» » कसरी जन्मियो ब्ल्याकआउट ?

यसरी भयो ‘ब्ल्याकआउट’
एकसमयका चिरपरिचित पत्रकार रामरिझन यादव हाल फुलटाइम राजनीतिकमा लाग्नुभएको छ । वामपन्थी विचारका रहेका उहाँ विद्यार्थीकालदेखि चौमको विद्यार्थी राजनीतिमा लाग्नु भएका थिए । उहाँ जनमोर्चा नेपाल, एकता केन्द्र मसाल हुँदै नेकपा एकीकृत माओवादीको केन्द्रीय सदस्यसम्म पुग्नु भयो । हाल उहाँ नयाँ शक्ति नेपालमा आवद्ध हुनुहुन्छ । विस २०५४ मा विराटनगरमा मधेशी जनअधिकार फोरम, नेपालको स्थापना तथा संगठनात्मक संरचना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेदेखि नै उहाँ मधेश आन्दोलमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएको छ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँ प्रेस सल्लाहकार हुनुहुन्थ्यो ।
उहाँ फुलटाइम राजनीतिकमा भएपनि आफ्नो लेखन कार्यलाई कहिले विश्राम दिनुभएको छैन । विभिन्न पत्रपत्रिका तथा अनलाइनमा आफ्ना विचारहरु सम्प्रेशन गर्दै आउनु भएको छ । विस २०६४ सालमा उनले प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनु भएका उहाँ विराटनगरको महेन्द्र मोरङमा प्राध्यापन र त्रिविमा पाक्नै लागेको निवृत्तिभरणलाई समेत छोडेर आन्दोलमा लाग्नु भएको थियो । नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रतिष्ठानको छाात्रवृत्तिमा गर्दै गरेको विद्यावावरिधि पिएचडि पनि परित्याग गर्नुभएको थियो ।
विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशित गराउनेदेखि मिथिला टाइम्स, पूर्वसाप्ताहिकको सम्पादक÷प्रकाशक समेत रहिसक्नु भएका उहाँको हुलाकी सडक सडकः दशा, दिशा र दुर्दशा प्रकाशन्मुख रहेका छन् । त्यसअघि उहाँले वातावरणीय समस्या र समाधान, विज्ञान र वतावरण, मधेश मुक्ति आन्दोलन, नेपालको मधेशी समुदायको समस्या र समाधानको बाटो, बलिदानको सगरमाथा, सिरहाके इतिहास र सविधानसभामा विद्रोह गरि सात पुस्तक प्रकाशन गरिसक्नु भएको छ । यो ‘ब्ल्याकआउट’ उहाँको आठौ पुस्तक हो जसमा मधेशका समसामयीक अवस्थाको चित्रण गरिएको  छ ।


नेता रामरिझन यादव मधेश आन्दोलनताका लगातार विभिन्न अनलाइन तथा पत्रपत्रिकामा लेखहरु लेख्नुभयो । मधेश आन्दोलनको सुक्ष्म अध्ययन गरि आफ्ना विचारहरु सम्प्रेशन गर्नुभयो । तर विभिन्न अनलाइन तथा पत्रिकाहरुमा छरिएर रहेका ती लेख रचनालाई बटुलेर एउटा सगाँलो निकाल्ने योजनामा पुग्नुभयो । र, उहाँले आफ्ना लेखहरु संकलन गर्न थाल्नुभयो । लेखहरु संकलन गर्दै गर्ने क्रममा यो पनि थप्दा हुन्थ्यो, त्यो पनि थप्दा हुन्थ्यो भनि उहाँलाई लाग्न थाल्यो ।

बीचबीचमा उहाँले साथीभाइ, सहकर्मी, अग्रजहरुसँग पनि पुस्तकको बारेमा सल्लाह गर्नथाल्नुभयो । सबैले उहाँलाई मधेश आन्दोलनको सम्पूर्ण कथाव्यथा समेटेर पुस्तक निकाल्न सल्लाह दिँदै गयो । उहाँले त्यही अनुसार विषयवस्तुहरु बटुल्दै थप्दै जानुभयो । विषयवस्तु थप्दै जाँदा पुस्तक पनि मोटो हुँदैगयो तर उहाँले त्यसको प्रवाह गर्नुभएन ।

 विषयवस्तु खोज्न उहाँलाई नाशा नै लाग्यो । आफ्नो राजनीतिक गतिविधिलाई केही दिनलाई विश्राम दिइ जिल्ला जिल्लामा गएर मधेश आन्दोलनसँग सम्बन्धित व्यक्तिलाई भेट्ने, त्यहाँका विषय वस्तु खोज्ने काम गर्न थाल्नुभयो । उहाँले प्रत्येक सहिद परिवारलाई घरघरमा गएर भेट्नुभयो । उहाँहरुको व्यथा बुझ्ने प्रयास गर्नुभयो । बटुल्दै जाँदा पुस्तकले आकार लिदै गयो । पुस्तकले जसरी जसरी आकार लिँदै गयो त्यसरी त्यसरी रोचक पनि हुँदै गयो यता रामरिझन यादव पनि उत्साहित हुँदै जानुभयो ।
पुस्तक मोटो भएपनि उहाँले त्यसलाई तीन भागमा बाँड्नुभयो ।

पहिलो भागमा सहिदहरुको जीवनगाथा समेट्नु भएको छ भने दोस्रो भागमा उहाँले आफ्ना लेखरचनाहरु राख्नु भएको छ भने तेस्रो भागमा उहाँले ऐतिहासिक दस्तावेजहरु राख्नुभएको छ जसमा सुगौली सन्धि, त्यसको स्मरणपत्र, १९५० को सन्धिलगायत वि.सं. २०५० सालदेखि अहिलेसम्म तराई मधेश, आदिवासी जनजाति, दलित, पिछडाववर्ग सशस्त्र समूह तथा वृहत शान्ति सम्झौता लगायतका दस्तावेजहरु समावेश गर्नुभएको छ ।

चारसय ६० पृष्ठ रहेको सो पुस्तकमा २०७२ साउन ३० गतेदेखि ६ महिनासम्म चलेको मधेश आन्दोलन र त्यसका सहिद तथा सहिद परिवारहरुमाथि केन्द्रीत छ । त्यसअघि विभिन्न समयमा भएका मधेश आन्दोलन र त्यसको असर परेका अन्य ठाउँका विषयवस्तुलाई पनि पुस्तकमा समावेश गरिएको छ । प्रत्येक घटना, घटनाका घाइते, सहिद, तिनका परिवारहरुको तस्विर र सम्बन्धित तथ्यहरु पुस्तकमा राखिएका छन् जुन साह्रै नै रोचक भएका छन् ।

मधेशमा भएका आन्दोलन र नेपाल सरकारसँग भएका विभिन्न सहमति पत्रहरु र दस्तावेज समेटिएका छन् । लेखक रामरिझन यादवले मूलधारका मिडियाले मधेश आन्दोलनका धेरै कुरा ‘ब्ल्याकआउट’ गरेको र ‘ब्ल्याकआउट’ भएका विषय समेटेर ‘ब्ल्याकआउट’ पुस्तक लेखेको बताउनुभयो । यो पुस्तकले मधेश आन्दोलनको धेरै यस्ता कुराहरु छन् जसलाई उजागर गरेको छ । तीनटै मधेश आन्दोलनलाई समेटिएर दस्तावेजीकरणको रुपमा आएको सायद पहिलो पुस्तक हो जसमा उहाँले मधेश आन्दोलनलाई नरसंहार शब्द प्रयोग गर्नुभएको छ ।

मधेश आन्दोलनको क्रममा भएको हत्यालाई उहाँले पुस्तकमा नरसंहार भन्नुभएको छ । राज्यको तर्फबाट मधेशीमाथि जातिय नरसंहार भएको उल्लेख गर्नुभएको छ । सबभन्दा महत्वपूर्ण कुरा के हो भने उहाँले पुस्तक पनि तीन किसिमको प्रकाशन गर्नुभएको छ । पाठकको आर्थिक अवस्था हेरेर उहाँले हार्डकभरमा रगिंन पुस्तक प्रकाशन गर्नुभएको छ भने अर्को विना हार्डभरको रंगिन रहेको छ भने तेस्रो ब्ल्याक एण्ड ह्वाइट रहेको छ जसको मूल्य पनि फरक फरक रहेको छ ।

उहाँले मधेश आन्दोलनमा मृत्यु भएका तस्विरहरु जस्ताको त्यस्तै राख्नु भएको छ । रगतमा लतपतिएका, गोली लागेकाहरुको फोटो विना सम्पादन जस्ताको त्यस्तै राख्नुभएको छ । यो राख्नुको कारणमा उहाँ भन्नुहुन्छ, जनताले जानुन् कि यो राज्यले मधेशीमाथि कसरी दमन गरेको थियो । अक्षर पढ्न नसक्नेहरुले तस्विर हेरेर पनि मधेश आन्दोलनलाई बुझ्नसक्छ भनि उद्देश्यले त्यस्तो गरिएको हो ।’

विमोचनको शैली

सहिद दिवस वर्षेनी एउटै शैलीमा मनाइन्छ । तर रामरिझन यादवले सोही दिवसको अवसर पारेर उहाँले आफ्नो पुस्तक विमोचन गर्नुभयो । सहिद दिवस पनि फरक शैलीमा मनाउने काम पनि भयो । सहिद दिवस पनि थियो, पुस्तक पनि सहिदहरुकै विषयमा प्रकाशन भएकाले रामरिझन यादवले सहिद परिवारलाई भेला गर्नुभयो । त्यसमा २०४६ सालको जनआन्दोलन, माओवादीको जनयुद्धदेखि दोस्रो जनआन्दोलन र मधेश आन्दोलनका पहिलो सहिद परिवारका एकएकजनालाई बोलाएर उहाँहरुकै हातबाट विमोचन गराउनुभयो ।



को–को थिए सहिद परिवार

एक परिवार बाहेक सबै सहदि परिवारका थिए । मधेश जनविद्रोहका प्रथम सहिद रमेश महतोका परिवार उपस्थित थिएन । त्यसको सट्टामा बाराका सहिद शेख अब्दुल असरफकी श्रीमती शोभा राजवंशी कार्यक्रममा आउनु भएको थियो । सहिद रमेश महतोका परिवार नआउनुमा लेखक रामरिझन यादवले दुख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मलाई दुख लागरेको छ, मैले उहाँहरुलाई उपस्थीतिका लागि धेरै आग्रह गरे तर आउनु भएन, मलाई माओवादी भनेर कसैले भनेपछि उहाँहरु नआउनु भएको हो । ्

२०४६ को जनआन्दोलनका प्रथम सहिद चितवन गीतानगरबासी गणेश पौडेका छोरा सुभाष पौडेलको उपस्थिति थियो भने  जनयुद्धका प्रथम सहिद दीलबहादुर रम्तेलका बुवाआमा कीरगाउँली रम्तेल र सेते रम्तेलको उपस्थिति थियो । त्यसैगरि २०६२÷६३ का प्रथम सहिद सप्तरी निवासी दुलालनन्ध यादवकी श्रीमती इन्द्रमवति यादव र छोरा सरोज कुमार यादवको उपस्थिति थियो ।

दोस्रो मधेश आन्दोलनका प्रथम सहिद बांके निवासी गुल्जार खानकी आमा सैयदतारा खान र उहाँका छोराको उपस्थिति थियो भने तेस्रो मधेश आन्दोलनका प्रथम सहिद सप्तरी भारदह निवासी राजेन्द्र कुमार राउत उर्फ राजिव राउतकी श्रीमती निलमदेवी राउत र सासुआमा तथा छोराहरु आर्यन र आर्जुनको उपस्थिति थियो । उहाँहरुले सामूहिक रुपमा ब्ल्याकआउटको विमोचन गर्नुभयो ।

विमोचन कार्यक्रममा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको राष्ट्रियतालाई इन्द्रेणी राष्ट्रियताको संज्ञा दिँदै सोही अनुसार बुझिदिन मधेशवादी दलहरुलाई आग्रह गर्नुभयो । ‘एकल जातीयवादी दृष्टिकोणको आधारमा हेरेर मुलुकको राष्ट्रियतालाई समृद्ध बनाउन सकिदैन’ भट्टराइको भनाई थियो ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री प्रचण्डले मधेश समस्या समाधान गर्न इमान्दार नदेखिएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले आफूहरुको समस्या समाधान गर्ने भनि आश्वासन दिएपनि काम भने नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी विभेद अन्त्य नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभएको थियो । अध्यक्ष यादवले संविधान पुनर्लेखन नभई नहुने माग भएको भन्दैसबै समुदायमा देखिएको विभेद अन्त्य गर्न संविधान पुनर्लेखनको विकल्प नरहेको बताउनुभयो ।

अध्यक्ष यादवले विकृत संविधानलाई व्यर्थमा सामान्य टालटुल गरेर उत्पीडित समुदायको मागलाई उपेक्षा नगर्न सरकारलाई सुझाव दिनुभयो । ‘हामीले संशोधनको कुरा उठाए पनि अन्तिम विकल्प संविधान पुनर्लेखन नै हो’– संघीय गठबन्धनका संयोजक समेत रहनुभएका यादवले विमोचन कार्यक्रममा भन्नुभयो, –‘संविधानमा यतिधेरै त्रुटि, कमिकमजोरी छ, कि त्यसको सामान्य संशोधनले पार लाग्दैन ।’

विमोचन कार्यक्रम पूर्व सचिव एवं नयाँ शक्ति नेपालका नेता डा.प्रविण मिश्रको सभापतित्वमा भएको थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..