» » परिवर्तनका लागि लडेका हरिनारायणको कथाब्यथा


महोत्तरी, मङ्सिर । चौध वर्षअघि महोत्तरीको फुलकाहा–८ का ४९ वर्षीय हरिनारायण चौधरी परिवर्तनका कुरा गर्थे ।

देशमा जनताको शासन ल्याउनुपर्छ भन्थे । बन्दुक बोकेर परिवर्तनका लागि जनयुद्ध लडे ।

देशमा राजतन्त्र फेरिएर गणतन्त्र आयो । तर जनयुद्ध लडेका घाइते भई अपाङ्ग भएका हरिनारायणको कथाव्यथा सुन्ने कोही छैन ।

नेताहरु देशमा गणतन्त्रका लागि लडाइँ लडेका उनी लट्ठीको भरमा जीवन चलाउँदै छन् । दाहिने हातमा औँला काटिएका छन् । र बाँया खुट्टामा औँला छैन । हिँडडुल गर्न र उनलाई खाना खान पनि समस्या नै हुन्छ ।

चौधरी जन्मजात अपाङ्ग होइनन् । उनलाई चिकित्सकले उपचारका क्रममा उनको औँला काटेका हुन् । विसं २०५९ मा तत्कालीन माओवादी पार्टीका जनमुक्ति सेनामा कार्यरत थिए उनी ।

सिरहाको बन्दिपुरमा शाही सेनासँग उनले भिडन्त गरेका थिए । सोही क्रममा गोली लागि सशक्त घाइते भए । सो समयपछि उनको जीवनको सहारा नै बाँसको लट्ठी बन्न पुगेको हो ।

देशमा २०६३ साल मङ्सिर ५ गते बृहत् शान्ति सम्झौता भएको एकदश बिते पनि उनको घाउमा मलम लगाउन सिंहदरबारका सरकार उनको गाउँ आएको छैन । पटक पटक माओवादी पार्टीले सरकारको नेतृत्व पनि गरिसक्यो । तर उनलाई हेर्न कोही पनि आएनन् ।

हरिनारायण आफू सुकुम्बासी छन् । विसं २०६७ मा ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र उनले पाए । तर उनले अपाङ्गता सुरक्षा भत्ता पनि पाइरहेका छैनन् । ‘क’ वर्गलाई मात्र सरकारले सुरक्षा भत्ताको व्यवस्था गरेको छ ।

श्रीमती, दुईजना छोरा र एक छोरी रहेको उनको परिवार मजदुरीको भरमा चल्दै छ । श्रीमतीले बनिबुतो गरेर हरिनारायण र छोराछोरीलाई पाल्दै आएका छन् ।

आफूहरु जस्तो अरुको सहारामा बाँच्ने अपाङ्गलाई सरकारले उचित व्यवस्था गर्नुपर्ने हरिनारायणको माग छ । उनी भन्छन् – “अपाङ्गलाई योग्यता एवम् काम गर्न सक्ने रोजगारीको व्यवस्था गर्नुपर्छ । हजारौँ अपाङ्गलाई अरुको सहारमा बस्नुपर्ने अवस्थाको भने अन्त्य हुनै पर्छ ।”

त्यस्तै आत्मबल भए आत्मनिर्भर बन्न अपाङ्गता बाधक होइन भन्ने उदाहरण प्रस्तुत गरेका पात्रहरू समाजमा प्रसस्त भेटिन्छन् । उनीहरूको काम र आत्मविश्वास अरूका लागि पनि अनुकरणीय हुने गरेको छ ।


धनुषा जनकपुरका २९ वर्षीय पत्रकार मनीषकुमार मैथिल, लादोवेलाका सैलुन मास्टर माइकल भन्ने भरत ठाकुर तथा खरिहानी–३ का ४८ वर्षीय व्यवसायी पुलिन्द्र पञ्जियार यसका प्रत्यक्ष उदाहरण हुन् ।

दुवै खुट्टा पोलियोग्रस्त भएका कारण हिँड्न गाह्रो भएपछि मनीषकुमार मैथिलका आमाबुबा चिन्तित थिए । काठको व्यापार गर्ने मनीष हुने खाने परिवारका छोरा हुन् तर शारीरिक रूपले अशक्त भएकै कारण उनी एसएलसीसम्मको पढाइ पूरा गर्न सकेनन् ।

 जेठा छोरा अशक्त भएपछि चिन्तित बनेका पिता रामचन्द्र साह मनीष पत्रकार बनेपछि प्रशन्न छन् ।

मनीष स्थानीय जनकपुर एफएममा कार्यक्रम सञ्चालक हुन् । उनका सातामा चारवटा कार्यक्रम आउँछन् । “मेरो जीवनलाई सही मार्गमा ल्याउने पत्रकारिता हो, सुरुमा केहीले होच्याउने व्यवहार गरे पनि अचेल सबैले माया गर्छन्” – उनले भने ।

यसैगरी शारीरिक अशक्त भए पनि स्वव्यवसाय गरेर जेठो छोरालाई इन्जिनियर, माहिली छोरीलाई एमबिए तथा कान्छी छोरीलाई प्लस टुसम्मको अध्ययन गराउने पुलिन्द्र पञ्जियारको कथा पनि कम उत्साहजनक छैन ।

पूर्वी धनुषाको खरिहानीको मूलनिवासी पुलिन्द्र एसएलसी पढ्दै गर्दा जनकपुर आएका थिए । उनले सुरुमा टाइपराइटरमा टाइपिङ सिकेर जीवनयापन गर्ने योजना बनाएका थिए । पछि उनले जनकपुर रेल्वेस्टेसन एरियामै पुलिन्द्र टाइपिङ इन्स्टिच्युट खोलेर अनेकौँ युवायुवतीलाई टाइपिङ सिकाए तर कम्प्युटरको आगमनसँगै टाइपिङ व्यवसाय धराशायी भयो ।

अचेल जेनरल स्टोर सञ्चालित गर्दै आएका छन् ।

जनकपुर उपमहानगरको छेउमै सञ्चालित आकास हेयर कटिङका सञ्चालक माइकल भन्ने भरत ठाकुर पनि यसका एउटा जीवित उदाहरण हुन् । लादोवेलाका मूलनिवासी माइकल पनि पोलियोग्रस्त छन् । यद्यपि उनले विशाखापट्टनमबाट यसको उपचार पनि गराएका थिए ।

अचेल उनी तीन पाङ्ग्रे मोटरसाइकलमा घरदेखि पसलसम्मको यात्रा तय गर्छन् ।

माइकलका छ सन्तानमध्ये चार निजी आवासीय विद्यालयमा अध्ययन गर्छन् भने दुई गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..