» » डिजे संस्कारले ध्वनी प्रदुषण


पर्सा पुस २६ गते । बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ ।

बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले नगरबासी प्रभावित हुने गरेका छन् ।

यसैक्रममा वीरगन्जको माईस्थान चोकमा केही दिनयता सञ्चालनमा रहेको सप्ताहव्यापी धार्मिक कार्यक्रममा चारैतिर लाउडस्पीकर राखेर प्रवचन कार्यक्रम गर्नाले त्यस क्षेत्र वरिपरि करिब ५०० मिटर क्षेत्रभित्र रहेका व्यापारी र बटुवा ध्वनि प्रदूषणका कारण प्रभावित हुने गरेका पाइएको छ ।

ठूलो स्वरमा बाजा बजाउँदा हामी मात्र होइन, पसलमा आउने ग्राहक समेत प्रभावित हुने गरेकाले सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माईस्थानका पान व्यवसायी विनयकुमार चौरसियाको गुनासो रहेको छ ।

जीउ नै हल्लिने खालको साउन्ड प्रयोग गर्नु, जन्ती जाँदा पार्टीलगायतको काममा गाडीमा प्रयोग हुने ठूलो आवाजको हर्नले कतिपय स्थितिमा शारीरिक क्षति र बहिरो समेत बनाउने गरेको चिकित्सकको भनाइ रहेको छ ।

वीरगन्जका वरिष्ठ पत्रकार शङ्कर खतिवडा भन्नुहुन्छ बिहान र दिनभरिको ध्वनि प्रदूषणको कारण तनाव, झैझगडा, मानसिक विचलनलगायतको समस्या उत्पन्न हुने गरेको छ । धार्मिक, साँस्कृतिक कार्यको नाममा ठूलो स्वरमा बाजा बजाउनु विकृतिको रुप भएकाले सानो स्वरमा बाजा बजाउनु पर्दछ, उहाँको भनाइ छ ।

कार्यालयको समयमा सडकबाट जाने सवारीसाधनले ठूलो स्वरमा हर्न बजाउँदा दैनिक क्रियाकलापमा समस्या हुने गरेको छ । नगर क्षेत्रमा रहेका सुरक्षाकर्मीले सक्रियता नदेखाएकाले ध्वनि प्रदूषण बढ्न गएको हो जसको कारण सर्वसाधारणको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ ।

वीरगन्ज नगर क्षेत्रमा ध्वनिको समस्या रहेको स्वीकार्दै पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले ठूलो स्वरमा बाजा बजाउनु यहाँको रीतिरिवाज नै भएको र सम्झाउँदा बुझाउँदा पनि सम्बन्धित पक्षले अटेर गर्ने गरेको बताउनुभयो ।

संस्कृति र संस्कारको नाममा ठूलो स्वरमा माइक बजाएर ध्वनि प्रदूषण गर्नु भनेको जनतामा चेतनाको अभाव हो । जबसम्म ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा कस्तो असर पर्छ, त्यसबारे चेतना जागृत हँुदैन, तबसम्म यो समस्या दिनप्रतिदिन बढ्दै जानेछ ।

निश्चित दायराभित्र रहेर कार्य गर्दा आवाज भएन भने विवाह, पूजा, भोजभतेर, प्रवचन, भजनकीर्तनमा मिठास आउँदैन भन्ने भनाइ आम नागरिकको रहेको छ ।

बजारभरिका पोलमा स्पीकर राखी ध्वनि फैलाउने क्रियाकलाप बढेपछि यसबाट प्रभावित हुने मानिसको सङ्ख्या पनि बढ्दै गएको छ ।

हाम्रो माग हो, वीरगन्ज नगर ध्वनि प्रदूषणमुक्त सहर हुनुपर्छ, वीरगन्ज नगरबासी एकै स्वरमा भन्छन् । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..