» » संशोधन विधेयकप्रति दलहरुको यस्तो धारणा

काठमाडौं, फागुण १० गते । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भए मात्र चुनाव हुन दिने बताउनुभएको छ ।

उहाँले सरकारले संसदमा टेबुल गराएको संशोधन प्रस्तावमा उल्लेख गरिएका विषयहरु नागरिकता, भाषा र सिमांकन परिमार्जनसहित पारित गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘नागरिकताको सवालमा वैवाहिक अंगीकृतलाई अधिकार दिने भनेको हो, भाषामा पहिले पाएको अधिकारलाई पनि खोसिएको छ, त्यसलाई सुनिश्चितता गर्नुपर्छ ।’

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै उहाँले मोर्चाले भने जस्तो गरि प्रस्ताव परिमार्जनसहित पारित भए संविधान कार्यान्वयनमा साथ दिने बताउनुभयो । यद्धपी उहाँले मधेशी मोर्चा सँधै निर्वाचनको पक्षमा रहेको जिकिर गर्नुभयो । ‘सरकारले पानी खन्याईरहेको छ, तर कुन भाँडो हो भन्ने कुरा थाहा छैन्’ उहाँले भन्नुभयो, ‘स्थानीय तहको पूर्नसंरचना गर्दा संख्यालाई प्रतिनिधित्व नगरेकोमा हाम्रो आपत्ति छ ।’

आयोगले अघि सारेको रिपोर्ट आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिँदै उहाँले जबरजस्ती चुनाव गरिए आफूहरुले त्यसको जवाफ दिने चतावनी दिनुभयो ।

संशोधन प्रस्ताव पारित गराउनको लागि तपाईहरुसँग दुई तिहाई पुग्छ भन्ने पत्रकार जिज्ञासामा उहाँले भन्ने, ‘धमलाजीलाई हाम्रो ठूलो चिन्ता छ, ऋषिजी मधेशको शुभचिन्तक हो, उहाँ मधेश आन्दोलनमा पनि पटक पटक पुग्नुभएको छ ।’ त्यस्तै उहाँले मधेश, थारु, जनजाति, आदिवासीलाई मतलब गर्नेहरुले साथ दिए दुई तिहाई पुग्ने विश्वास दिलाउनुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले स्थानीय तहको निर्वाचन भन्दा अघि नै संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा गर्नुभएको छ ।
बैशाख ३१ गते स्थानीय तहको निर्वाचन छ, त्यो भन्दा पहिले नै संविधान संशोधन प्रस्ताव पारित हुने कुरामा विश्वास व्यक्त गर्दै पारित नहुनमा कसैले शंका नगरे हुन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘सकेसम्म सरकारले ल्याएकै प्रस्ताव पारित गर्ने प्रयत्न हुन्छ, यदि भएन भने परिमार्जनसहित भएपनि प्रस्ताव पारित हुन्छ ।’

उहाँले मधेशी मोर्चाले भनेजस्तै पनि नहुने र निर्वाचनको वातावरण बनाउनको लागि एमाले तयार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको सँख्या बढाउने भनेर सरकारले भनिसकेकोले अब विवाद गर्न नहुने बताउनुभयो । उहाँले निर्वाचन देश र जनताको आवश्यकत्ता भएकोले यसलाई सफल बनाउनको लागि सबै दलहरु जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा बताउनुयभो ।

प्रमुख दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित गर्नबाट अब कसैलेपनि रोक्न नसक्ने बताउनुभएको छ ।

नेता मन्सुरले प्रमुख प्रतिपक्षी दलले यो प्रस्तावको विपक्षमा मतदान गरे मधेशमा एमाले पार्टी पूर्ण रुपमा समाप्त हुने चेतावनी दिँदै भन्नुभयो, ‘पहिला एमालेले यो प्रस्ताव सदनमा टेबुल गराउन दिन्न भनेकै हो, तर टेबुल भयो, त्यसपछि एमालेले यो प्रस्ताव छलफल गर्न दिन्न भनेकै हो, तर आजबाट छलफल गर्न दिने भनेको छ, अब यो प्रस्तावको पक्षमा एमालेले मत हाल्छ ।’

उहाँले हिजोसम्म राष्ट्रघाती प्रस्ताव भन्ने एमालेले आजबाट छलफल गर्न दिन्छु भन्नुले नै उक्त प्रस्ताव पारित हुने आधार भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेको बुद्धि पलाएको छ, उसले पनि संशोधनको पक्षमा मतदान गर्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले कुनैपनि हालतमा संविधान संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गर्नुभयो ।

मोर्चाले परिमार्जनसहित प्रस्ताव पारित गर्नुपर्ने माग राखेको र सरकारले सके हुबहु नसके परिमार्जनसहित प्रस्ताव पारित गर्ने भनिरहेको कुरा उल्लेख गर्दै नेता महासेठले भन्नुभयो, ‘यो प्रस्ताव हुबहु कुनैपनि हालतमा पास हुँदैन, लेखेर राख्नुहोस् ।’

उहाँँले मोर्चाले भनेजस्तो भाषा सवालमा संशोधन हुनै नसक्ने ठोकुवा गर्दै भन्नुभयोे, ‘हाम्रो पार्टी भाषाको सवालमा संविधानले व्यवस्था गरेको भन्दा बाहेक अरु कुरा मान्दैन्, त्यस्तै नागरिकताको सवालमा पनि हामी लचिलो बन्दैनौं ।’

उहाँले एमालेले आज सदनमा संशोधन प्रस्तावलाई छलफल गर्न दिने तर मोर्चाले यसपछि कस्तो प्रतिक्रिया दिने हो त्यो हेरेरमात्रै के गर्ने भन्नेबारे निर्णय लिने स्पष्ट पार्नुभयो । उहाँले मोर्चाले आफ्नो कुरा दिनदिनै फेरिरहेको समेत आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले मोर्चाले प्रस्ताव टेबुल भएमात्रै हुन्छ, हामी मान्छौं भनेको थियो, तर प्रस्ताव टेबुल भयो अब पारित गर्नुपर्छ भनिरहेको छ ।’ उहाँले सरकारले चुनावको मिति घोषणा गरिसकेकोले अब चुनाव कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।

निर्वाचन आयोगले समेत निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेकोले सबै दलहरु मिलेर चुनावलाई सफल बनाउनतिर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले चुनाव नभए सबैभन्दा बढी घाटा काँग्रेस, माओवादी केन्द्र र एमालेलाई नै हुनेतर्फ समेत सचेत गराउनुभयो ।

महासेठले मधेशी जनता चुनावको पक्षमा रहेको समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मधेशी जनताहरु चुनावको पक्षमा छन् ।’
राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले यथास्थितिमा संविधान संशोधन प्रस्तावको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकोले आफ्नो पार्टीले प्रस्तावको विपक्षमा मतदान गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘एकचोटी संविधान संशोधन भइसक्यो, तर मधेशी मोर्चाले त्यसलाई स्वीकार गरेनन्, हामीले यो सरकारलाई समर्थन गरेका छौ, तर हामीसँग कुनै छलफल नै गरिएन, त्यसैले हामीलाई प्रस्तावको पक्षमा उभिनुपर्ने कुनै नैतिक बन्धन छैन् ।’

गिरीले मधेशी मोर्चाले स्वयम यो प्रस्तावलाई नमानेको उल्लेख गर्दै कसको हितको लागि यो प्रस्ताव ल्याएको हो भन्ने कुरा नै अझै अस्पष्ट रहेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘मोर्चाले यो प्रस्ताव स्वीकार गरेको छैन, पाँच नम्बर प्रदेश पुरै आन्दोलित छ, एमालेपनि विरोधमा छ, यो प्रस्तावबाट को चाहीँ खुशी छ त ?’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..