» » संशोधन प्रस्ताव पारित भएपनि नभएपनि आन्दोलन


काठमाडौं माघ १९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संशोधन प्रस्ताव पारित भएपनि वा नभए पनि आन्दोलन नरोकिने चेतावनी दिनु भएको छ ।

संशोधन विधेयकले मधेशी, आदिवासी जनजाति, थारु, दलित लगायत उत्पीडित समुदायको माग नसमेटेकोले परिमार्जन बिना संशोधन पारित हुनु वा नहुनुको कुनै औचित्य नभएको यादवले टिप्पणी गर्नुभयो ।

आज राजधानीमा रामरिझन यादवले लेख्नु भएको  ‘ब्ल्याक आउट’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यादवले विकृत संविधानलाई ब्यर्थमा सामान्य टालटुल गरेर उत्पीडित समुदायको मागलाई उपेक्षा नगर्न सरकारलाई सुझाव दिनुभयो ।

 ‘हामीले संशोधनको कुरा उठाए पनि अन्तिम विकल्प संविधान पुनर्लेखन नै हो’– संघीय गठबन्धनका संयोजक समेत रहनु भएका  यादवले भन्नुभयो– ‘संविधानमा यतिधेरै त्रुटि, कमिकमजोरी छ, कि त्यसलाई जतिनै सामान्य संशोधनले पार लाग्दैन ।’

विभेदकारी संविधान कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिँदै एकल जातीय राज्यसत्ताले जतिसुकै छलकपट रचे पनि उत्पीडित समुदायको माग र एजेन्डासँग कुनै सम्झौता नहुने यादवले प्रष्ट पार्नुभयो ।

‘बलजफ्ती संविधान जारी गर्दैगर्दा सशस्त्र प्रहरी लगाएर यो नश्लीय राज्यसत्ताले मधेशमा नरसंहार गर्यो । दुई चार जना नेताहरु वालुवाटारमा बसेर बनाएको संविधान मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिलाको लागि हुँदै होइन । उनीहरु आफ्नै हितका लागि संविधान बनाएका हुन्, उत्पीडित समुदायको लागि होइन’– अध्यक्ष यादवले भन्नुभयो ।

आफ्नै देशका नागरिकमाथि भइरहेको उपेक्षा र घृणालाई समाप्त गर्न अधिकार सम्पन्न सर्वस्वीकार संविधान बन्नु पर्नेमा जोड दिँदै यादवले राज्यसत्तामा चरम नश्लीय सोँच हावी भएको आरोप लगाउनु भएको छ ।

मधेशको मूल समस्या नै आन्तरिक उपनिवेश भएको जिकिर गर्दै यादवले उपनिवेशको अन्त्यनै सबै समस्याको निकास भएको बताउनुभयो ।

‘गोर्खा साम्राज्यको बिस्तारमा उपनिवेश बनाइएका केही भागहरु र इष्ट इन्डिया कम्पनीले राणा शासकहरुलाई दिएको भागहरु छन् । मधेश त्यहीँ भूभाग हो’– यादवले भन्नुभयो,– ‘शासक वर्गले मधेशलाई अहिले पनि एउटा उपनिवेश कै रुपमा राखेका छन् । जसलाई हामीले आन्तरिक उपनिवेश भन्ने गरेका छौं । मूल समस्याको जड भनेकै आन्तरिक उपनिवेश हो ।’

शासक वर्गको मानसिकता मुधेशी समुदायलाई अहिले पनि नेपाली नागरिकको रुपमा ग्रहण नगरेको यादवले टिप्पणी गर्नुभयो ।

औपचारिकतामा फरक कुरा देखिएपनि व्यवहारमा मधेशसँग समानता र सम्मान नदेखिएको यादवले बताउनुभयो ।

राष्ट्रिय राजनीतिको केन्द्र र राज्यको स्रोत साधनबाट मधेशी समुदायलाई बञ्चित गरिएकोप्रति तीब्र असन्तुष्टि जाहेर गर्दै यादवले’– ‘देखावटी रुपमा त राणा र पञ्चायतकालमै एकाध मधेशीलाई सचिव, मन्त्री वा राजनीतिक नियुक्ति गरिन्थ्यो । तर, राज्यसत्ताले मधेशी समुदायलाई आफू सरहको कहिल्यै स्वीकारेन ।’

देशका हरेक नागरिक, भाषा, धर्म, संस्कृतिको सम्मान र पहिचान हुनु पर्नेमा जोड दिँदै यादवले मधेशीलाई विदेशी ठान्ने मानसिकता देशमा हावी भएको यादवले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो– ‘राज्यसत्ता र यहाँको एउटा खास समुदायमा यस्तो विभेदकारी मानसिकता हावी रहेसम्म देशले शान्ति, स्थायित्व, सम्मान र सम्बृद्धि कहिले पनि प्राप्त गर्नै सक्दैन ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..