» » के चाहन्छन् झापा, मोरगं र सुनसरीका जनताः एक बहस

अहिलेको राजनीतिकको मुख्य विवाद सिमांकन नै हो । मधेशवादी दलले पूर्वका झापा, मोरगं, सुनसरी र पश्चिमका कैलाली र कञ्चनपुरलाई पनि मधेश प्रदेशमै मिलाउनुपर्छ भन्दै आन्दोलन गर्दै आएका छन् तर हालसम्म त्यो माग पूरा हुन्छ कि हुँदैन भनि ठेगान छैन । सविधान संशोधनका लागि मधेशी मोर्चाका नेताहरुले दवाव दिइरहेका छन् । प्रधानमन्त्री प्रचण्डले आज भोली भन्दै टार्दै आउनु भएको छ । झापा, मोरगं र सुनसरीका जनता दुई नम्बर प्रदेशमा आउन चाहन्छ कि चाँदैन यस विषयमा त्यहाँका प्रतिनिधि पात्रसँग जिज्ञासा राखेका थियौं । प्रस्तुत छ उहाँहरुको भनाई जस्ताको त्यस्तैः

सिमांकन गर्नमा हतार
सम्पूर्ण राजनीतिक दलले संघीयताका लागि सिमांकन तयार गर्नका लागि हतार गरिएको कारणले आज देशको यस्तो अवस्था आएको हो । मधेशवादी दलले विरोध गर्दै गरे । उता मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आठ प्रदेश बनाउनुपर्ने अडान दोहोराउँदै गएपनि ठूला दल भनाउँदाहरुले आफ्नो राजनीतिक स्वार्थका कारण सात प्रदेशको खाका थोपारेका हुन् । तीन ठूला दलले सात प्रदेशको खाका यसरी ल्याएको छ कि दुई नम्बर प्रदेशबाहेक कुनै पनि प्रदेशमा मधेशी नेता मुख्य मन्त्री बन्न पाउँदैन । र, तीन दलले ठूलै योजनाको तहत यो सिमांकन ल्याएको हो । यदि दुई नम्बर प्रदेशमा यी ती जिल्ला झापा, मोरगं र सुनसरी मिलायो भने खासै केही उपलब्धी हुँदैन तर यी तीन जिल्लामा सिरहा, सप्तरी र उदयपुर राखेर एउटा प्रदेश बनायो भने मधेशवादी दलका लागि वीन वीन पोजिशन हुनेछ ।
सिताराम अग्रहरी
पूर्वप्रधान सम्पादक, गोरखाप



तीन जिल्लालाई छुट्टै प्रदेश बनाउन सकिन्छ
समग्र मधेश एक स्वायत्त प्रदेशका लागि सैयो मधेशीले बलिदान दिएका हुन् । मोरगंमा पहिलो मधेश आन्दोलनमा ६ जनाले बलिदानी दिए भने यो पछिल्लो मधेश आन्दोलनमा तीनजनाले बलिदानी दिए तर मधेश प्रदेशको कतै अतोपतो छैन । मधेशमा दुई प्रदेश हुनुपर्ने मागमा झरेपछि पनि शासक वर्गले त्यसलाई सुनुवाई नगरी उल्टै अनेक बखेडा खडा गरेका छन् । मधेशलाई विभिन्न टुक्रामा विभाजित गरी आठ प्रदेशको एउटा प्रदेश दिएर मधेशी, आदिवासी, जनजातिलाई फोड्ने काम गरेको छ । पश्चिमको कैलाली, कन्चनपुर र पूर्वको झापा, मोरगं, सुनसरी पनि दुई नम्बर प्रदेश अर्थात मधेश प्रदेशमा मिलाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छौ र हालसम्म त्यो मधेश आन्दोलन जारी रहेका छन् । खास गरी झापा, सुनसरी र मोरगंका जनता दुई नम्बर प्रदेशमा जान नचाहेपनि त्यसका लागि विकल्प दिनु पर्छ । त्यसको विकल्पमा झापा, सुनसरी र मोरगंलाई एउटा प्रदेश बनाउनुपर्छ । यी तीन जिल्लालाई एउटा प्रदेश बनायो भने मधेशीको बर्चस्व रहनेछ तर यी तीन जिल्लामा सिरहा, सप्तरी र उदयपुरलाई मिलाएर एउटा प्रदेश बनायो भने मधेश विभाजित हुन्छ र कमजोर हुन्छ । त्यसैले दुई नम्बर प्रदेशमै यी तीन जिल्लालाई मिलाउनुपर्छ वा यी तीन जिल्लालाई छुट्टै राखेर एउटा प्रदेश बनाउन सकिन्छ ।
जयराम यादव
केन्द्रीय सदस्य, संघीय समाजवादी फोरम नेपाल





राज्यले आनाकानी गर्नुहुँदैन
झापा, मोरगं र सुनसरीलाई दुई नम्बर प्रदेश अर्थात मधेश प्रदेशमा राख्नका लागि नै हामी आन्दोलन गरिरहेका छौ । झापा, सुनसरी र मोरगं मधेशको भूभाग हो त्यसैले यो मधेश प्रदेशमै हुनुपर्छ भन्दै मधेशी दलले आन्दोलन गर्दै आएका छन् । झापा, मोरगं र सुनसरीको इतिहास हेर्नुभयो भने त्यहाँका धर्तीपुत्र मधेशी, आदिवासी जनजाति नै रहेका छन् । पहाडीहरु बसाई सराई गरेका कारणले आज उनीहरु बर्चस्व् जमाएर त्यहाँ बस्न थालेका छन् । देशको शासन, प्रशासन, सेना, प्रहरी, अड्डा अदालत सबै उनीहरुकै हातमा भएका कारणले पहाडीहरुलाई मधेशीमाथि शासन गर्न सजिलो भएको छ । सुनसरीकै कुरा गर्ने हो भने यहाँ थारुहरुको सँख्या बढी छन् तर पछि आएका पहाडीहरुले थारुहरुलाई विभिन्न प्रलोभनमा पारेर जग्गा जमिन हड्पे आज थारुहरु पछाडी परेका छन् र पहाडी समुदाय अगाडी आएका छन् । त्यसैले हामी मधेशी, आदिवासी जनजातिहरुको माग हो कि हामीले आफ्नो पहिचान र भूगोलका आधारमा मधेश प्रदेशमा नै बस्न चाहन्छौ र त्यसका लागि लडाई लडिरहेका छौ । मधेश प्रदेशमा झापा, मोरगं र सुनसरीलाई राखियो भने पक्कै पनि त्यहाँका जनताले अधिकार पाउने विश्वास हामीलाई लागेको छ । यदि यी तीन जिल्लालाई मधेश प्रदेशमा मिलाउन सकिएन भने मधेशी बाहुल्य क्षेत्र वा भूभागलाई नै मधेश प्रदेशमा मिलाई दिनुपर्छ । त्यस बाहेक अरु कुनै विकल्प हुनै सक्दैन । यदि मधेशीहरु आफ्नो पहिचानका लागि एक ठाउँमा बस्न चाहन्छ भने त्यसमा राज्यले अनाकानी गर्नु हुँदैन ।
महिचन्द्र साह
अध्यक्ष, सद्भावना पार्टी, सुनसरी



दुई नम्बर प्रदेश यादवहरुको राज्य
म सिरहाबाट बसाई सरेर झापामा बसेको छु । र, मलाई यतै बस्न मन छ । म फर्केर मधेश प्रदेशमा अर्थात दुई नम्बर प्रदेशमा जान्न चाहन्न किनभने दुई नम्बर प्रदेशमा विकासका कुन आधार छैन । जानकी मन्दिरको भेटीले मधेश प्रदेश चल्न सक्दैन । अर्को कुरा मधेश प्रदेश विकासको मामलामा धेरै नै पछाडी परेको छ । यसरी विचार गरेर खोज्दै जानुस् सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही जिल्लासम्म केही पाउन सकिदैन । ती जिल्लाका जनताहरु विदेशको भरमा बाँचेका छन् । खाडी मुलुकमा गएर कमाएको पैसाले ती जिल्लाहरु चलेका छन् । त्यसको आफ्नो आर्थिक स्रोत कतै छैन । कसरी पाल्न सकिन्छ जनतालाई त्यसको बारेमा मधेशी जनताले केही सोचेका छैन । खाली भारतको गुणगान गाएर राजनीतिक गरिरहेका छन् यसले धेरै दिनसम्म टिक्न सक्दैन । त्यसैले दुई नम्बर प्रदेशमा जाने कल्पना समेत गर्न सकिदैन । अर्को कुरा दुई नम्बर प्रदेश यादवहरु बर्चस्व भएको राज्य हो । त्यहाँ यादवहरुको मात्र राज्य चल्छ, अरु जातीहरु त्यसको गुलाम भएर बस्नुपर्छ । यादव जातीले अरु जातीमाथि शासन गर्छन् भने त्यहाँ त्यो प्रदेशमा शासित भएर बस्नुको औचित्य छैन ।
विनोद साह
प्राध्यापक, मेची क्याम्पस झापा




पहाडी जस्तै मधेशीले पनि शासन गर्ला कि डर छ
झापा जिल्लामा आदिवासी जनजाति तथा मधेशी केही वर्ष पहिले धेरै बलियो थियो तर अहिले निकै नै कमजोर भएको छ । त्यसको कारण हो, पहाडीहरुको बसाई सराई । अहिले हामी ३० प्रदेशमा खुम्चिएका छौ । त्यो पनि झापाको १० किलोमिटर दक्षिण । विर्तामोडमा आदिवासी, जनजाति, मुस्लिम, मधेशी गरी ४० प्रतिशतको हाराहारीमा छौ तर मेची, कन्काईलगायतका ठाउँहरुमा हामी धेरै नै कम छौ । हाम्रो उपस्थिति जे जस्तो भएपनि हामी पहाडी प्रदेशमा होइन मधेश प्रदेशमा नै बस्न चाहन्छौ । यहाँ हामीमाथि पहाडीले विभेद गरेको छ, भोली गएर हामी मधेश प्रदेशमा गाभियौं भने त्यो विभेद हट्छ र हामीले आफ्नो अधिकार पाउँछौ भने विश्वास लिएका छौ । जुन अधिकार यहाँ खोसिएको छ भोली गएर हामी मधेश प्रदेशबाट पाउँछौ कि भन्ने लागेको छ त्यसले हामी एक नम्बरमा होइन, दुई नम्बरमा प्रदेशमा नै बस्न चाहन्छौ तर आज पहाडी समुदायले हामीमाथि शासन गरिरहेका छन् भोली गएर मधेशी समुदायले पनि हामीमाथि शासन गर्न थाल्यो भने लेनाको देना पर्छ । त्यो कुरामा पनि हामी सचेत छौ । यदि झापा, मोरगं र सुनसरीलाई मधेश प्रदेशमा मिलाउन सकिएन भने यी तीन जिल्लालाई मिलाएर भएपनि एउटा छुट्टै प्रदेश बनाउनुपर्छ । नभए झापा, सुनसरी र मोरगंमा मधेशी भूभागलाई अलग गरेर मधेश प्रदेशमा मिलाउन सकिन्छ ।
सूर्यनारायण गणेश
अध्यक्ष, सद्भावना पार्टी झापा



एक नम्बर प्रदेशमा बस्न चाहेका छैन
सम्पूर्ण मधेशी एउटै प्रदेशमा बस्न चाहन्छ । त्यसका लागि तीन तीन पटक आन्दोलन गर्यो । शुरुमा एक मधेश एक स्वायत्त प्रदेशका लागि आन्दोलन गर्यो त्यसमा नमिलेपछि मधेशी मोर्चाले मधेशमा दुई प्रदेशको माग गर्न थाल्यो तर अहिले आएर समग्र मधेशलाई दुई प्रदेशमा नदिएर बीचका आठ प्रदेशलाई एउटा प्रदेश बनाएर बाँकी मधेशका १४ वटा जिल्लालाई पहाडसँग गाभेका छन् जुन मधेशी जनतालाई कदापी स्वीकार छैन । मधेशी जनता मधेशमै बस्न चाहन्छ, उसले मधेशका कुनै पनि भूभागलाई पहाडसँग जोडेर बस्न चाहँदैन । बरु दुईको बदला तीन प्रदेश बनाइयोसे तर छुट्टै मधेश भूभागमा बस्न चाहेका छन् । झापा, मोरगं र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिलाउनु पर्ने माग मधेशवादी दलले उठाउँदै आएका छन् तर यी तीन जिल्ला नमिलाई नहुने कुरा पनि होइन । यसको विकल्प पनि दिनुपर्छ । यदि ती जिल्लालाई छुट्टै प्रदेश बनायो भने सबभन्दा उत्तम हुनेछ । तर यी तीन जिल्लालाई पहाडी जिल्लासँग गाँसेर राख्न चाहेका छैन । यो कुरा प्रष्ट छ कि विराटनगर मधेशीको हातमा दिन चाहेका छैन । पहाडीहरुले नै विराटनगरमाथि शासन गर्न चाहेका छन् जो मधेशी जनताले रुचाएका छैन । विराटनगरको १० किलोमिटर वरिपरी मधेशी बाहुल्य भएको बासोबास छ तर यहाँ पहाडीले नै शासन गरिरहेका छन् । मधेशीको केही चल्न दिएका छैन किनभने यहाँ शासन प्रशासन सबै उनीहरुकै हातमा छन् उनीहरुले चाहेको जस्तो सबै भइरहेका हुन्छन् । त्यही भएर यहाँ पहाडीहरु थोरै भएपनि उनीहरु मधेशीमाथि शासन गर्न उद्दत छन् । त्यही कारणले यहाँका मधेशीहरु एक नम्बर प्रदेशमा बस्न चाहेका छैन ।
हरिनारायण यादव
शिक्षक, मोरगं




मधेशमा तीन प्रदेश बनाए मात्र समाधान निस्किन्छ
न यो एक नम्बर प्रदेश ठिक छ न दुई नम्बर प्रदेश ठिक छ । हाम्रो पार्टीले शुरुदेखि नै भन्दै आएको हो कि यो सात प्रदेशले समस्याको समाधान हुँदैन । हाम्रो पार्टीले मधेशमा तीनवटा प्रदेशको कल्पना गरेको छ । त्यो नगरिकन सुखै छैन । झापा, मोरगं र सुनसरी जिल्लामा सप्तरी, सिरहा र उदयपुर मिलाएर एउटा प्रदेश बनाए सबै सिमांकन विवाद समाधान हुन्छ । झापा, सुनसरी र मोरगंका जनता दुई नम्बर प्रदेशमा जान चाहदैन किनभने त्यो प्रदेश वैज्ञानिक नै होइन । यही अवस्थामा दुई नम्बर प्रदेशमा गयो भने सबै भोकै मर्छन् । विकासका कुनै पूर्वाधारहरु छैन । त्यहाँ हाल कुनै सम्भावना पनि छैन । जानकी मन्दीरको भेटीले चल्दैन मधेश प्रदेश । झापा, मोरगं, सुनसरी, सप्तरी, सिरहा, उदयपुरलाई एउटा प्रदेश बनायो, त्यहाँ थुप्रै स्रोतहरु छन् । चुरे क्षेत्रहरु छन् जहाँ जडिबुटीको सम्भावना पनि छन भने मोरगं, सुनसरीलगायत क्षेत्र औद्योगिक क्षेत्र हो जो निकै नै सम्भावना भएको क्षेत्र हो । त्यसैले यो विवादलाई समाधान गर्ने एउटै उपाय हो मधेशमा तीन प्रदेश बनाउनु हो ।
कपलेश्वर यादव
केन्द्रीय सदस्य, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)




मधेशलाई कजमोर गर्ने षड्यन्त्र
झापा, मोरगं र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिलाउनका लागि हामीले आन्दोलन गरिरहेका छौ । हामीले मधेशका सम्पूर्ण भूभागलाई मधेश प्रदेशमै राख्न भनेका छौ तर तीन ठूला दलका शासकहरुले मधेशलाई टुक्राएर कमजोर बनाउन चाहेका छन् । राज्यको पहुँचमा मधेशलाई कमजोर बनाएर राख्न सकियो भने जहिले पनि मधेशीहरु पहाडीको गुलाम भएर बस्छन् भनि सोचेर नै यसप्रकारको सिमांकन बनाएको छ । मधेशका २२ वटा जिल्ला छन् त्यसमध्ये ८ वटा जिल्लालाई एक ठाउँमा राखेका छन् भने अन्य जिल्लालाई टुक्रा टुक्रा गरी पहाडका प्रदेशमा मिलाएका छन् । जुन संरचनाले प्रदेश बनाएको छ त्यसले एउटा बाहेक अरु कुनै पनि प्रदेशमा मधेशी मुख्य मन्त्री बन्न सक्दैन । अरु विधायक, सांसद बन्न पनि धौधौ हुनेछ । त्यसले गर्दा मधेशीहरु एक ठाउँमा हुनु आवश्यक छ । रह्यो कुरा झापा, मोरगं र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिलाउने कुरा । राजधानीको कुरा लिएर यताका जनताहरु पनि दुई नम्बर प्रदेशमा जान हिच्चकिचाएका छन् । मधेश प्रदेशको राजधानी जनकपुर बनाउने कुरा लभगभग पक्क भएको छ । झापा, मोरगं र सुनसरीका जनता जनकपुरलाई राजधानी स्वीकार गर्दैन विराटनगरलाई राजधानी बनाउन चाहेका छन् ।
एस.एन. मेहता
केन्द्रीय सदस्य एवं सुनसरी सहइन्चार्ज, संघीय समाजवादी फोरम नेपाल



झारखण्ड जस्तो अवस्था नहोस्
पहिलो कुरा त राज्यपुनः संरचनामा जिल्लाको कुनै कुरा नै आउनु हुँदैन । राज्यको पुनःसंरचना भइरहेको छ, जिल्लाको होइन । त्यसैले नमधेशवादी नकुनै वादी दलले जिल्लाको विवाद ल्याउनु उपयुक्त हुन्छ । यो जिल्ला यहाँ दिनुपर्छ, त्यो जिल्ला त्यहाँ दिनुपर्छ भन्नु नै गलत हो । यसरी जिल्ला अनुसार राज्यपुनःसंरचना गर्यो भने यो समस्या कहिले समाधान हुँदैन । त्यसैले जिल्लाको लफडा छाडेर पहिचान र सामथ्र्यको आधारमा सिमांकन र नामांकन गर्नुपर्छ । मधेशको भाग मधेशमै हुनुपर्छ भन्दै मधेशी जनताले १० वर्षदेखि आन्दोलन गरिरहेका छन् तर हालसम्म त्यसको निकास निस्केको छैन । मधेशका जतिपनि भूभाग छन्, मधेशको पहिचान जहाँसम्म छन् ती सबै भाग छुट्याई दिनुपर्छ त्यसपछि मधेशमा एक प्रदेश बनाउने कि दुईटा प्रदेश बनाउने कि तीनटा प्रदेश बनाउने कि कति प्रदेश बनाउने कुरा आपसमा छलफल गरेर बनाउनुपर्छ । झापा, मोरगं र सुनसरी मधेशको भूभाग हो भने त्यसलाई त्यही भागमा राख्नुपर्छ । मधेशीले आफ्नो पहिचान खोजेको छ । यदि आज मधेशीको पहिचान हुने गरि प्रदेश बनाएन भने भोली गएर विहारबाट झारखण्ड अलग भए जस्तै अवस्था आउन सक्छ । त्यसैले अहिले हतार नगरि प्रदेशहरु बनाउँदा राम्रो ।
डा.राजनारायण यादव
अध्यक्ष, मधेशी बौद्धिक समाज, मोरगं



हामी पर्ख र हेरको अवस्थामा
प्रदेशको विवाद बारे मधेशवादी दलले उठाउँदै आएको मागमा थारुहरु पोजेटिभ छैन । झापा, मोरगं र सुनसरीका थारुहरु न एक नम्बर प्रदेश न दुई नम्बर प्रदेशमा बस्न चाहेका छन् । थारुहरुले आफ्नै पहिचान खोजेका छन् । यी तीन जिल्लामा थारुहरुको बाहुल्य रहेका छन् तर प्रदेश कसरी निर्माण गर्नुपर्छ भने कुरामा थारुलाई कतै सोधेको छैन । हामीले भनेका छौ कि थरुहरुको पहिचान हुने गरि सिमांकन र नामांकन गर्नुपर्छ । हामी त भन्छौ, थरुहट प्रदेश हुनुपर्छ यदि कुरा मिलेन भने थरुहट मधेश प्रदेश नाम राख्दा पनि हुनुपर्छ । झापा, सुनसरी, मोरगं, सप्तरी, सिरहा र उदयपुरलाई एउटा प्रदेश बनाउँदा राम्रो हुन्थ्यो नभए झापा, मोरगं र सुनसरीलाई एउटा प्रदेश बनाउँदा पनि हुन्छ तर थारुहरुलाई यो सरोकारको विषय होइन । अहिलेको विवादमा थारुहरु हेर र पर्खको अवस्थामा रहेको छ । मधेशवादी दल र सरकारबीच हुने सहमतिमा थारुहरुको अधिकार र पहिचानलाई कति ख्याल गरेको हुन्छ त्यसलाई विचार गरेर मात्र हामी बोल्छौ ।
गवन चौधरी
पूर्वसचिव, थारु कल्याणकारी सभा, सुनसरी





दुई नम्बरमा कुनै पनि जिल्ला मिलाउन सकिदैन
दुई नम्बर प्रदेशमा झापा, मोरगं र सुनसरीलाई कुनै पनि हालतमा मिलाउन सकिदैन र त्यो कुरालाई स्वीकार पनि गर्न सकिदैन । कुनै दल विशेषको स्वार्थका कारणले आदिवासी जनजातिको पहिचानलाई मेटाउन सकिदैन । हाम्रो पार्टीले शुरुदेखि आठ प्रदेशको प्रस्ताव राख्दै आएको छ । अहिलेको मधेश प्रदेशमा कुनै पनि जिल्ला मिलाउन पाइदैन । झापा, सुनसरी र मोरगंलाई दुई नम्बर मिलाउन पाइदैन र यो वैज्ञानिक हुँदैन र यसले समस्या पनि समाधान हुँदैन । समस्या समाधानका लागि झापा, सुनसरी, मोरगंमा सप्तरी, सिरहा र उदयपुर मिलाएर एउटा प्रदेश बनाए मात्र समस्या समाधान हुन्छ । सायद यसमा माओवादी, काँग्रेस र एमालेले पनि मान्न तयार हुन्छ । मधेशवादी दलका नेताहरु पनि लगभग यसमा सहमति जनाउने नै देखिन्छ । नभए मधेश प्रदेशमा यसलाई राख्न कोही तयार हुँदैन । झापा, सुनसरी र मोरगंका पहाडी समुदाय मात्र होइन, आदिवासी जनजाति, मधेशी, मुस्लिमहरु पनि मधेश प्रदेशमा जान मान्दैन ।
प्रदीप कुमार चौधरी

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..