» » जनताको ज्यानभन्दा ठूलो प्रदेशको सिमांकन होइन (सम्पादकीय)

मंसिरका अन्तिम दिन अर्थात मंसिर ३० गते संघीय समाजवादी फोरम नेपालले शितलहरुको सन्दर्भमा दुईटा विज्ञप्ति जारी गरे । तराई मधेश प्रदेशको तर्फबाट मुख्य सचिव शम्भु झाले विज्ञप्ति जारी गर्नुभयो भने अर्को सप्तरीका नेता एवं केन्द्रीय  सदस्य शैलेन्द्र साहको तर्फबाट पनि अर्को विज्ञप्ति आयो ।

दुइटै विज्ञप्तिको आशय एउटै भएपनि एउटै पार्टी त्यसमा पनि एउटै प्रदेश, त्यसमा पनि एउटै जिल्लाका यी दुईजनाले किन छुट्टा छुट्टै विज्ञप्ति ल्याए, त्यो आफ्नै ठाउँको कुरा हो । तर के मधेशवादी दलहरुले जनताको सरोकारका विषयामा विज्ञप्ति निकालेर मात्र पन्छिन मिल्छ त । विज्ञप्ति जारी गर्नुभन्दा पहिले शितलहरबाट प्रभावित जनताका लागि ती दलहरुले के गरे त्यो पनि हेर्नुपर्ने हुन्छ ।

जनताको सुरक्षा र रक्षा गर्नु राज्यको दायित्व हो । बिडम्बना त्यसका लागि विज्ञप्ति जारी गरेर सम्झाउनु परेको छ । के मधेशवादी दल यो देशको राज्य होइन । सप्तरीमा शितलहरबाट तीनजनाको मृत्यु भयो भनि विज्ञप्तिमा उल्लेख छ तर शितलहरबाट प्रभावित केही गरेको वा राहत दिएको कुरा कति उल्लेख छैन ।

यो फोरम नेपालको समस्या मात्र होइन । दर्जनभन्दा बढी मधेशवादी दलहरु छन् । भोट लिने जनतामा जाने, सदस्यता वितरण गर्न जनतामा जाने, निर्वाचनको अभियान लिएर जनतामा जाने तर दाउरा लिएर किन नजाने, कम्बल लिएर जनतामा किन नजाने, लुगा लिएर किन नजाने ? हामी सबैलाई थाह छ । नेपालका शासक यस्तै हुन् ।

 मधेश र मधेशीप्रति विभेद नगरेको भए आज मधेशको अवस्था यस्तो हुने थिएन । जाडो हुँदा मधेशमै मर्ने, गर्मी हुँदा मधेशमै मर्ने, वर्षा हुँदा मधेशमै क्षति हुने किन कतै नकतै राज्यबाट कमी कमजोरी भएकै हो ।


चिसो त हिमालमा सबभन्दा बढी हुन्छ । पहाडमा मधेशभन्दा पक्कै पनि बढी चिसो हुन्छ तर त्यहाँ जनता मरेको समाचार सुनिदैन (सुन्न पनि नपरोस्) किन । यो गम्भीर कुरा हो । मधेशमा अभाव र गरीबी छ भने होइन । त्यहाँ कमी छ भने शिक्षा, चेतना र स्वास्थ्यको कमी छ । मधेशी नेताहरु राजनीतिकका लागि मात्र राजनीतिक गर्छ ।

आजसम्म मधेशको विकासको एजेण्डामा राजनीतिक गरेन । चुनावी नारालाई विकासको एजेण्डा बनाएनन् । चुनावको समयमा ह्याण्ड पाइप जडान गरि दिने । मन्दिर बनाई दिने । घर टहरा बनाई दिने । सारी, धोती बाँड दिने त्यति हो । गर्मीमा मधेशी जनता किन लु लागेर मर्छन्, चिसोमा किन कठ्याग्रिएर मर्छन्, वर्षातमा किन धनजनतको क्षति ब्यहोर्नु पर्छ लगायतका बारेमा गम्भीर भएर सोचेको आजसम्म हामीले कहिल्यै पाएका छैनौ ।

संघीयता, समावेशी समानुपातिक, धर्म निरपेक्षता लिएर मात्र के गर्नु । के यी सब प्राप्त भयो भने मधेशमा जाडोबाट मर्दैन त । गर्मीमा लु लागेर मर्दैन त । वर्षातमा बाढी आउँदैन त । मधेशमा शिक्षा, स्वास्थ्य, चेतनाको कमी हुनुमा राज्य जति दोषी छन् त्यति नै दोषी त्यहाँका राजनीतिक दलहरु छन् ।

खासगरि मधेशवादी दल बढी दोषी देखिन्छन् किनभने उनीहरु मधेशमा असली स्टेक होल्डर आफूलाई भन्छन् । मधेशमाथि दावी गर्दै हिड्छन् । भोकमरी र अभाव कर्णालीमा पनि छन् । रुकुम, रोल्पामा पनि छन् तर उतातिर कहाँ यस्ता समाचारहरु पढ्न र सुन्न पाइन्छ । त्यसैले राज्य त गम्भीर हुनु नै पर्ने हो त्यसमा मधेशवादी दल झन गम्भीर हुनुपर्छ । मधेशी जनताको ज्यानभन्दा ठूलो प्रदेशको सिमांकन होइन ।  

संघीयता सिमांकनका लागि कार्यकर्तालाई जसरी सडकमा ओरालेर आन्दोलन गर्छन् त्यसरी नै अहिले त्यही कार्यकर्तालाई परिचालन गरेर मधेशका विभन्न ठाउँ वा शहरका विभिन्न ठाउँमा दाउरा बाल्ने काम गर्दा पनि हुन्छ । चन्दा संकलन गरेर लुगााफाटा किनेर बाँड्न सकिन्छ । जुन रकम चुनावमा खर्च गर्ने भनि राखेका छन् त्यही रकममध्ये केही मात्र अहिलेको जाडोमा खर्च गरेपनि हुन्छ ।

यी दलाक नेताहरु त्यस्तो गर्दैनन् । उ राज्यलाई दोषी देखाएर मात्र बस्छन् । राज्यले यो गर्दिएन त्यो गर्दिएन भनि विज्ञप्ति जारी गरेर बस्छन् । पहिला आफै गरौं, आफैबाट शुरुवात गरौं अनि राज्यलाई औला देखाउ नत्र राज्यका शासक र तपाईमा के फरक रहन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..