» » राजेन्द्र महतोले भन्नुभयो, ‘पाण्डवले पाँच गाउँका लागि महाभारत गर्यो हामी पाँच जिल्लाका लागि महाभारत गछौं’

काठमाडौं, पुस ३ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर आफूहरुले मरेपनि नछोड्ने र त्यसको लागि पछि महाभारत गर्नेगरि अहिलेको संविधान संशोधन प्रस्तावलाई उपलब्धिको रुपमा लिएर यसलाई पारित गर्नेगरि पहल गर्ने बताउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले भन्नुभयोे, ‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, हामी कुनै हालतमापनि पछि हट्दैनौं, पाण्डवले पाँच गाउँको लागि महाभारत गरे, अहिले पाएका उपलब्धिलाई संस्थागत गर्दै पछि हामी ५ जिल्लाको लागि महाभारत गर्छौं, अन्तिम लडाई लड्छौं ।’ 

उहाँले ५ नम्बर प्रदेशको सिमांकन हेरफेरलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरिरहेकोप्रति टिप्पणी गर्दै भन्नुभयोे, ‘एमाले अध्यक्ष केपी ओलीजीले पहिला यही प्रस्तावमा हस्ताक्षर गर्दा राम्रो हुने अनि अहिले अरुले ल्याउँदा बेठिक कसरी हुन्छ ?’

अध्यक्ष महतोले ५ नम्बर प्रदेशको सिमांकन हेरफेरसहित सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई लिएर सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रकै केही नेताहरुले गरेको विरोधलाई नाटकको संज्ञा दिँदै भन्नुभयो, ‘यो नौटकी हो, यसबारेमा हामीले शेरबहादुर देउवा र प्रचण्डलाई रोक्नुहोस् भनेर भनिसकेका छौं, नभए कारवाही गर्नुहोस् भनेका छौं, जवाफमा देउवा र प्रचण्ड दुवैले यो पार्टीको आधिकारिक प्रस्ताव हो भन्नुभएको थियो, उहाँहरुले रोक्छौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

अध्यक्ष महतोले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा जानबाट अवरोध गरेर प्रमुख प्रतिपक्षी दल एमालेले गम्भिर गल्ती गरिरहेको आरोप लगाउँदै भन्नुभयोे, ‘संशोधन प्रस्तावलाई संसदमा छिर्नै नदिने कुरा संसदीय मुल्य र मान्यताको खिलाफमा हो, यो व्यवहार एमालेले सच्याउनुपर्छ, प्रस्तावबारे संसदमै छलफल गर्नुपर्छ, संसदीय प्रक्रियामा संसदमा विरोध गर्न पाईन्छ, संसदमै ल्याउन नदिने कुरा अप्रजातान्त्रिक हो ।’

उहाँले संशोधन प्रस्तावलाई संसदमै आउन नदिने कुरा गलत भएको बताउँदै संसद कसैको जमिनदारी नभएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गर्नेहरुलाई मधेशमा नाङगोझार पार्ने चेतावनी दिँदै यो प्रस्तावलाई परिमार्जनसहित संसदमा अघि बढाउँदा यसको विरोध गर्नेहरुको विरोधमा मोर्चा जान्छ, सडकमा दबाब दिन्छ, नाँगोझार पार्छ, मधेशमा एमालेजस्ता पार्टीहरु टिक्न सक्दैनन्, त्यसपछि मधेशी जनताले एमालेमुक्त मधेशको निर्माण गर्ने चेतावनी दिनुभयो ।

महतोले जनतालाई अधिकार दिनको लागि ल्याईएको संविधान संशोधन प्रस्तावमा सहयोग नगरे एमालेका मधेशका नेता तथा कार्यकर्ताहरुले नै एमालेमुक्त मधेश बनाउने दाबी गर्नुभयो ।

उहाँले एमालेले अहिले राष्ट्रघाती काम गरिरहेको समेत आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयोे, ‘मधेश यसको प्रतिकारमा उत्रियो भने गृहयुद्ध भैहाल्छ, एमालेले सारा उपलब्धिलाई उल्ट्याउने काम गरिरहेको छ, साम्प्रादायिक मुठभेड गराउने गतिविधि गरिरहेको छ, संघीयताको मात्रै नभएर संविधानकै विरोधमा एमालेले काम गरिरहेको छ ।’

प्रमुख तीन दलवीच पूरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्नेबारे सहमति भएको कुरा बाहिर आएको छ, मधेशी मोर्चाले अब के गर्छ ? भनि सोधिएको एक प्रश्नमा अध्यक्ष महतोले सविधान संशोधन नगरिकन कुनै पनि निर्वाचन नहुने प्रतिकृया दिनुभयो ।

उहाँले यदि चुनाव नै गर्न चाहेको हो भने पहिला जनताको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष महतोले संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित अघि बढाउनुपर्ने माग गर्दै कुनैपनि बहानामा प्रस्ताव फिर्ता लिन मिल्दैन, थाँती राख्नपनि मिल्दैन्, यो कुरा काँग्रेस र माओवादी केन्द्रले स्विकार गरिसकेका छन्, अबको संसद बैठकमा प्रस्ताव अघि बढाउने सहमति भैसकेको बताउनुभयो ।

उहाँले संविधान संशोधन नै गर्न हुँदैन भनेर कृत्रिम रुपमा सडकमा सवाल उठाईएको बताउँदै संविधान कुरान, बाईबाल, महाभारत होईन, यो लचिलो विषय हो, सिमांकन त झनै जनताको माग अनुसार परिवर्तन हुने कुरा हो, सिमांकन परिवर्तन भयो भने राष्ट्र विखण्डन हुन्छ भन्ने कुरा गैरजिम्मेवार कुरा हो, यी सबै संघीयता विरोधी अभिव्यक्ति भएको बताउनुभयो ।

महतोले अंगीकृत नागरिकताको प्रावधान नै बन्द गरिनुपर्ने बताउँदै भन्नुभयो, ‘अंगीकृतलाई कुनैपनि पदमा जाने माँग हाम्रो होईन, राजेन्द्र महतोले अंगीकृत नागरिकतालाई राष्ट्रपति बनाउनुपर्छ भनेर माग गर्यो भनेर केही पत्रकारहरुले लेखिरहेका छन्, लेख्नेलाई खुब मजा आउँछ, अंगीकृत नागरिकलाई कुनैपनि पद ठूलो होस वा सानो पद नदिने, अंगीकृति नागरिकता नै बन्द गरिदिनुपर्छ, कुनैपनि पदमा जाने माँग नै होईन ।’

उहाँले अघि थप्नुभयो, ‘बिना मतलबका कुरा किन पत्रकारहरुले लेख्छन्, राजेन्द्र महतो आँफै अंगीकृत नागरिक हो, त्यसैले न भन्या हो, त्यो पाखण्डनपन हो क्या, अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने हाम्रो कुनै माग होईन्, मेरोपनि होईन, मोर्चाको पनि होईन यो कसैको माग होईन्, यो बिना मतलवको ईस्युलाई डाईभर्ट गर्ने कामहरु यो खोक्रा राष्ट्रवादीहरुले गरेको हो ।’

यसअघिका संविधानहरुमा अंगीकृत नागरिकताको कुरा गर्ने काँग्रेस, एमाले नै भएको आरोप लगाउँदै उहाँले भन्नुुभयो, ती संविधानहरु मधेशीहरुले बनाएका हुन र ? यीनै काँग्रेस, एमाले र माओवादीहरुले बनाएका हुन् ।’

उहाँले आफूहरुले दिएको अधिकार किन खोसियो भनेर आवाज उठाउँदा आफूहरुलाई राष्ट्रघाती भनिएको बताउँदै भन्नुभयो, ‘आजसम्म धोती लगाउनेले देशमा कुनैपनि राष्ट्रघात नगरेको बरु राष्ट्रघात त टोपी लगाउनेहरुले नै गरेका छन्, यो कुरा सबैले बुझ्नुपर्छ ।’

महतोले भन्नुभयो, ‘वैवाहिक अंगीकृत भनेको एउटा वंशलाई छोडेर अर्को वंशमा प्रवेश गर्छ क्या महिला, आफ्नो वंश छोड्छ नि आफ्नो बाउको, श्रीमानकहाँ आएर बस्दा खेरि आफ्नो वंशै परिवर्तन गरेको हुन्छ क्या, अनि हामीले विहे गरेर ल्याईसकेपछि त्यो श्रीमती, त्यो बुहारीलाई अधिकार नदिलाउने ? अधिकारबाट बञ्चित गराउने ? हामीले त्यो पो भनेको त ? यस्ता वाईयात र फाल्तु कुरा काम न काजको कुरा यी काम लाग्दैन्न ।’

उहाँले नागरिकतासम्बन्धी पदाधिकार सम्बन्धी धारा नै छोडेको बताउँदै भने, ‘पदाधिकारीसम्बन्धी धारा संशोधनमा ल्याउँनुपर्छ, हामीले त्यो ल्याउ भनेका छौं, त्यो चाहीँ जसले अधिकार पाउनुपर्ने हो, त्यो अधिकार तिमिले किन नदिएको ? अंगीकृत नागरिकको अधिकार हामीले मागेको होईन, हामीले वंशज, जन्मसिद्ध र वैवाहिक अंगीकृतको अधिकार पाउनुपर्छ भनेको हौं, त्यसमा कसैको आपत्ति हुनुहुँदैन भनेका हौं, अंगीकृतको कुरा गर्ने त यी काँग्रेस, एमाले, माओवादी खसवादीहरु हुन् ।’

उहाँले वैवाहिक अंगीकृतलाई नागरिकता दिने कुरा, राष्ट्रियसभामा जनसंख्यालाई मुल आधार बनाउने कुरामा करिब कुरा मिलेको र भाषासम्बन्धी पनि कुरा ठिकै भएपनि धारा चाहीँ गडबड आएकोले सच्याउनुपर्नेमा जोड दिए । उहाँले सिमांकनको सवालमा पनि आफूहरुलाई झापादेखि कञ्चनपुर चाहिएको बताउनुभयो ।

यद्धपी उहाँले सिमांकन आयोगका प्रतिवदेन अनुसार चाहिएको बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘अहिले नदिएपनि आयोग बनाउने हो भने सिमांकन आयोग बनाउ, तर टिओआर त ठिक आउनुपर्छ, पाँच वटा जिल्लाहरु हामीले कसरी पाउने भन्ने आधार आउनुपर्छ, बाटोहरु खोल्नुपर्यो, जसबाट हाम्रो महाभारत गर्ने बाँकी त रहनुपर्यो नि, हामी त ५ जिल्ला नपाएसम्म त्यो सिमांकन स्विकार गर्नै सक्दैनौं ।’

त्यस्तै अहिले पाएको लिने र ११ वटा जिल्ला चाहिएकोमा ६ जिल्ला फर्काएपछि यो पनि नलिने भन्न नमिल्ने बताउँदै महतोले भन्नुभयोे, ‘नवलपरासिदेखि बर्दियासम्म दियो, यो चाहिँदैन भन्न मिल्दैन, ल ल त्यो देउ बाँकी ५ को लागि महाभारत गरौंला ।’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..