» » उपेन्द्र यादवप्रति मोर्चामा असन्तुष्टि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका पछिल्ला गतिविधिलाई लिएर संघीय लोकतान्त्रिक मधेशी मोर्चाभित्र चर्को असन्तुष्टि प्रकट भएको छ।
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईसँग मिलेर संयुक्त विज्ञप्ती जारी गरेका यादवले पछिल्लो समयमा सार्वजनिक गरेका धारणा प्रति मोर्चाआबद्ध अन्य दलले असन्तुष्टि व्यक्त गरेका हुन्।
मोर्चाको आगामी बैठकमा उनीसँग ती विषयमा जानकारी लिइने ती नेताहरुले बताएका छन्।
तर संघीय समाजवादी फोरमका एकजना उपाध्यक्षले आफ्ना पार्टी मोर्चासँगै रहेको र आफ्ना अध्यक्षले पार्टीका राजनीतिक मूल्य मान्यताबारे धारणा व्यक्त गर्न स्वतन्त्र रहेको प्रतिक्रिया दिएका छन्।

आलोचना

फोरम अध्यक्ष यादव र नयाँ शक्ति पार्टीका नेता भट्टराईको संयुक्त विज्ञप्ती र प्रधानमन्त्रीलाई उनीहरुले गरेको संयुक्त भेट मोर्चाका अन्य नेतालाई झस्काउने कदम थिए।
सद्भावना पार्टीका महासचिव मनिस सुमनले संयुक्त विज्ञप्तिमा रहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक प्रतिनिधित्वका माग मोर्चाको नीति विपरीत रहेको बताउँछन्।
उनले भने, "यस्ता विचारप्रति मोर्चा वा गठबन्धनमा कहिल्यै बृहत् छलफल भएको छैन, मोर्चाको भन्दा फरक धारणा व्यक्त गर्दा त्यो अनुशासनहीन काम हुन्छ र त्यो आपत्तिजनक कुरा हो।"
मोर्चा सहितको संघीय गठबन्धन बनाएर नेता उपेन्द्र यादवले त्यसको नेतृत्व गर्न खोजेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र शुरुमा असन्तुष्टिको आरम्भ भएको थियो।
त्यसबेला देखि शुरु भएको देखिएको आशंका र असन्तुष्टि उनको पछिल्लो धारणाले थप बढाएको सद्भावना पार्टीका महासचिव सुमनको भनाईमा झल्किन्छ।
उनी भन्छन्, "हामीले संविधान संशोधन प्रस्ताव यथास्थितिमा स्वीकार गर्दैनौं, परिमार्जन गर्नुपर्छ भनेका छौं। उपेन्द्र यादवजीले हामीभन्दा पनि अगाडि बढेर यसलाई खारेज नै गर्नुपर्छ भनेर बोल्नु भएको छ। यसबारे फेरि उहाँलाई सौध्नेछौं। उहाँले यथोचित जवाफ दिनु भएन भने उनलाई फेरि सम्झाईन्छ।"
मधेशी मोर्चा
त्यसबारे मोर्चाका अन्य दलका केही शीर्षस्थ नेताबीच कुराकानी पनि भएको बताइएको छ।
मोर्चाको अर्को दल तराई मधेश लोकतान्त्रिक पार्टीका नेता बृजेशकुमार गुप्ता भन्छन्, "उहाँले आफनो विचार व्यक्तिगत भन्नुपर्छ। आगामी दिनमा यसबारे छलफल हुन्छ होला। तपाईँ मोर्चासंग आबद्ध हुनुहुन्छ भने मोर्चाकै विचार मात्रै भन्नुपर्छ।"

बचाउ

तर संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले मोर्चाभित्र पनि पार्टीको आफ्नो धारणा हुने भन्दै 'कसले के भन्छ' त्यसमा आफूहरुले चासो नदिने बताए।
उनले भने, "मोर्चाभित्रको हाम्रो मुद्दा यथावत नै छ, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिएको ११ बुँदे र संघीय गठबन्धनले दिएको २६ बुँदे माग प्रति हामी अहिले पनि प्रतिबद्ध छौं।"
उनले पहिलो संविधानसभा र दोस्रो संविधानसभामा आफ्नो पार्टीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका मुद्दा संघीय समाजवादी फोरमले अझै नछाडेको उल्लेख गर्दै नयाँ शक्ति पार्टीका नेता भट्टराईले आफ्नो दलले उठाएका मुद्दामा समर्थन गरिरहेको जनाए।
समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयोजकको रुपमा संघीय गठबन्धनको अध्यक्षता गर्दा विगतका बैठकमा मोर्चाका कतिपय दलका शीर्षस्थ नेता सहभागी हुँदैनथे।
त्यसैले विगतमा फटकपटक विभाजित बनेको मधेशी मोर्चा फेरि त्यही बाटोमा अग्रसर भएको त होइन भन्ने आशंका पनि कतिपयले गर्न थालेका छन्।

 सभारः बबीसी

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..