» » » घुम्टोदेखि अमेरिकासम्म सुनैनाको यात्रा

वर्षौंसम्म घुम्टोभित्रै सीमित भएर जीवन जिउने मधेसी महिलाका लागि महोत्तरीका सुनैना ठाकुर एक उदाहरणीय पात्र बन्नुभएको छ । उहाँले आफूलाई मात्र होइन, महोत्तरीका सैयो महिलाको दिनचर्या परिवर्तन गर्नमा सफल हुनुभयो ।

 मिथिला चित्रकलाको सहाराले अमेरिकाको न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’ को उपाधिबाट सम्मानित भएपछि मधेसी महिलाका लागि एक उदाहरणीय नामका रुपमा परिचित हुनुभएका सुनैनाका घरपरिवार गर्व गर्छन् र भन्छन् वाह ! छोरीले घरको नाम रोशन गर्यो ।
सुनैनाका बुवा आमाले मात्र होइन, उहाँका सासु ससुराले पनि बुहारीमाथि गर्व गर्न थालेका छन् र भन्छन्, बुहारीले घरको नाम रोशन मात्र होइन, पुरै महोत्तरीको नाम रोशन गर्नुभयो ।

उहाँका श्रीमान शम्भु ठाकुर स्कूल खोल्नु भएको छ । स्कूलका प्रिन्सिपल हुनुहुन्छ । पहिला पहिला शम्भुको श्रीमती हो भनेर सुनैनालाई चिन्थ्यो भने अहिले यही हो सुनैनाका श्रीमान शम्भु ठाकुर भन्न थालेका छन् । त्यो किन नहोस्, शम्भु जिल्लाका सिमित क्षेत्रका परिचित व्यक्ति हुनुहुन्छ भने सुनैना अन्तराष्ट्रिय रुपमा परिचित भएको महिला हुनुहुन्छ । सुनैनको कामले उहाँका श्रीमान शम्भुले पनि गर्व गर्नुहुन्छ । यसैलाई भनिन्छ, टाइम टाइमकी बात ।

समाजमा संघर्ष
जिल्लाकै सुगाभवानीपट्टिकी ३२ वर्षीया गृहिणी सुनैना ठाकुर मधेसी महिलाका लागि चिनारीका रुपमा परिचित हुनका लागि उहाँलाई सहज भने थिएन । शुरुमा उहाँलाई त्यो समाजसँग कम्ति संघर्ष गर्नुपरेन । गाउँमा समूह बनाएर महिलाहरुलाई नेतृत्व विकासको तालिम दिँदा सुनैनाको बारेमा विभिन्न टिकाटिप्पणी भएको थियो । छोरी, चेलीबेटी बिगारेको आरोप पनि सुनैनामाथि लाग्ने गरेको थियो ।

यद्यपी ती सबै बाधा, व्यवधानलाई चिर्दै तराई मधेशको समाजमा उहाँ वर्षौंसम्म सङ्घर्ष गरेर आफ्नो कलालाई विश्व बजारमा प्रदर्शन गरेर यो समाजलाई सम्मानको दिलाउनु भएको छ । उहाँ भन्नुहुन्छ, समाजको कुरा सुनेर बसेको भए आज म यो ठाउँमा आउन सक्ने थिइनन् । मेरो दृढ अठोट र निरन्तरको लगनशीलताको कारणले आज महोत्तरीका धेरै महिलामा परिवर्तन आएको छ, घरमै सिमिति महिलाहरु बाहिर निस्किन थालेका छन्, छोरीछोरीलाई पढाउन थालेका छन्, समाजलाई बुझ्न थालेका छन् ।’

सुनैनाले मिथिला चित्रकलाको व्यवसायी रुपमा अँगालेको पनि धेरै भएको छैन । आठ वर्ष मात्र भएको छ । यतिका थोरै समयमा मैथिला आर्टलाई सानो गाउँबाट अमेरिकासम्मको यात्रा गर्न उहाँ सफल हुनुभएको हो । उहाँले भन्नुभयो, “परिवार र साथीभाइको सहयोग र आफ्नो लगनले गाउँको मात्रै होइन देशकै नाम चिनाउन सफल भएकी हुँ । यसमा आफूलाई गर्व छ तर यसका लागि मैले गरेको संघर्षको कथा पनि लामै छ । अहिले मेरा आमा बुवा र सासु सासुराले पनि ममाथि गर्व गर्न थाल्नु भएको  छ ।’

मिथिला चित्रकलालाई व्यावसायीकरण गर्नुका साथसाथै तराई मधेशका महिलालाई पनि यस क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिएको कारणले सुनैनालाई केही दिनअगाडि न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अर्वाड्स द फेस अफ पिस’ बाट सम्मानित गरेको हो ।

आमाको प्रेरणा
सर्लाहीको गौरशंकर श्रीनगर–५ मा माइती रहेकी सुनैनाले बच्चैदेखि आमाले बनाउने गरेको पेन्टिङ देखेर हुर्किनु भएको हो । घरमा उहाँका आमा छठीया देवीले घरको भित्ताहरुमा माटोको मुर्ति बनाउन, चुनाले चित्रकालाहरु बनाउने देखेर उहाँले आफ्नो कापीमा कोर्न थाल्नु भएको थियो । आमाले भित्तामा कोरेको चित्रलाई सुनैनाले आफ्नो कापीमा कोर्नु हुन्थ्यो र साथी भाइलाई देखाउनुहुन्थ्यो । स्कूलमा प्रतियोगिता हुँदा पनि उहाँले आमाले बनाएको चित्रलाई सम्झिदै कापीमा कोरेर शिक्षकलाई देखाउनु हुन्थ्यो । कहिले काही उहाँको सो चित्र उत्कृष्ट हुन्थ्यो र त्यसले झन उहाँलाई चित्रकालामा रम्न हौसला दिन्थ्यो ।

आफूले सानैदेखि अरूको पर्खालमा चित्रहरु बनाउँदा कतिपयको खप्की र परिवारको गाली खानु परेको स्मरण पनि उहाँले सुनाउँदै भन्नुभयो, “अन्ततः मैले सोही चित्रको माध्यमले अन्तराष्ट्रियस्तरमा अवार्ड हासिल गर्न सफल भएकी हुँ ।” आफूले आफूभित्र रहेको कलालाई जीवन्त राख्नका लागि घरकै पर्दा, बेडसिट, तन्ना लगायतमा चित्र कोर्ने गर्दै आएको सुनैनाले बताउनुभयो ।

कलामा अवरोध
गाउँकै विद्यालयमा कक्षा ८ मा पढिरहेको बेला चित्रकला प्रतियोगितामा प्रथम भएपछि आफूले भविष्यमा यसलाई नै व्यवसायीकरण गर्ने सोच बनाएको बताउँदै सुनैनाले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, स्कूलमा सोचेको कुरा विहेपछि केही वर्षसम्म मेरो चित्रकालामा अवरोध सृजना भयो ।’ एक दशकअगाडि जलेश्वर नगरपालिका–१५ सुगाका शम्भु ठाकुरसँग विवाह भएपछि मैथिल समुदायमा नवविवाहिता बुहारीलाई घर बाहिर निस्कनु र काम गर्नुलाई नकारात्मक दृष्टिकोणले हेर्दा उहाँलाई कला देखाउन निकै नै गाह्रो भएको उहाँले बताउनु हुन्छ ।’

१० कक्षामा अध्ययनरत रहँदा नै सुनैनाको विहे भएको थियो । विहेपछि उहाँले एसएलसी पास गर्नुभयो । एसएलसी पास गरेपछि कला र अध्ययन दुवैमा ब्रेक लाग्यो । तर बाहिर गएर पढ्नु र चित्रकला बनाउन नसकेपनि घरमा एउटा बुहारीको रुपमा घरको पर्दा, तान्नालगायतमा ती चित्रहरु कोर्नु हुन्थ्यो । उहाँले कोरेको चित्रको चर्चा टोलभरि नै हुन्थ्यो । गाउँघरका आइमाईहरु आउँदा उहाँको चित्रकला हेरेर छक्क पर्थे र कतिपयले सिकाई दिन पनि आग्रह गर्थे ।

ग्राउण्डले जीवनमा ल्याए परिवर्तन
दुई वर्षसम्म घरकै चुल्हो चौकामा अल्मलिनुभयो । घर व्यवाहरमै समय बित्यो । सानैदेखिको लगाव र सन् २००८ मा सर्च फर कमन ग्राउन्डले दिएको अवसरको उपयोग गर्दै सुनैना अहिले यहाँसम्म आउन सफल हुनुभएको हो । गाउँमा त्यतिबेला पढेलेखेका महिलामध्ये उहाँ नै हुनुहुन्थ्यो । त्यही भएर गाविसमा बनेको एउटा सञ्जालमा उहाँको पनि नामा राखि दिएको रहेछ । कहिले काही बैठकमा आउजाउँ गर्नुहुन्थ्यो उहाँ । बैठकमा जाँदा आउँदा र गरेको कामले उहाँको प्रशंसा हुन थाल्यो गाउँमा तर घरपरिवाले त्यति खुल्न अनुमति दिएका थिएन सुनैनालाई ।

महिलाको क्षेत्रमा काम गर्ने केही महिला चाहिन्छ भन्दै सर्च फर कमन ग्राउण्डले महिला खोज्दै थिए । कसैले
सुनैनाको नाम दिएको थियो । ती ग्राउण्डका प्रतिनिधिले सुनैनालाई खोज्दै उहाँको गाउँसम्म पुगेको थियो । महिलालाई नेतृुत्व विकासका लागि ग्राउण्डले चार दिनको तालिम दिन लागेका छन् । त्यसमा सहभागि हुन चाहनु हुन्छ भने आउनुस् भन्यो ।

जनकपुरको होटेलमा हुने सो तालिममा सहभागि हुन सासु सासुराले अनुमति दिएन । एउटा महिला जनकपुरमा गएर एउटा होटलमा बसी चार दिनसम्म कसरी तालिम लिन्छन् । तराई मधेश समाजका लागि त्यो बेला अनौठो थियो । यस विषयमा उहाँको घरमा धेरै गन्थन मन्थन भयो । सुनैनालाई जाने इच्छा थियो तर घरले अनुमति नदिए कसरी जाने भने अलमलमा थिए तर पछि उहाँका श्रीमान शम्भुले घरमा कन्भिन्स गरेर उहाँलाई तालिमका लागि जनकपुर पठाएका थिए ।

चार दिनको तालिम सकेपछि सबैलाई सोधेको थियो कि यो तालिम सकेपछि कसलाई के गर्न मन लागेको छ भनि सोधेको थियो । त्यसमा सुनैनाले मेरो कला नै पहिचान हो, म मिथिला आर्ट गर्न चाहन्छु र गाउँका महिलाहरुलाई अगाडि बढाउन चाहन्छु भनि लेख्नु भएको थियो । त्यतिबेला त्यहाँ त्यो विषयमा कसैले केही बोलेन । तालिम अनुसार नै गाउँमा गएर महिलाहरुलाई तालिम दिनु भनेर सबैलाई पठाए । सुनैना पनि आफ्नो गाउँमा गएर महिलाहरुलाई भेला पारेर एउटा समूह बनाएर तीन दिनको तालिम दिनुभयो । तर ती महिलाको समूह बनाउन कस्तो कस्तो पापर बेल्नु पर्यो त्यो कुरा उहाँलाई मात्र थाह छ ।

तालिम सकिएपछि कमन ग्राउण्डले १० हजार रुपियाँ सुनैनालाई दिँदै भनेका थिए यो रुपियाँ तपाई तालिम दिएका महिलाहरुमा खर्च गर्न सक्नुहुन्छ भनिएको थियो । उहाँका लागि ती १० हजार रुपियाँ नै बरदान सावित भयो । उहाँले महिलाहरुलाई मिथिला आर्टको तालिम दिन थाल्नुभयो । उहाँले २५ जना महिलालाई १५ दिनसम्म तालिम दिनुभयो । उहाँलाई यहाँसम्म आउनका लागि सर्चकै मीना शर्मा, श्रीमान, घरपरिवार र साथीभाइको भरपुर सहयोग प्राप्त भएको थियो । सर्चसँग सम्बन्ध गाँसिएपछि उहाँले चित्रकलाको व्यवसायीकरण र महिलालाई तालिम दिनका लागि विसं २०६६ मा महिला क्षमता विकास केन्द्र दर्ता गराउनुभयो र मिथिला पेन्टिङ गर्ने कार्यलाई अघि बढाउँदै लग्नुभयो ।

त्यसपछि उहाँले घरबाहिर मिथिला आर्टको कामहरु पनि शुरु गर्नुभयो । सो केन्द्रमार्फंत नियमित तालिम दिनुको साथै चित्रकलाहरु बनाउन थाल्नुभयो । त्यसपति उहाँलाई गाविसले पनि सहयोग गर्न थाल्यो । विभिन्न अन्य ठाउँहरुबाट पनि सहयोग आउन थाल्यो । पछि त देश विदेशबाट आउने महिला पुरुषहरुले समेत उहाँको समूहमा गएर चित्रकला अवलोकन गर्न थाल्यो । अमेरिका, युरोप, जपान, भारतलगायतका ठाउँहरुबाट आएर चित्रकला अवलोकन गर्न थालेपछि उहाँको चर्चा चारैतिर फैल्न थाल्यो ।

त्यसपछि समूहबाट तयार पारेको चित्रकलालाई गाउँमै प्रदर्शन गर्नुभयो । २० वटा चित्रकलाहरु प्रर्दशनमा राखिएपछि सात आठ हजारको विक्रि भएको थियो । त्यसपछि उहाँले जनकपुरमा प्रदर्शन गर्नुभयो । त्यहाँ अझै भव्य रुपमा गर्नुभयो । सबैको सहभागिता पनि थियो । त्यसपछि उहाँलले आफ्नै समूहबाट पोखरा, काठमाडौलगायतको ठाउँमा प्रदर्शनीहरु गर्नुभयो । उहाँले प्रदर्शनी बाहेक आफैले बनाएको चित्रकलाको मार्केटिगं कहिले गर्नुभएन । आफै बिक्रि भयो भने ठिकै छ नत्र बजार खोजेर विक्रि गर्नुभएको छैन । टि सर्टहरुमा चित्र बनाउने, झोला बनाउन कामहरु अझै आइरहेका हुन्छन्

कामको अभाव
सुनैनाले जति महिलालाई तालिम दिनुभएको छ, त्यतिलाई काम दिन सक्नुभएको छैन । उहाँ भन्नुहुन्छ, तालिम लिएका महिलाहरु काम खोज्न आउनु हुन्छ तर मैले दिन पाएका छैन किनभने मार्केट छैन, बनाइएका चित्रहरु विक्रि हुँदैन अनि काममा राखेर मात्र के गर्नु ।’ तालिम लिन चाहने महिलाहरु पनि अहिले धेरै छन् । तालिम लिइसकेपछि काम खोज्ने पनि धेरै छन् । सरकार वा गैरसरकारीस्तरबाट यो क्षेत्रमा काम भयो भने यसको धेरै सम्भावना रहेको सुनैनाले बताउनु हुन्छ ।

घुम्टो ओढेर मात्रै मधेसका महिला बस्छन् भन्ने सोच्नु गलत रहेको बताउँदै सुनैनाले भन्नुभयो, “अवसर पाउने हो भने मधेसका महिला पनि सक्षम छन् ।”  आफू महिलाको क्षमता विस्तार र व्यवसायीकरणका लागि काम गर्ने बताउँदै यसमा सबैको सहयोग उत्तिकै जरुरी रहेको समेत बताउनुभयो । सुगाका महिलाले बनाएका चित्र राजधानी काठमाडौँका अतिरिक्त अमेरिका, युरोप, अस्ट्रेलिया लगायत देशमा समेत पुगिसकेका छन् । निरन्तरको प्रयास र अगुवाइलाई सलाम गर्दै युएनडिपीले पनि यसअघि सन् २०१२ मा उनलाई शान्ति सेवा अवार्ड पत्र प्रदान गरिसकेको छ ।

शिक्षा
यो क्षेत्रका आउनका लागि उहाँले कुनै तालिम वा कलेज क्याम्पस जानु भएको छैन । आमाले बनाउँदै गरेकोलाई सिक्नु भयो र त्यसैलाई अझ राम्रो बनाउँदै गएपछि यहाँसम्म आइपुग्नु भएको हो । बीएडसम्म अध्ययन गर्नुभएका सुनैनाले चित्रकला सम्बन्धि पढ्नका लागि ललितकला क्याम्पस पुग्नु भएको थियो तर त्यहाँ यो चित्रकला पढाउने कलेज हो जस्तो कुनै कोणबाट लागेन । नकुनै शिक्षक नै त्यस्तो उहाँले देख्नुभयो । त्यहाँ बुझ्दै जाँदा फाइन आर्टको मात्र पढाई हुन्छ, मिथिला आर्टको पढाई हुँदैन ।

त्यसपछि उहाँ आफैले अध्ययन गर्न थाल्नु भयो । कन्सेप्टका किताबहरु पढेर, आफै गर्न थाल्नुभयो । अघिल्लो वर्ष उहाँ भारततिर जानु भयो । केही नयाँ सिक्न पाइन्छ कि भनेर भारत विहारको मधुवनी पुग्नुभयो । एकजना चित्रकारिताका कलाकार कल्पना झासँग भेट्नु भयो र केही रंगहरुको बारेमा जानकारी लिनुभयो । दुई दिनसम्म त्यही बसेर लिएका जानकारी नै उहाँको शिक्षा हो । अरु केही औपचारिक अध्ययन वा तालिम लिनुभएको छैन । अझै राम्रो गर्नका लागि उहाँले नयाँ नयाँ प्रयोगहरु गरिरहनु हुन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..