» » नेताहरुले पार्टी छाड्न थालेपछि गच्छदार यसरी हुनुभयो ‘ब्याक’


मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार मंसिरको पहिलो हप्ता विराटनगर पुगेको बेला विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भन्नुभएको थियो, यो सविधान संशोधनले देशको समस्या समाधान हुँदैन, सविधान कार्यान्वयले मात्र देशको समस्या समाधान हुन्छ, त्यसका लागि चुनावको घोषणा गर्नुपर्छ ।’ यो कुरा सञ्चारमाध्यमका आएपछि मधेशी जनताले चित्त दुखाए । मधेशी जनताले मात्र होइन, उहाँका पार्टीभित्र पनि नेताहरुले चित्त दुखाए ।

जहाँ मधेशको अधिकारका लागि सविधान संशोधन हुँदैछ त्यहाँ अध्यक्ष गच्छदारले त्यसलाई विरोध गर्र्दैछन् भन्दै नेताहरुले उहाँका पार्टी छाडेर हिड्न थाले । पार्टीभित्र तीब्र असन्तुष्टि बढ्न थाल्यो । मधेश आन्दोलनको बेला पनि सो पार्टीले मधेशी जनतालाई साथ नदिई सरकारमा बसेका थिए ।

 मधेशी जनता आन्दोलनमा रही रहेको बेला १६ बुँदेमा हस्ताक्षर गरी सविधान निर्माणमा लाग्नुभयो । त्यसबेलाको असन्तुष्टिहरु मधेशी जनतामा कायमै थियो । त्यसबेला पनि मृगेन्द्र कुमार यादव, अजय गुप्ता, सत्रुधन महतोलगायतका नेताहरुले पार्टी छाडेर हिडेका थिए ।

तैपनि गच्छदारले टेरपुच्छर लगाउनु भएको थिएन । जब मधेशी मोर्चाले गच्छदारलाई सरकारमा जान रोक्न सफल भए अनि मात्र गच्छदारलाई लाग्यो ‘अब आया उट पहाडके निचे’ । त्यसपछि पनि उहाँले सरकारमा जानका लागि निकै प्रयास गरेका थिए । प्रचण्डलाई भेटेर सरकारमा लिनका लागि पटक पटक आग्रह गर्नुभएको थियो ।

 सरकारमा लिनका लागि गच्छदारले धेरै दवाव दिन थालेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पशुपछि वा विज्ञान मन्त्रालय लिन भन्नुभएको थियो, गच्छदारले त्यसलाई अस्वीकार गर्दै आफ्नो पार्टी कार्यालयमा आफ्ना निकटका पत्रकारहरुलाई बोलाएर भन्नुभएको थियो कि के चरा मार्नका लागि पशुपन्छी मन्त्रालयमा जाने ।

गच्छदारलाई उपप्रधानमन्त्री बनेर आफै सरकारमा जाने इच्छा थियो । तर, प्रचण्डले उपप्रधानमन्त्री नदिने गरी साना मन्त्रालय दिने र त्यसमा कसैको नाम सिफारिस गर्नुस् भन्दा गच्छदार ब्याक भएका थिए । जब कि सो पार्टीमा जितेन्द्र देव, दानबहादुर चौधरी, गोविन्द चौधरीलगायतका नेताहरुले जे जस्तो मन्त्रालय पाएपनि पार्टीलाई सरकारमा पठाउनु पर्छ भने पक्षमा हुनुहुन्थ्यो । या सरकारमा जानुपर्छ नभए आन्दोलनको घोषणा गर्नुपर्छ । तर गच्छदारले केही गर्न मान्नुभएन ।

उहाँले त्यसपछि झन सरकार र मधेशी मोर्चाको विरोध गर्न थाल्नु भयो । यसले सो पार्टीको हाइट बढेन बरु घट्दै गयो । मधेशमा सो पार्टीका आलोचना हुन थाल्यो । मधेशको नाममा पोल्टिक्स गर्ने तर मधेशको हितमा नबोल्ने भनि सो पार्टीको आलोचना हुन थाल्यो । यस्तो आलोचना हुँदा पनि गच्छदारले कुनै वास्ता गर्नुभएन । सरकार र मधेशी मोर्चाको विरोध गर्न छाड्नु भएन ।

गच्छदारले आफूलाई नसुधारेपछि सो पार्टीका उपाध्यक्ष रामेश्वरराय यादव पनि रुष्ट भएर आफ्नो गृहजिल्ला सर्लाही गएर बस्नुभयो भने अर्का उपाध्यक्ष दानबहादुर चौधरी पार्टी छाडेर नै हिड्नुभयो । गच्छदारका विश्वास पात्र लक्ष्मण थारु जो जेलमा हुनुहुन्छ । उहाँले पनि जेलबाटै पार्टी छाडेको घोषणा गर्नुभयो । अन्य नेताहरुले पनि पार्टीमा असन्तुष्टि जनाउन थाल्नुभयो । त्यसपछि बाध्य भएर गच्छदारले पुस १३ गते पार्टीको राजनीतिक समिति र संसदीय दलको संयुक्त बैठक बोलाउनुभयो । बैठकमा धेरै नेताहरु अनुपस्थित रहनु भयो ।

आफ्नो गृहजिल्लामा रहनु भएका पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवलाई गच्छदारलाई फोन गरेर बैठकमा आउन भनेपछि उहाँले आउन इन्कार मात्र गर्नुभएन । तपाई आफूलाई सुधार गर्नुस्, पार्टीलाई ठिकसँग चलाउनुस्, मधेशी जनताको हितमा निर्णय गर्नुस् अनि मात्र म बैठकमा आउँछु, भनि जवाफ दिएपछि गच्छदारले बाध्य भएर आफ्नो अडानबाट ब्याक हुनुभयो ।

दुई दिनसम्म चलेको बैठकमा पार्टी नेतृत्वप्रति विभिन्न आलोचनात्मक टिप्पणीहरु भयो । पार्टीका अध्यक्ष गच्छदारले लिनुभएको अडानका कारण पार्टीलाई कस्तो क्षति पुग्यो भनि पनि समिक्षा भयो । त्यसपछि बाध्य भएर अध्यक्ष गच्छदारले सविधान संशोधन ठिक हो, यसले मात्र देशको समस्या समाधान गर्छ । सविधान संशोधन नगरीकन निर्वाचन गराउनु हुँदैन जस्ता निर्णय पार्टीबाट गराउनुभयो ।

 त्यति मात्र होइन, मधेशी मोर्चाले उठाउँदै आएको मागको विरोध गर्दै आउनु भएका गच्छदारले त्यसलाई स्वीकार गर्नुभयो । र, उहाँले पनि भन्नुभयो, झापा, मोरगं र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिलाउनुपर्छ । उताका कैलाली र कञ्चनपुरलाई पाँच नम्बर प्रदेशमा मिलाउनुपर्छ भनि निर्णय नै गराए । जब कि उहाँले यसअघि आठ प्रदेशको खाका प्रस्तुत गर्नुभएको थियो ।

पुस १४ गते पार्टी कार्यालयमा आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, झापा, मोरगं र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिलाउ नभए झापा, मोरगं, सुनसरी, सप्तरी, सिरहा र उदयपुरलाई मिलाएर एउटा छुट्टै प्रदेश बनाउ भनि आफ्नो पार्टीको माग रहेको छ ।’

उहाँले अब सरकारमा जाने मोह भंग भएको पनि बताउनुभयो । प्रचण्डले मधेशी मोर्चाको माग अनुसार सविधान संशोधन भएपछि सँगै सरकारमा आउनु होला भनेको पनि सन्दर्भ उहाँले सुनाउनुभयो । सरकारमा त जान्छु तर अब हाम्रो पार्टीका लागि यो गौण कुरा भयो भन्दै उहाँले देशको निकास दिनका लागि अब आफूले पहल लिने बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..