» » टिकापुरका घटना पीडितले भन्नुभयो, चुनावमा मत माग्न आउनेलाई प्रतिकार गर्ने


काठमाडौ फागुन १४ गते । टीकापुर घटनाको आरोपमा जेल जीवन भोग्दै आएका कैदीबन्दीका परिवारजनहरुले सरकारद्वारा घोषित सबै चुनाव बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

झुठा मुद्दा लगाएर आफ्ना प्रियजनहरुलाई कैद गरे पनि हालसम्म रिहाईको लागि राज्यले गम्भिरता नदेखाएको आक्रोश पोख्दै परिवारजनले कुनै पनि चुनावमा भाग नलिने बताउनु भएको हो ।

प्रवासी थारु सेवा समाज मलेसलियाको सहयोग र थरुहट, थारुवान संयुक्त संघर्ष समिति कैलालीको समन्वयमा जिल्लाको जोशीपुरमा बुधबार आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी पीडित परिवारहरुले उक्त प्रतिक्रिया दिनु भएको हो ।

थारुवान डटकमका अनुसार थापापुर–७ नवलपुरकी कैदीबन्दी परिवार यमुना चौधरीले झुठ्ठा मुद्धा लगाएर आफ्ना मान्छेहरुलाई फसाएको बताउँदै रिहाई नगरेसम्म सरकारको कुनै पनि चुनावमा भाग नलिने बताउनुभयो ।

 चुनावको लागि गाउँमा भोट माग्न आउन जो कोहिलाई गाउँ प्रवेशमा रोक लगाउने चेतावनी दिँदै उहँँले भन्नुभयो, ‘सरकारले हालसम्म बिना आधार कैद गरेको छ, रिहाई गर्नमा गम्भिरता देखाएको छैन, रिहाई नगरेसम्म भोट हाल्दैनौ, कोहि गाउँमा भोट माग्न आए प्रतिकार गर्छौ ।’

त्यस्तै, जोशीपुर–४ झबहीकी कैदीबन्दी परिवार प्रेमादेवी चौधरीले पहिचान र अधिकारको आन्दोलनलाई सरकारी पक्षले बलपूर्वक दमनको रबैया जारी राखेको बताउनुभयो ।

अधिकार प्राप्तीको लागि अझै पनि आन्दोलनमा होमिन तयार रहेको बताउँदै उहाँले हाल आन्दोलनकारी नेतृत्व पंक्ति विखण्डित नभएर संगठित भएर अगाडी बट्नु पर्ने सुझाव दिनुभयो ।

थापापुर–७ नवलपुरकी कैदीबन्दी परिवार रिमा चौधरीले आफूहरुमाथि राज्यले रंगभेदी व्यवहार गरेको आरोप लगाउनुभयो । निर्दोष व्यक्तिलाई यातना समेत दिएको तर थारु समुदायको घर, पसलमा आगजनी गर्नेलाई कुनै कारबाही नगरेको उहाँको गुनासो छ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा संघर्ष समिति कैलाली–कञ्चनपुर संयोजक प्रभातकुमार चौधरीले विना आन्दोलन पहिचान र अधिकार प्राप्त नहुने र राजबन्दीहरुको रिहाई पनि मुस्किल भएकोले आफुहरु नयाँ चरणको आन्दोलनवारे बहस चलाई रहेको बताउनुभयो।

कैदीबन्दी परिवारको हरेक दुःख सुखमा आफूहरुको सहयोग रहने प्रतिवद्धता जनाउँदै संयोजक चौधरीले पहिचान र अधिकारको आन्दोलनबाट एक इन्च पनि पछि नपर्ने बताउनुभयो ।

कार्यक्रममा संघर्ष समिति कैलालीका प्रवक्ता ठाकुरप्रसार करियाप्रधानले पहिचान र अधिकारको आन्दोलनलाई नयाँ सिराबाट लैजाने बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..