» » तेजु मैथिल जसको दुइटै आँखाले काम गर्दैन तर छन् गीत संगितका पारखी


मधेशमा आन्दोलनमा खोजी खोजी मञ्चहरुमा बोलाएर गीतहरु गाउन लगाएर आन्दोलनलाई भावनात्मक रुपमा बाँध्ने काम गराएका नेताहरुले अहिले एकपटक फर्केर हेरेका छैनन् । गीत गवाउने बेला विभिन्न आश्वासन दिएका नेताहरु अहिले उल्टै झपारेर फर्काउँदा चित्त दुख्छन् तेजु मैथिलको । दृष्टि विहिन तेजुलाई मधेश आन्दोलन ताका मधेशवादी दलका नेताहरुले विभिन्न आश्वासनहरु दिएर गीतहरु गाउन लगाएका थिए । उहाँले गाउँनु भएको गीतले आन्दोलनकारी झुमेको कुरा अहिले पनि कतिपय आन्दोलनकारी भन्छन्, तर जसले आश्वासन दिएर गए त्यसले हालसम्म खोजखबर गर्नुभएको छैन ।

तेजुले गाएको गीत सुनेर संघीय समाजवादी फोरम नेपालका सभासद् विरेन्द्र महतोले मधेश आन्दोलनसँग सम्बन्धित गीतको एल्बम निकाल्नका लागि एक रुपियाँ दिने कुरा सार्वजनिक मञ्चबाट आश्वासन दिनुभएको थियो । त्यो एकपटक होइन, पटक पटक आश्वासन दिनुभएको थियो तर अहिले एकवर्ष भन्दा बढी भइसक्दा पनि विभिन्न बहानामा टार्दै आउनु भएको छ । तेजु भन्नुहुन्छ, यसले मलाई धेरै दुख लागेको छ, यसरी मधेशको कलाकार र कलासँस्कृति कसरी अगाडि बढ्छ ।’

‘दृढ संकल्प र ईच्छा शक्ति भए संसार कुनै कुरा असम्भ छैन’ भन्ने मान्यतालाई स्थापित गर्ने युवा हुनुहुन्छ युवा तेजु मैथिल । जन्मैदेखि दुवै आँखाको दृष्टि गुमाएका २१ वर्षीय तेजुले आफ्नो लक्ष्य प्राप्तिकालागि कडा संघर्ष गरिरहनु भएको छ । उहाँको अन्तिम लक्ष्य भनेको गायक बन्ने हो, गीत संगितमा रमाउने हो, जीवनको अन्तिम उद्देश्य उहाँले गीतलाई नै बनाउनु भएको छ । नेपाली आइडलको तेस्रो अडिसनबाट छाँटिएका तेजु हिम्मत हार्नुभएको छैन । विराटनगरमा भएको नेपाली आइडलको अडिसनमा मधेशी भएको नाताले नै छाँटेको दावी तेजुको रहेको छ । यदि पहाडी समुदायबाट भएको भए कसैले छाँट्न सक्दैन्थ्यो ।

सप्तरीको ईनर्वा फूलबडिया वडा नम्वर–१ म जन्मस्थान भएका उहाँको वास्तविक तेजनारायण यादव हो । स्व. पुलकित यादव एवम् बिन्दा देवीका एकमात्र छोरा तेजुलाई आँखाको उपचार गराउन धरान, लहान, काठमाण्डौसम्म लगियो तर आँखा भने ठिक भएन । उनी ६ वर्षकै हुँदा बुवा पुलकित लिभर क्यान्सरबाट पीडित भई सदाका लागि विदा हुनुभएको थियो । आमा समेत खुट्टाले अपाङ्ग हुनुहुन्छ तैपनि छोराछोरीका लागि कामधन्दा गरेर लालन पालन गरिरहनु भएको छ ।

एक बहिनीसहित पारिवारिक सम्पूर्ण जिम्मेवारी आमाकै काँधमा थपिएको बताउनुहुन्छ तेजु मैथिल ।

अलिअलि रेडिया, अलिअलि स्कूलबाट कमाएको पैसाले घरमा सहयोग पुगेपनि अन्य सबै कुराको जोहो आमाले नै गर्नुहुन्छ, तेजु मैथिलले भन्नुभयो, आमा पनि खुट्टाले आपाङ्ग भएको हुनाले मामा र काकाहरुले काममा सहयोग गर्नुहुन्छ, काकाहरु जुगेशवर यादव र रामेश्वर यादवले खेतीपातीमा आमालाई सहयोग गर्नुहुन्छ, त्यसले म उहाँहरुप्रति निकै अभारि छु ।’

शिक्षा
सानैदेखि तीक्ष्ण बुद्धिका तेजुले गाउँका अन्य बालबालिकाहरु जस्तै स्कूलमा गएर पढ्ने रहर गर्नुभएको थियो तर आँखा नदेख्ने भएका कारण गाउँको विद्यालयमा पढ्ने सपना पुरा हुन सकेन । उहाँका आफन्त सुरेन्द्र यादव सप्तरीको पवि माविमा एक कक्षमा नाम लेखाई दिएका थिए । त्यसबेला उहाँले एउटा आँखाले अलि अलि हेर्नसक्नु हुन्थ्यो ।

उहाँले त्यो स्कूलमा पाँच कक्षासम्म पढ्नुभयो । पढाईका साथ साथै उहाँले आँखाको उपचार पनि गराउनु हुन्थ्यो । विभिन्न धारान, काठमडौ, विराटनगर लहानलगायतको ठाउँहरुमा उहाँले उपचार गराउनु भयो तर कही निको भएन । आँखा उपचारका कारण उहाँको पढाई पनि विग्रिदै गयो । माथिल्लो कक्षा पढ्नका लागि उहाँ लहान रेडक्रसमा कार्यरत रामचन्द्र यादव (फुपुका छोरा) को सहयोगमा लहान जानुभयो ।

 स्थानीय पशुपति आदर्श उच्च माध्यमिक विद्यालयमा भर्ना भएर अध्ययन गर्न थाल्नुभयो १० कक्षासम्म अध्ययन गर्दासम्म उहाँको दुवै आँखा खराब भयो । पहिला एउटा आँखाबाट अलि अलि मधुरो देखिएपनि त्यो पनि खराब भयो । तर उहाँले पढाईलाई निरन्तरता दिनुभयो ।

उहाँले परीक्षा अरुको सहयोगबाट दिनुहुन्थ्यो । एसएलसी पास गरि अहिले उहाँ प्लस टु अध्ययन गर्दै हुनुहुन्छ । १२ कक्षामा नेपाली विषय बढी रहनुभएको छ ।

एफएममा कार्यरत
उहाँले पढाइको साथ साथै एफएम र स्कूलमा पनि काम गर्नुहुन्छ । सानैदेखि गीत संगितप्रति रुचि राख्ने तेजु मैथिललाई एफएममा बोल्ने रहर सानैदेखि नै थियो । संयोग एकपटक एफएममा अन्तरवर्ता दिने अवसर जुड्यो । समाध एफएममा अन्तरवार्ता दिन जाँदा त्यही नै एफएममा काम गर्ने सोच पलायो । र, केही दिनमै उहाँले एफएममा काम गर्न थाल्नुभयो ।

उहाँले त्यही यमुना खनालबाट आरजेको तालिम पनि लिनुभयो । ६ महिनासम्म सो रेडियोमा कार्यक्रम चलाउनु भयो उहाँले तर एक पैसा पनि दिएन । पैसाको अभाव हुँदा एफएम मालिक जीवछ चौधरीसँग माग्दा आज भोली आज भोली भन्दै रह्यो तर दिएन । अनि उहाँ रितेश यादवको मार्फत सौगात एफएममा जानुभयो । त्यसबेला फिरोज शेख स्टेशन म्यानेजर हुनुहुन्थ्यो । एउटा कार्यक्रमको ३० रुपियाँ दिन्थ्यो । हप्तामा तीनवटा कार्यक्रम तेजुले चलाउनु हुन्थ्यो । उहाँले चलाएको कार्यक्रम यति हिट भयो कि स्रोतहरुले उहाँको डिमाण्ड गर्न थाल्यो तर एक दिन फिरोजको व्यवहारले तेजुको मन साह्रै दुखियो र एफएम छाडेर हिड्नु भयो ।

त्यसपछि उहाँ समग्र एफएममा जानु भयो । र, हालसम्म त्यहाँ काम गरिरहनु भएको छ । समग्र एफएममा उहाँलाई सम्मान दिएर राखेको छ । एउटा कार्यक्रमको ६५ रुपियाँदेखि ७५ रुपियाँसम्म दिएरहेको छ । बेलाबेलामा अन्य सहयोगहरु पनि भइरहेको हुन्छ । उहाँले सो एफएममा हप्तामा चारवटा कार्यक्रम सञ्चालन गर्नुहुन्छ ।

गीत संगित
तेजुमा गायनको विशेष खुबी रहेको छ । भविष्यमा शास्त्रीय सङ्गीतको अध्ययन गरेर कुशल गायक बन्ने संकल्प लिनु भएको छ । उक्त संकल्प पुरा गर्न उहाँ लहानमै राजदेवी सङ्गीत कला केन्द्रमा विद्या मिश्राबाट गायनको प्रशिक्षण लिनु भएको छ । तर उहाँको गुरु शैलेन्द्र विश्वकर्मा हुनुहुन्छ । पढ्ने स्कूलमा नै विश्वकर्मसँग भेट भएको थियो र आज उहाँकै सहयोगमा गीतसंगितको क्षेत्रमा राम्रो गरिरहनु भएको छ ।

मैथिली गायनको क्षेत्रमा सम्राट मानिने कुञ्ज बिहारी मिश्र जस्तै बन्ने सपना लिएर बस्नु भएका तेजु अध्ययन बाहेकका समयमा उहाँ दैनिक गायनको अभ्यासमा समेत जुट्ने गर्नुहुन्छ । मैथिली भाषा, साहित्य एवम् संस्कृति संरक्षणमा समेत सक्रिय रहेका उहाँले मधेश आन्दोलन सम्बन्धि गीत समेत गाउनु भएको छ ।

‘चहटगर चटनी’ नामक मैथिली गिती एल्बम पनि निकाल्नु भएको छ । सो एलम्बममा जम्मा १० वटा गीत रहेको छ त्यसमध्ये सातवटा तेजुले मात्र गाउनु भएको छ । कतार, मलेसियामा काम गर्ने विन्देश्वर ठाकुर, अशोक सहनी, राजेदेव राज, रामनारायण मेहता, सुधिर सिहलगायतले पनि गीत लेखेर तेजुलाई सहयोग गरेको छ । त्यस्तै विद्यानन्द वेदर्दीले पनि दुईटा गीत लेख्नुभएको छ ।

सो गीतका लागि ७४ हजार रुपियाँ खर्च भएको छ, हालसम्म पाँचहजार रुपियाँ मात्र उठेको छ । उहाँ भन्नुहुन्छ, मधेशमा पनि नेपाली, हिन्दी र भोजपुरी गीत मनपराउनेहरु बढी छन् । जो मैथिली भाषा बोलिरहेका छन् तर उसले मैथिली गीत सुन्दैनन्, मैथिली गीतको क्यासेट किन्दैन ।’ विराटनगरमा भएको विमोचनमा कसैले पनि एउटा क्यासेट किनि दिएन बरु पचासवटा क्यासेट वितरणमै गएको उहाँले दुख व्यक्त गर्दै भन्नुभयो, यो तरिकाल मैथिली गीत संगितको विकास हुँदैन ।

उहाँ तबला, नाल आदि बजाउनमा माहिर छन् । लक्ष्य प्राप्तिकालागि संघर्ष गर्दैआएका तेजु मैथिली, भाषा, साहित्य र संस्कृतिको संरक्षणकालागि समेत आजिवन सक्रिय भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गायन क्षेत्रमा सिद्धहस्त प्राप्त गरी संगितको गुरु बनेर गीत संगितको सेवा गर्ने उहाँको दृढ चाहना रहेको छ र त्यसका लागि उहाँले जे पनि गर्न तयार हुनुहुन्छ । संगितमा डिग्री, पीएचडीसम्म गर्ने सोच उहाँले लिनुभएको छ तर समयले कसरी साथ दिन्छ त्यसमा भर पर्छ त्यसका लागि उहाँ सहयोगी हातको खोजीम हुनुहुन्छ ।

बोर्डिगं स्कूलमा काम
उहाँले मैथिल गीत संगितका उस्ताज धिरेन्द्र प्रेमर्षीको सहयोगमा मिर्चैयाको टाइम्स बार्डिगं स्कूलमा पढाउने मौका पाउनु भएको छ । हप्तामा दुई दिन संगितको कक्षा लिने गर्नुभएका तेजुले त्यहाँबाट ११ हजारको महिना लिनु हुन्छ ।

यसमा अरु कसैको होइन, धिरेन्द्र प्रेमर्षीको ठूलो योगदान रहेको उहाँले सम्झिनु हुन्छ । उहाँ भन्नुहुन्छ, मेरो जीवनमा सहयोग गर्नेहरु धेरै आए धेरै गए, धेरैलाई अझै सम्झि रहेको छु, धन्यवाद पनि दिन्छु अभारी पनि छु तर प्रेमर्षी सरले मलाई जुन सहयोग गर्नुभयो र गरिरहनु भएको छ त्यो मेरो लागि धेरै नै अमूल्य छ । उहाँले बेलाबेलामा मलाई आशा र भरोसा दिइरहनु हुन्छ । उहाँले कहिले मलाई निराश पार्नुभएको छैन, तेजु गीत संगितमै केही गर्नुपर्छ भनि उहाँले मलाई पटक पटक भन्नुभएको छ ।

उहाँले अहिले विभिन्न विद्यालयहरुमा बे्रल लिपी शिक्षकको अभाव रहेकोले अवसर पाए पढाउन चाहन्छु, यसले जिवन निर्वाह गर्न समेत केही सहज हुनेथियो ।’

विवाह
तेजु मैथिल जुन अवस्थामा हुनुहुन्छ, त्यसले गर्दा उहाँलाई जीवन संगिनी चाहिन्छ नै तर आफ्नो खुट्टामा नउभिएसम्म विहे नगर्ने सोचमा हुनुहुन्छ तेजु मैथिल । आफ्नो र आफ्नो आमाको पेट पाल्न गाह्रो भइरहेको छ भने विहे गरेर ल्याएपछि उनको पेट कसरी पाल्ने भन्दै तेजुले भन्नुभयो, आमा र घरको अवस्था हेर्दा विहे गरौं जस्तो लाग्छ तर आर्थिक अवस्था हेर्दा डर लाग्छ र विहे गर्नबाट पछि हट्छु ।’ उहाँको आमाले तेजुलाई विहे गर्न पटक पटक भनिरहनु भएको छ तर तेजुले मान्नुभएको छैन । उहाँको वहिनी अञ्जु यादव पनि एसएलसी पास गरेर प्लस टुमा अध्ययन गरिरहनु भएको छ ।

अहिले वहिनी हुँदा आमालाई सजिलो भएको छ तर वहिनी पनि विहे गरेर ससुराल गइसकेपछि आमाको कसले हेरचाह गर्ने भनि चिन्ता पनि छ तेजुलाई । तर वहिनी गएपछि काका काकीले पनि केही दिन सहयोग गर्ला भन्ने विश्वास उहाँलाई छ । वहिनीलाई विना दहेज विवाह गर्ने सोचमा उहाँ हुनुहुन्छ । जसले विना दहेज आफ्ना वहिनीसँग विवाह गर्न तयार हुन्छ उसैसँग मात्र विवाह गरि दिने सोचमा तेजु हुनुहुन्छ ।

सहयोगी 
उहाँ लहानमा गजेन्द्र गजुरसँग एउटै कोठामा बस्नुहुन्छ । खाना गजुरले पकाई दिनुहुन्छ भने तेजुले आफ्नो लुगा आफै धुनुहुन्छ । कतै आउ जाउका लागि सबभन्दा बढी सहयोग गर्ने जावेद अलि हुनुुहुन्छ । बस स्ट्याण्डसम्म पुर्याई दिने, बसबाट ल्याई दिने वा कतै जानु पर्यो भने गइ दिने काम सबभन्दा बढी अलिबाट हुने गरेको तेजु स्वयं बताउनुहुन्छ । त्यस्तै विद्यानन्द बेदर्दी, नारायण मधुशालालगायतले पनि उहाँलाई सहयोग गर्नुहुन्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..