» » संगठन त सबैको छ यहाँ तर नामका लागि मात्र

–सूर्यनारायण गणेश
अध्यक्ष, सद्भावना पार्टी, झापा

२०४७ सालदेखि स्व.गजेन्द्रनारायण सिहसँग राजनीतिकमा लाग्नु भएका सूर्यनारायण गणेश २०५२ सालदेखि लगातयार झापा जिल्लाबाट नेपाल सद्भावना पार्टीको अध्यक्ष रहँदै आउनु भएको छ, हाल उहाँ राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीको जिल्ला अध्यक्ष हुनुहुन्छ । झापा जिल्लामा सम्मानित व्यक्तिको रुपमा चिनिनु भएका गणेश ४ वर्षदेखि त्यहाँको शान्ति समितिको अध्यक्ष पनि हुनुहुन्छ । झापामा आदिवासी, जनजाति, मधेशी, मुस्लिम मिलाएर ३० प्रतिशत मात्र छन्, के छन्, उनीहरुको अवस्था, त्यहाँका जनता दुई नम्बर प्रदेशमा मिल्न चाहन्छ कि चाहदैनलगायतका विषयमा झापा गएको बेला सहारा टाइम्सका विशेष प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंशः

अहिले झापा, सुनसरी र मोरंगंलाई दुई नम्बरमा मिलाउने कुरा जोडतोडले उठेका छन्, के चाहन्छन् यहाँका जनता ?
–हामी झापालीहरु एक नम्बर प्रदेशमा बस्न चाहदैनौ । हामी मधेशी हौं, मधेशमै बस्न चाहन्छौ तर यो मधेशी भूभाग भएपनि यहाँ अल्पमतमा छौ । तर हामी अल्पमतमा भएपनि हामी चाहन्छौ कि जतिछौ त्यतिलाई भएपनि मधेश प्रदेशमा राखौ । हाम्रो आन्दोलन त्यसैका लागि हो । झापा, मोरगं र सुनसरी मधेशको जिल्ला हो भने मधेश प्रदेशमै राख्नुपर्छ भनिरहेका छौ । हामी पहाडमा बस्न चाहदैनौ ।

मधेश प्रदेशमा किन बस्न चाहनुहुन्छ, त्यसको तर्क र तथ्य होला नि ?
–पहिलो कुरा त यो भूभाग मधेशमा पर्छ । हामी यहाँका धर्तीपुत्र हौं । हाम्रो अस्तित्व र पहिचान यहाँ जोडिएको छ । हामी अल्पमतमा भएको कारणले हाम्रो पहिचान खतरामा छ । पहिचान जोगाउनका लागि भएपनि हामी एक ठाउँमा आउन चाहन्छौ, एकै ठाउँमा बस्न चाहन्छौ । हिमाल, पहाडबाट आएका पहाडी समुदायको अवादी यहाँ बढेका छन् र उनीहरुले यहाँ बर्चस्व जमाएर बसेका छन् । यहाँका जल, जंगल, जमिनमाथि हाम्रो कब्जा थियो तर अहिले पहाडी समुदाय कब्जा जमाएर बसेका छन् । वन जंगल जहाँ आदिवासी जनजाति बसोबास गर्थे, कब्जा जमाएर बसेका हुन्थे आज पहाडीको कब्जामा छ । त्यहाँ कुनै मधेशी, आदिवासी, जनजातिलाई पाउनु हुन्न । हामी अल्पमतमा भएका कारणले केही गर्न सकिरहेका छैनौ । हामी राजमार्गका तल गएर सिमिति भएका छौ । त्यसले यहाँ हाम्रो पहिचान मिटिदैछन्, मधेश प्रदेशमा बसेपछि त्यसलाई संरक्षण गर्न सकिन्छ कि जस्तो लाग्छ ।

यहाँ आदिवासी जनजाति, मधेशी, मुस्लिमको अवस्था के छ ? 
–मैले अघि भने नि कि हामी यहाँका मूलवासी हौं । धर्तीपुत्र हौं तर विगत ५० वर्षदेखि पहाडबाट यहाँ बसाई सराई भइरहेको छ, जुन कार्य अझै जारी छ । ३०–४० वर्षअघि हामी बहुमतमा थियौं तर आज हामी ३० प्रतिशतमा खुम्चिएका छौ । हामी कम भएका छैनौ हाम्रो अवस्था जस्ताको त्यस्तै छ तर पहाडी समुदायको जनसँख्या बढ्दै गइरहेको छ । हाम्रो बसाई सबै राजमार्गभन्दा १०–१५ किलोमिटर तल छौ । त्यहाँ हाम्रो बाहुल्यता छ । झापाको विर्तामोडमा मिश्रित बसोबास छ त्यहाँ हामी ४० प्रतिशतको हाराहारीमा छौ । यहाँ झापामा चारवटा कलस्टर मधेशी बाहुल्य हो । जसमा केचन कवल, राजगढ (चकचकी), झापा (कमटोली), गौरीगञ्ज रहेका छन् । जहाँ लगभग डेढलाख जनसँख्या रहेको छ ।

यहाँका आदिवासी जनजाति र मधेशीहरुको शैक्षिक अवस्था कस्तो छ ?
–पहिलाभन्दा तुलनात्मक रुपमा ठिकै छ । अहिले प्रत्येक घरमा एसएलसी, प्रत्येक पाँच घरमा प्लस टु, प्रत्येक २०–२५ घरमा व्याचलर पढेका छन् । एकजना सेना मेजर पनि हुनुहुन्छ भने दुई चारजना अधिकृत पनि छन् । त्यस्तै प्रहरीमा इन्सपेक्टर तीन जना छन् भने सातजना जति सई हुनुहुन्छ । प्रहरी जवान त सयभन्दा बढी नै होला । विगतको भन्दा शैक्षिक अवस्था राम्रो हुँदै गइरहेको छ । अझै राम्रो हुनसक्छ, यदि यहाँ विभेद भएन भने हामीले अझै राम्रो गर्न सक्छो । शैक्षिक र अन्य क्षेत्रमा राम्रो भएपनि अरु कुरामा हामी निकै कमजोर हुँदै गइरहेका छौ । हामीलाई यहाँ दवाउने काम गरेको छ । हाम्रो कुरा सुन्दैनन् ।

विभेद र दवाउने काम भयो भन्नुहुन्छ तर तपाईलाई त चार वर्षदेखि शन्ति समितिको अध्यक्ष बनाएर राखेको छ नि ?
–एकजनालाई अधिकार दिएर हुँदैन । एकजनालाई सम्मान दिएर हुँदैन । हो, म यहाँ सम्मानित व्यक्तिमध्येको हुँ । यहाँका पहाडी समुदायले मलाई निकै सम्मान दिन्छन् । म मधेशी हुँ जस्तो मलाई लाग्दै, लाग्दैन । साँच्चै भन्नुहुन्छ भने ममाथि कुनै विभेद छैन । यहाँ कुनै समस्या भयो भने मैरै अध्यक्षतमा बैठक बसेर, मेरै रोहवरमा बैठक बसेर त्यसलाई समाधान गर्ने काम हुन्छ । मेरो घरपनि विर्तामोडमै छ तर ममाथि विभेद छैन भने अरुमाथि पनि त्यस्तै छन् भने होइन । समग्रमा कुरा गर्दा यहाँका आदिवासी जनजातिमाथि विभेद छ, पहाडी शासकलाई ती समुदायलाई हेपेका छन् ।  

मधेशवादी दलले गर्दै आएको आन्दलन कति प्रभावकारी छ यहाँ ?
–सही कुरा भन्ने हो भने झापामा हामीले आन्दोलनको प्रभाव देखाउन सकेका छ्रैनौ । कारण, राजमार्गमा हाम्रो उपस्थिति एकदमै पातलो छ । आन्दोलन गरेपनि त्यसको प्रभाव देखिदैन । राजमार्गको तल सधै आन्दोलन हुन्छ र त्यहाँ प्रभावकारी पनि हुन्छ तर त्यसले झापालाई कुनै असर गरेको हुँदैन त्यसले यहाँका मधेशीले गरेको आन्दोलनको प्रभाव कही देखिएको छैन । आन्दोलनको प्रभाव शहर बजार र राजमार्गमा देखाउन सकियो भने त्यो मात्र देखिन्छ नत्र गाउँ घरमा जतिसुकै आन्दोलन गरेपनि त्यसको असर कही देखिदैन ।

यहाँ मधेशवादी दलको अवस्था कस्तो छ ?
–संगठन त सबैको छन् यहाँ तर नामका लागि मात्र । कुनै दलमा एकजना पनि छन् । समग्रमा भन्ने हो भने यहाँ सद्भावना पार्टीको अवस्था राम्रो छ । त्यसपछि फोरम लोकतान्त्रिक अनि फोरम नेपालको रहेको छ । फोरम नेपाल अशोक राइको पार्टीसँग एकीकरण गरेपनि अलि अवस्था राम्रो भएको छ नत्र राम्रो थिएन । तमलोपा, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टीहरुको उपस्थिति मात्र छ, प्रतिनिधिको रुपमा । सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह हुँदा बेलाबेलामा यहाँ आइरहनु हुन्थ्यो तर अहिलेका नेताहरुले झापा आफ्नो भनेपनि त्यति आउनु हुन्न । यहाँको केन्द्रीय स्तरको गतिविधि हुँदैन । त्यही भएर पनि प्रभाव देखिएको छैन ।

सबै मधेशीहरु मधेशवादी दलमै सहभागि छन् त ?
–छैन, सबै मधेशीहरु मधेशवादी दलमा भएको भए त भइहल्थ्यो नि तर त्यस्तो छैन । अहिले पनि अधिकाँश मधेशीहरु काँग्रेस, एमाले र माओवादीमा नै छन् । सबभन्दा बढी मधेशी काँग्रेसमा छन् । त्यसपछि एमाले अनि माओवादीमा । झापामा रहेका आधा जति मधेशी, आदिवासी जनजातिहरु मधेशवादी दल भइ दिएको भए यहाँको अवस्था यस्तो हुने थिएन । तर सबभन्दा महत्वपूर्ण कुरा के हो भने यहाँका मधेशी, आदिवासी, जनजातिहरु गैर मधेशी दलमा भएपनि अपेक्षा मधेशवादी दलसँग नै गरेका हुन्छन् । मधेशवादी दलले यो गर्दिएन त्यो गर्दिएन भनि गुनासो गरिरहेका हुन्छन् तर मतदान काँग्रेस, एमाले र माओवादीलाई नै गर्छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..