले यो सुझाव संकलन समिति मात्र हो, निर्णायक होइन, त्यसैले सुझाव मात्र दिएका हौं कार्यान्वयन होला भन्ने विश्वास नलागेको बताउनुभयो ।

छलफलमा नेपाली काँग्रेसका तेजुलाल चौधरी, सुरेन्द्रप्रसाद यादव र कर्ण, नेकपा (एमाले) का तारकान्त चौधरी, रंजुकुमारी झा र सत्यनारायण मण्डल, नेकपा (माओवादी केन्द्र) का मानपुर चौधरी, अशोककुमार मण्डल र उमेशकुमार यादव, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का देव, डा. सुवोधकुमार पोखरेल एवम् मनोनित सांसद सकलदेव सुतिहार, धनुषाबाट दिनेश प्रसाद पसैला, रामकृष्ण यादव, प्रेमकिशोर प्रसाद साह, प्रतिक्षा तिवारी मुखिया, महेन्द्रराय यादव, मुक्ता कुमारी यादव, सूर्यनारायण यादव, सूर्यनारायण यादव, रामसिह यादव, शिवचन्द्र चौधरी सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै सिरहाबाट पदमनारायण चौधरी, सिता यादव, अजय शंकर नायक, अमयकुमार यादव, भानु महराको उपस्थिति थियो । महोत्तरीबाट काँग्रेसका किरण यादव, सिताराम भण्डारी, संगिता मण्डल, दिपनारायण साह, माओवादीका रञ्जना श्रेष्ठ, गिरीराज मणी पोखरेल, लालेन्द्रकुमार मण्डल, फोरम नेपालका डा.शिवजी यादव, राप्रपाका शुशिल कुमार श्रेष्ठ हुनुहुन्थ्यो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री एवम् सुझाव समितिका संयोजक हितराज पाण्डेले विभिन्न जिल्लाका सांसदहरुसँग छलफल गर्दा केही स्थानीय तहको सङ्ख्या थप गर्ने बारेमा सुझाव आएका बताउनुभयो । सोही सुझावका आधारमा प्रतिवेदन मन्त्रीपरिषद्लाई बुझाउनुभयो । सांसदहरुसँग छलफल गरेर त्यसमध्ये एकजनालाई संयोजक बनाएर आपसमा थप छलफल गरेर सुझाव दिन भनेको उहाँले बताउनुभयो । हालसम्म सप्तरी, सिरहा, धनुषा र महोत्तरीका सांसदसँग छलफल गरिसकेको छ । र, ती साँसदहरुले आआफ्ना जिल्लामा एकजना सयोजक तोक्नु भएको छ ।

यही माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगले पेस गरेको प्रतिवेदनबारे प्राप्त गुनासाको अध्ययन गरी सुझाव दिन सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र आपूर्तिमन्त्री दीपक बोहोरा सदस्य रहेको एक समिति गठन गरेको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..