» » भारतको नोटबन्दीले मधेशमा पीडा


भारत सरकारले भारतीय पाँच सय र एकहजारको नोट कारोबारमाथि प्रतिवन्ध लगाएपछि मधेशका जिल्लाहरुमा यसको ठूलो प्रभाव परेको छ ।

 भारत सरकारको यस्तो निर्णयबाट भारतसंग सिमाना जोडिएको सप्तरी, सुनसरी, मोरङ, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सा सहितका जिल्लाहरुमा भारतीय रुपियाँको अबैध कारोबार गर्नेहरु बढी प्रभावित भएका हुन् ।

सप्तरी जिल्लाको राजविराजका एक व्यापारीसँग मात्र एक करोड भन्दा बढी भारतीय पाँच सय र एक हजारको नोट हुन सकिने एक विश्वस्त स्रोतले बताएको छ, ती व्यपारीले समयमा साट्न नसकेर समस्यामा परेको बताइन्छ । पढाइ, लेखाइ, स्वास्थ्य उपचार, तथा साधारण किनमेलका लागि भारतीय रकम साट्न आउने जोसुकैसँग पाँच÷दश रुपियाँ बढी कमिशन लिएर अबैध रुपमा काउन्टर सञ्चालन गरेका व्यापारीसँग यति ठूलो रकम रहेको बताइएको छ ।

राजविराज नगर भित्रै मात्र यस्ता व्यापारीको संख्या दर्जन भन्दा बढी छन । राजविराज सदरमुकाम बाहेक सीमावर्ती हनुमाननगर, भारदह, बोदे बर्साइन, पातो बजारमा यसरी कारोबार गर्नेहरुको संख्या दर्जन भन्दा बढी छन् ।

बजारमा नोटहरुको कारोबार पूर्ण रुपमा बन्द रहेको र स्थानीय बैंकहरु समेतले प्रतिबन्धित नोट लिन छोडेकोले बैकल्पिक उपायको खोजीका लागि भौतारिरहेका छन् । थोरबहुत रकम भएका कतिपयले पारीपटि आफन्तसँग साट्न थालेका छन् भने मोटो रकम हुनेहरु समस्यामा परेका छन् ।

ग्लोवल आईएमई बैंक राजविराजका प्रमुख मुकेश साहले भारतसँग सिमाना जोडिएका जिल्लाहरुमा भारु पाँचसय र एकहजारको नोटको निकै कारोबार हुने गरेको र भारत सरकारले कात्तिक २३ गते रातीबाट पुरानो नोटमाथि प्रतिबन्ध लगाएपछि यहाँ तत्कालका लागि ठूलो समस्या सृजना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिले कोही भारतमा उपचारमा रहेको होला र उसँग पुरानो पाँचसय तथा हजारको नोट भएपनि खानपिन, बसभाडा जस्ता अनेक काममा केही न केही समस्या पक्कै सृजना भएको हुनु पर्दछ” । नेपाल–भारत सीमाक्षेत्रमा भारतीय रुपियाँको निकै कारोवार रहेको कारण नेपालमा पनि भारु पाँचसय र हजारको नोट ठूलै परिमाणमा हुन सक्ने भएकोले यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आवश्यक प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

 ‘‘हामी नेपाल राष्ट्र बैंकको सर्कुलरको प्रतिक्षामा छौ, नेपालमा भएको भारु पाँचसय र हजारको नोट व्यवस्थापन हुन्छ, चिन्ता लिनुपर्ने कुनै आवश्यता छैन, कुनै न कुनै व्यवस्था अवश्य हुन्छ ।” उहाँले भन्नुभयो ।

भारु नोटमा कालोबजारी
भारु रुपैया सयको एक सय १५ मा वीरगंज आसपासका क्षेत्रमा खरिब बिक्री भइरहेको छ । भारु रुपैया पाँच सय र हजारको नोटमा १ सय १५ रुपैयाको दरले साटासाट भईरहेको भारत गुजरातका ट्रक चालक जगजीत सिंहले बताउनुभयो । दुई साता अरु नेपालमा समय लाग्ने भएकाले चामल, तरकारी तथा होटेलमा खाना खाने अनिवार्य भएकाले आफूसित रहेको दुई हजार पाँच पाँच सयका चार वटा भारु रुपैया एक सय १५ को दरले साटेको सिंहले पीडा सुनाउनुभयो ।

ट्रक चालक सिंह जस्तै अरुपनि भारतीय ट्रक, लहरी चालक र सहचालकहरु नेपालका बिभिन्न ठाँउमा समान अनलोड गर्ने आएका छन् । भारत सरकारको निर्णयले कलैया, वीरगंज लगायत भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौ नेपाली नागरिक, उद्योगी व्यवसायी एवम् भारतमा रोजगारगर्ने नेपालीहरु हत्तोसाहित बढी भएका छन् ।

 भारत सरकारले भारतीय पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएपछि आफूले नोट लिन छोडेपनि डिलरहरुले समानको आग्रीम भुक्तानी लिएपछि भारु नोटमा समस्या आएको त्रिशक्ती टे«र्डसका संञ्चालक एव वीरगंज निवासी ध्रुव साहले बताउनुभयो ।

 माहौल यस्तै रह्यो भने भारु सयको सय नेपालीमा  साटासाट हुनसक्छ साहले भन्नुभयो । साह त्रिशक्ति ब्राण्डका समान मुलुकका बिभिन्न ठाँउहरुमा कृषि कार्यमा प्रयोग हुने यन्त्र आफ्ना डिलर राखी समान बिक्री गर्दै आएका छन् ।

नेपाल सरकाले भारतीय पाँच सय र हजारको नोटको बारेमा कुनै पहल गरेन भने बारा जिल्लाबाट करिब भारतीय दुई करोड रुपैयाको नोक्सानी हुने बारा उद्योग वाणिज्य संघ कलैया अध्यक्ष बिनोद साहले जानकारी दिनुभयो ।

 सिमा नजिकै रहेकाले उद्योगीदेखि भारतमा बिबाह गर्ने समान्य ब्यक्तिहरु पनि दाईजो वा विवाहमा खर्च गर्नका लागि कम्तीमा ५० हजार भारु रुपैया साटेर घरघरमा राखेको र उनीहरु पहल गर्ने साता दिनदेखि उद्योग बाणिज्य संघ कलैयामा घाईरहेको अध्यक्ष साहले बताउनुभयो । यता सिमाको रक्सौल बजारमा भारु र नेपाली रुपैया साट्न बसेका मनी चेन्चर तथा सटही काउन्टरहरुले मनोमानी रकम साट्दै गरेको सूचनाको आधारमा ती कारोबारी सञ्चालकहरुलाई भारतीय प्रहरीले समातेर कार्यवाही प्रकृया अगाडी चलाएको छ ।

व्यपारीको चहल पहल
भारतीय रुपियाँ साट्नको लागि अहिले सिमावर्ती मधेशका गाउँहरुमा भारतीय व्यापारीहरुको चहलपहल देखिएको छ । महोत्तरीसँग भारतको मधुवनी र सीतामढी जिल्लाको ४० किलोमीटर सीमा जोडिएको छ । भारतीय व्यापारीहरु एक सय भारतीय रुपैया (भारु) को नेपाली रुपैया (नेरु) १ सय ६० दिई साट्न थालेका छन् । सिमावर्ती गाउँघरका सर्वसाधारणहरु पनि आफूसँग भएको पाँच सय र हजारको नोट सस्तोदरमै साट्न थालेका छन् ।

जलेश्वर नगरपालिका वडानं. १५ सुगाका कृष्णचन्द्र झाले भारत सरकारले एक्कासी पाँच सय र हजार रुपैयाको कारोबारमा प्रतिबन्ध लगाएपछि आफूले सस्तोदरमै भएपनि रुपैया साटेको बताउनुभयो । भारतीय व्यापारी घरमै आएर साटिदिने भनेपछि आफूसँग भएको केही रुपियाँ साटेको बताउनुभयो । उहाँले दुखेसो पोख्दै भन्नुभयो, ‘आफूले एक सय भारु लिन एक सय सत्तरी रुपियाँ खर्चेपनि अहिले घाटा सहँदै साटनु परेको छ ।’

एक्कासी भारतीय भारतीय ५ सय र हजारको नोट नचल्ने भएपछि सिमावर्ती अधिंकाश ठाउँका सर्वसाधारणमा खल्लवल्ली मचिएको बताउनु हुँदै जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साहले भन्नुभयो, सर्वसाधारणहरु पैसा नचल्ने हो कि भन्ने त्रासले सस्तोमै पैसा साट्न थालेका छन् ।

भारतीय पैसा साट्नको लागि भारतीय बैंक वा हुलाक कार्यालयमा खाता हुनुपर्ने वा कुनै आधार कार्ड हुनुपर्ने भएपनि सिमावर्ती नेपालीसँग त्यस्तो कुनै आधार नभएकोले उनीहरुले सस्तोमै भारु पैसा साट्न थालेको पत्रकार महेशकुमार दासले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतीय व्यापारीहरु घर घर गएर पैसा साट्न थालेपछि सर्वसाधारणहरु डराउँदै सस्तोमै भएपनि पैसा साटिरहेका छन् ।’ वाणिज्य वैंक जलेश्वर शाखामा पनि अहिले भारतीय पाँच सय र हजारको नोट साटने बारे कुनै व्यवस्था नहुँदा सर्वसाधारणहरुलाई समस्या भएको हो ।

 महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ताले भारत सरकारको उक्त निर्णयबाट नेपाली बजारको व्यापार व्यवसाय प्रभावित भएको बताउनुहुदै नेपाली सिमावर्ती बजारका सर्वसाधारणलाई भारतीय पाँच सय र हजारको नोट नचल्ने कारणले सास्ती खेप्नु परिरहेको वताउनुभयो । उहाँले भन्नुभयो,‘ सरकारले चाँडै नै सर्वसाधारणहरुको साथमा रहेको पाँच सय र हजारको नोट साटने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..