» » जनकपुरको उत्खनन आवश्यक


धनुषा फागुन १३ गत । जनकपुरका मठ मन्दिर र तिनमा सुरक्षित मूर्ति र गढमा इतिहासका अनेक उत्थान पतनका तथ्य लुकेका कारण उत्खनन्को आवश्यकता देखिएको छ ।

जानकारहरूका अनुसार प्राचीन बेबिलोनियाको सभ्यताबारे सन् १८४५ मा संसारलाई त्यतिखेर जानकारी भयो जतिखेर निनेबेहको उत्खनन्मा संयोगवश केही बेलायती पुरातत्वविद्हरूले असीरियाका राजा असुर बनिपालको पुस्तकालय फेला पारे ।

त्यसै उत्खनन्मा माटाका गोलचक्कीहरू पनि प्राप्त भयो । यी गोलचक्कीहरू ईसा पूर्व एक हजार वर्षका थिए । यसबाट प्राप्त सुचना अनुसार बेबिलोनियावासीले “मर्दुक” भन्ने देवतालाई देवाधिदेव मान्ने गर्दथे । १७८२ ई।पू। देखि १६८६ ई.पू. सम्म शासन गर्ने हम्मुखरावी भन्ने राजाले पनि मर्दुकलाई ससारका सर्वोच्च देवता भनेका छन् ।

बेबिलोनियाका गोलचक्कीहरू जस्तै यहाँ पनि एक्कासी माटो खन्दा प्राप्त भएका प्राचीन र्इंटा, अभिलेख, मुद्रा, मूर्तिहरु छन् जसले पौराणिक तथा ऐतिहासिक विषयका दुर्लभ जानकारीहरू दिने गरेकाले उत्खनन्को आवश्यकता महसूस गरिएको हो ।

जनकपुरका मठ मन्दिर र तिनमा सुरक्षित मूर्ति र गढहरु बिलुप्त भइवसेका इतिहासका उत्थान पतनका अनेक प्रसंग संसारलाई सुनाउन आतुर छन् ।

जनककालीन जनकपुरका कथा, बज्जिसङ्घको प्रभाव, मिथिलाको प्राचीन इतिहास, नान्यदेव वंशीय प्रभाव, सेन र पालकालीन अवस्था, एकीकरण पछिका तथ्य यी मठ–मन्दिर, मूर्ति र गढ गढीहरूमा लुकेको विश्वास गरिन्छ ।

बेबिलोनको पूरा कथा अनुसार सृष्टिको आरम्भमा पानी नै पानी थियो । जसलाई नूनिलो र गुलियो पानीको संज्ञा दिइएको थियो । यस्तै विदेध माधवको कथाले पनि जनकपुरका सरोवरहरू औँल्याएका छन् कि यो भूमि पनि जलै जलले भरिएको थियो ।

बेबिलोनियाका मर्दुक देवाधिदेव भए जस्तै हाम्री सीता आदिदेवी हुन् । हामी सबै त्यसै आदि पुरुष र आदिमाताबाट फैलिएका छौँ । यहाँका मठ मन्दिर र मूर्तिहरूले निनेवेहको गोलचक्की भन्दा बढी सूचना दिने भएकाले यिनबारे अझै खोजी हुनुपर्ने अन्वेषक नारायणप्रसाद रिमाल बताउनुहुन्छ ।

वैदिक वाङ्मय, पुराण तथा धार्मिक साहित्यहरूले जनकपुरधामको अस्तित्व अनादिकालदेखि नै रहेको र धार्मिक तीर्थ बिशेष गरेर सीताराम तीर्थका रूपमा प्रख्यात रहेको पाइन्छ । त्रेता युगमा उत्कर्षमा रहेको जनकपुरधाम द्वापर युगमा महाभारतको युद्ध पछि लोप भएर पृष्ठभूमिमा पुगेको र धेरै वर्ष पछि कलियुगमा सोह्रौ शताब्दी पछि जनकपुरधाम पुनः प्रकट भएको भनिन्छ ।

जनकपुरका मूर्त सम्पदाका सन्दर्भमा मठ मन्दिरमा रहेका मूर्तिहरू धातु, पाषाण र मणि–विग्रहका रहेका बताइन्छ । पाषाणका मूर्तिहरूमा केही पालकालीनका छन् भने केही मध्यकालीन छापका छन् ।

केही भने अयोध्यामा रहेका मूर्तिहरू जस्ता देखिन्छन् । यहाँका मूर्तिहरूले कुनै एक कालको कला एवम् शैली प्रस्तुत नगरी विभिन्न कालका कला एवं शैली प्रस्तुत गरेको पाइन्छ ।

पुरातात्विक अंश भएका केही मन्दिरहरूमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर रत्नसागर, कपिलेश्वरनाथ र कुपेश्वरनाथ मन्दिर उल्लेखनीय रहेको छ । जानकी मन्दिर बन्नु भन्दा अगाडि पैगोडा शैलीमा बनाइएको राम मन्दिरमा रामको पञ्चायन मूर्ति, लक्ष्मीनारायण, विष्णु, दशावतारको मूर्ति, सात घोडा रथमा रहेको सूर्यनारायण मूर्ति महत्वपूर्ण मानिएको छ ।

पुरातत्वविद तारानन्द मिश्रका अनुसार राम मन्दिरको पश्चिम–दक्षिण दिशामा मन्दिरसँग टांसिएर रहेको शिशुनारी मूर्ति पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण छ, सम्भवतः जनकपुरको प्राचीनतम् मूर्ति यही नै हो ।

सो पाषाण मूर्ति पालकालीन भएको अनुमान गरिएको छ । सोही मन्दिरमा रहेको एकमुखे शिवलिङ्ग पनि पुरातात्विक दृष्टिकोणले महत्वका छन् ।

सो मन्दिरका प्रथम महन्थ चर्तुज गिरीले ती मूर्ति मन्दिरको पछाडि रहेको वरको रूखमुनि प्राप्त गरेका थिए । वरको रूखलाई वटवृक्ष तथा कल्पवृक्ष भनिएको छ । यस वृक्षमुनि आफूले चिताएको वर मागेमा वर पूरा हुने विश्वास पाइन्छ ।

त्यस्तै, जनक मन्दिरमा सतानन्द, राजश्री, सुनयना, सीता, गोपालका मूर्ति रहेका छन् भने सीरध्वज जनकको मूर्ति ९शीर, हात, खुटटा नभएको० खण्डित छ । यस खण्डित मूर्तिबारे विभिन्न कथन पाइन्छ ।

 महाराजा जनकले दिएको दाइजोबाट अयोध्याका राजा दशरथ सन्तुष्ट नभएकाले जनकले टाउको काटेर दिएको प्रतीकका रूपमा यो खण्डित मूर्ति रहेको भन्ने भनाइ छ । त्यस्तै, यवनले आक्रमण गर्दा मन्दिर भत्काउने मूर्ति फोड्ने हु्ँंदा मूर्ति खण्डित भएको हो भनाइ पनि पाइन्छ ।

लक्ष्मण मन्दिरमा भएका लक्ष्मणको मूर्ति पौराणिक भएको मानिन्छ । भागवतका अनुसार त्रेता युगमा मिथिलाका राजा बहुल्याश्व जनकका पालामा मिथिलामा भीषण अनिकाल पर्दा सो अवस्थाबाट शान्ति पाउन तत्कालीन ऋषिमुनिहरूले राजालाई हिमालयमा गई बा¥ह बर्ष तपस्या गर्न सल्लाह दिए ।

 ऋषिमुिनको सल्लाह अनुसार उनी हिमालयमा गई तपस्या गर्न थाले । बा¥ह वर्ष तपस्या गरे पछि उनलाई लक्ष्मणको पत्थरको मूर्ति प्राप्त भयो र आकाशवाणी भयो – ‘तिमी यो मूर्ति लिएर जानू र पूजा गर्नू । तिम्रो देशमा अनिकाल हट्ने छ । जनता सबै खुशी रहने छ ।’

राजाले लक्ष्मणको मूर्ति लिएर आफ्नो देशमा आएर पूजाआजा गर्न सुरू गरेपछि राजा र प्रजा आनन्दले जीवन बिताउने थाले ।

रामजानकीका मूर्तिहरू प्रमुख रहेको रत्नसागर मन्दिरमा लक्ष्मण, राधाकृष्ण, लडु गोपाल र हनुमानका ३१ भन्दा धेरै धातु र संगमरमरका प्राचीन मूर्ति र ७ सय भन्दा बढी सीताराम स्वरूपका शालिग्रामको नियमित पूजा गरिन्छ ।

जनकपुर उप–महानगरपालिका वडा नं. १२ कुवा गाउँमा रहेको कुपेश्वरनाथ मन्दिरको शिवलिङगकाबारेमा धार्मिक ग्रन्थहरूमा पनि उल्लेख छ । मन्दिरभित्र महादेव कुपेश्वरनाथ एउटा कूप जस्तो गोलाकार खाल्डोमा रहेका छन् ।

महादेव कूपमा रहेकाले यी नाथलाई कुपेश्वरनाथ भनिएको हो । गाउँको नाम पनि कुवा भनिएको हो । कुपेश्वरनाथको शिवलिङगलाई बराहको थुतुनो हुन सक्छ भनेर पनि अनुमान गर्नेहरु छन् ।

कुपेश्वरनाथको मन्दिर चर्तुज गिरीकै समयमा बनेको हो र यो राम मन्दिर जतिकै पुरानो मानिन्छ । यसको पनःनिर्माण विसं १९९६ सालमा भएको हो । फेरि २०५१ सालमा जीर्णोद्धार गरिएको हो ।
मन्दिर शिखर शैलीमा निर्माण गरिए पनि त्यसमा मैथिल वास्तु शैलीका अंश पनि रहेको छ । मन्दिरमा रहेको छाना बंगालका पालकालीन राजाद्वारा निर्माण गरेको जस्तो देखापरेका अन्वेषक रिमाल बताउनुहुन्छ ।

जनकपुर उप–महानगरपालिका वडा नं। १२ हनुमानगढीमा पाषाणका हनुमान र धातुका रामजानकीका मूर्ति रहेका छन् । सन्यासी प्रितम दासले तीर्थाटनका क्रममा गङ्गामा हनुमानको मूर्ति प्राप्त गरेको उल्लेख छ ।

जनकपुर आउने पहिला सन्यासीहरूमा सूरकिशोर दास र चर्तुज गिरी पछि विसं १८३८ मा प्रितम दासले बराहकुटीको मौजाको कुश विर्ता पाएको गीर्वाण विक्रम शाहको मिति १८६७ सुदी ५ भाद्रको शाही आदेशबाट यस मन्दिरको प्राचीनता स्पष्ट हुन्छ ।

पन्ध्र दिने परिक्रमाको क्रममा कचुरीको किशोरीको डोला पहिलो रात यही मन्दिरमा विश्राम गराई बिहान कल्याणेश्वर लाने परम्परा रहेको छ । शिखर शैलीमा निर्माण गरिएको सो मन्दिरमा हनुमानका मूर्ति भक्तिभावले दक्षिण मुख फर्काई राखिएको छ ।

जनकपुर उप–महानगरपालिका वडा नं। १६ मा शिखर शैलीमा निर्माण गरिएको कपिलेश्वरनाथ मन्दिरको धार्मिक पुरातात्विक महत्व निकै छ ।

मन्दिरमा शिवलिङग, बसहा, गणेश, पार्वती, शालिग्राम तथा मन्दिर बाहिर वरपर शिव, पार्वती, गणेश, जोगिन्दर, महारानी आदिका मूर्तिहरु रहेका छन् । मन्दिरको भित्रका मूर्तिहरु काला पत्थरका छन् भने मन्दिर बाहिर अधिकांश मूर्ति संगमरमरका छन् ।

धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार, जनकवंशीय राजा सीरध्वजले जनकपुरको चारै दिशामा चारनाथको स्थापना गरेका थिए । तीमध्ये पूर्व–उत्तरमा कपिलेश्वरनाथ पनि एक हुन् । भनिन्छ, कपिलमूनिको आश्रम पनि यहीँ थियो । कालान्तरमा आएर यस मन्दिरको प्राचीन रूप लोप हुन गयो ।

अन्वेषकहरूले यस मन्दिरको प्राचीन रूप सीमरौनगढीय वास्तु शैलीमा निर्मित भएको उल्लेख गरेका छन् ।

मुगल वास्तु शैली र मैथिल वास्तु शैलीको सङ्गमबाट बनेको जानकी मन्दिरमा वास्तु कलाकारिताको विलक्षणता देखिन्छ । मन्दिरको गर्भगृहमा महात्मा सूरकिशोर दासद्वारा प्रतिष्ठापित किशोरीजीको स्वर्णमय प्राचीन मूर्ति र ओरछा नरेश तथा महारानीले प्रतिष्ठापित गरी मणि विग्रहका मूर्ति रहेका छन् ।

यी मूर्ति चाँदीको पाताले मोडिएको रथ आकारझैँ भान हुने विशाल एवम् कलात्मक सिंहासनमा आकर्षक ढङगले सजाएर राखिएका छन् । सीतारामका मूर्तिहरू राखिएको कोठामा बस्ने मूलद्वार पनि चाँदीबाट नै जोडिएका छन् ।

सीतारामको पछिल्लो भागमा अष्टकुञ्ज नामक कोठाहरू छन्, सो मध्ये दुई कोठाबाट पाताल जाने बाटो छन् । मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि दुईवटा विशाल राता आँखा भएका पत्थरले बनेका सिंहका कलात्मक मूर्ति छन् ।

 पहिले यी दुवै सिंहका चारैवटा आँखा हीराजडित थिए । टाढैदेखि चम्किलो देखिन्थ्यो तर ती हीरा चोरिएको बताइन्छ । यस कलात्मक पत्थरमा कलात्मक ढङगबाट रोमनमा एस। पी। लेखिएको छ ।

जनकपुरधामको वडा नं। ८ मा रहेको ज्ञानकूप विद्याकूप नजिकैको ढिस्को, कपिलेश्वर महादेवको गढी, कुपेश्वर महादेव मन्दिरको ढिस्को र उपमहानगरपालिका तथा यस क्षेत्रमा रहेका प्राचीन पोखरी एवम् तलाउको अन्वेषण आवश्यक देखिएको छ ।

यसका साथै विग्धी खोलामा प्राप्त कुषाणकालीन मुद्रा अध्ययन र अनुसन्धानको विषय रहेको छ । खोजकर्ता नमोनारायण झाले यसबारे पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि गम्भीरता नदेखाइएकाले ती मुद्राको अवस्था अज्ञात रहेको बताइन्छ ।

यसैगरी, जनकपुर उप महानगरपालिका वडा नं। १३ मा रहेको त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रले सीतासित विवाह गरेको स्थल भनी प्रख्यात ‘मणिमण्डप’ पनि अध्ययन, विश्लेषण, अनुसन्धानको प्रतीक्षामा छ । राजा जनकले सीताको विवाह गर्दा मडवाका रूपमा ‘मणिमण्डप’ को निर्माण गराएको जनविश्वास छ ।

भगवान् विश्वकर्माले सीताको विवाहका लागि मणि जडित मड्वा निर्माण गरेकै कारण वैवाहिक मड्वाको नाउँ मणिमण्डप हुन गएको अनुमान छ ।

 यसका साथै जनकपुर क्षेत्रमा प्राचीन पोखरी, इनारहरू पनि छन् जसमा पाइने ईंटा असामान्य आकारका छन् । शोधकर्ताहरू जनकपुर क्षेत्रमा भएका सम्पदालाई दृष्टिगत गर्दै जनकपुरको सभ्यतालाई रोमको सभ्यता भन्दा १५ वर्ष जेठो भनेका छन् । कतिपयले जनकपुर र लुिम्बनीको सभ्यता समकालीन भएको उल्लेख गरेका छन् ।

सुप्रसिद्ध चिनियाँ यात्री ह्वेन साङ्गले पनि भ्रमण गर्दा गर्दै मिथिलाको नाम सुनेर सातौँ शताब्दीमा सन् ६४० तिर यहाँ आउँदा उजाड र अस्तव्यस्त अवस्थामा पाएको भनी यात्रा वृतान्तमा उल्लेख गरेका छन् ।

 जनकवंशीय राजा करालको बध पछि ऐश्वर्यवती मिथिलापुरीको दुर्दिन सुरू भयो । करालको अन्त्यसम्म मिथिला राज्यको दक्षिण पूर्वमा गंगापारि रहेको प्राचीन वैशाली शक्तिशाली राज्यमा परिणत भइसकेको थियो ।

करालको अवसान पछि वैशालीका वज्जिहरूले मिथिलामाथि धावा बोली आफनो अधीनमा लिए । केही दशक पछि वज्जि सङ्घ पनि मगधका राजा अजात शत्रुबाट परास्त भएर मिथिला प्रदेश ५५३ ई।पू। तिर मगधको अधीनमा परे ।

मगध पछि कन्नौज, पालवंश र कर्णाटवंशीहरूको पोल्टामा पर्दै सन् १३२६ मा गयासुद्दिन तुगलकले जिते पछि केही समयका लागि मिथिला दिल्लीको मुस्लिम शासनमातहत समेत रह्यो । यसरी राजाहरूको विजय–पराजयसँग इतिहासमा हुँदै गरेको उथल–पुथल बीच सयाँै वर्षसम्म पराधीन र श्रीहीन अवस्थामा गुमनाम रहेको यस क्षेत्रको प्रमाणीकरणका लागि यहाँ भएका मूर्त र अमूर्त सम्पदाको खोज, अनुसन्धान र उत्खनन् आवश्यक छ ।

जनकपुर क्षेत्रमा पाइने सम्पदाले सामान्यतया मौर्य, शँुग, कुषाण, गुप्त, पाल, सेन राजवंश र पछि मकवानपुरका सेन राजाहरूको समयलाई बोध गराइरहेको छ ।

मानव सभ्यताको विकासक्रमलाई रेखाङ्कित गर्न सकिने विभिन्न गढीको उत्खनन् गर्नु आवश्यक देखिएको छ । यस क्षेत्रलाई जानकीको जन्मथलो, माइती भनी धार्मिक ग्रन्थहरूले प्रतिपादित गरेपनि त्यस समयको अवशेष अहिले पनि अनुसन्धानको विषय रहेको छ ।

यस अतिरिक्त पुरातात्विक महत्वका वस्तुहरूको गहन अध्ययन हुनसक्यो भने तत्कालीन राज्य व्यवस्था, सामाजिक जीवन, धर्म र लिपिबारे पनि प्रशस्त जानकारी प्राप्त हुन सक्ने सम्भावना रहेको साहित्यकार डा। राजेन्द्र विमल बताउनुहुन्छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..