» » लक्ष्मणलाल कर्णले भन्नुभयो, एमालेले संशोधन प्रस्तावको विरोध गर्नु प्रतिगामी विरोध हो


काठमाडौ मंसिर २६ गते । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अहिलेको सांशोधन प्रस्ताव परिमार्जन सहित आयो भने यसलाई पारित गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

जनतालाई अधिकार दिने कुरामा एमालेले विरोध  गर्नु गलत भएको आरोप लगाउँदै उहाँले संशोधन प्रस्तावको विरोधमा एमालेले आन्दोलन गर्नु प्रतिगामी कदम भएको टिप्पणी गर्नुभयो ।

उहाँले अघि थप्नुभयो, ‘संशोधन प्रस्ताव दर्ता भए लगत्तै आन्दोलन गर्नु गलत हो, प्रस्ताव टेबल नै भएको छैन, अनि संसद अवरुद्ध गर्नु यो त लोकतान्त्रिक चरित्र र मुल्य र मान्यता विरोधी हो ।’

उहाँले अहिलेको संशोधन प्रस्ताव त एमालेकै अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको प्रस्ताव भएको बताउँदै भन्नुभयो, ‘सिमांकनको प्रस्ताव तत्कालिन काँग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेको प्रस्ताव नै हो, अहिले त खाली नवलपरासी केही पहाडहरु परिमार्जन भएका छन्, बरु उहाँहरुले नवलपरासी किन टुक्रा गरियो भनेर गर्नुपर्ने हो नि ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुविर महासेठले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गर्नुभयो । महासेठले भन्नुभयो, ‘भित्री रुपमा काँग्रेस र माओवादी केन्द्र स्वयमले पनि यो प्रस्ताव पास गर्न चाहेको छैन् ।’

उहाँले तत्काललाई संशोधन प्रस्तावलाई स्थगित गरेर दलहरुवीचको व्यापक सहमतिका माध्यमबाट संसदमा रहेका अन्य विषयहरु महाअभियोगको प्रस्ताव, निर्वाचनसम्बन्धीका ऐन तथा कानूनहरु पारित गर्ने लगायतमा केन्द्रित भएर अघि बढे संसद भोलिदेखि नै सूचारु हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधान कार्यान्वयन हुन नदिनको लागि षड्यन्त्र गरेर संविधान संशोधनरुपी प्रस्ताव ल्याईएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘यो संशोधन प्रस्ताव कुनै हालतमा जनताको हितमा छैन, प्रस्ताव ठिक छैन ।’ उहाँले प्रस्ताव ठिक भएको भए त्यसको पक्षमा अहिलेसम्म कहाँ कहाँ आन्दोलन भइरहेको छ भनेर प्रश्न समेत गर्नुभयो । उहाँले प्रस्ताव स्वयम् मधेशी जनताहरुको पनि हितमा नरहेको आरोप लगाउनुभयो ।

उहाँले अहिलेको संशोधन प्रस्ताव अनुसार नागिरकताको प्रावधान रहे मधेशका रैथानेहरु विस्थापित हुने समेत चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘जन्मसिद्ध नागरिकता लिनेका छोराछोरीहरुलाई नागरिकता लिनको लागि अहिलेपनि समस्या छ, त्यतातिर कसैको ध्यान नजाने, अनि अंगिकृतमा किन बढि मोह ?’

उहाँले आफ्नो पार्टी जहिलेपनि जनताको हितमा रहेको उल्लेख गर्दै भने, ‘यदि यो प्रस्ताव केपी ओलीले हस्ताक्षर गरेकै हो नि भनेर प्रश्न गरिन्छ भने किन जस्तातस्तै प्रस्ताव आएन ?’ उहाँले सहमतिबाटै प्रस्ताव स्थगित गर्नुपर्नेमा जोड दिनुभयो ।

महासेठले संशोधन प्रस्ताव परिमार्जन नभएपनि मधेशी मोर्चा अन्तिममा प्रस्तावको पक्षमा जाने आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘फेस सेभिङ्को लागि मोर्चाका नेताहरुले यो कुरा गरिरहनु भएको छ ।’


सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्ध अवरुद्ध गरिरहन नहुने धारणा राख्नुभएको छ ।

नेता रिजालले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भयो भन्दैमा यसको विरोधमा संसद नै अवरुद्ध गर्नु गलत भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कसैलाई मन पर्दैन भने संशोधन प्रस्तावबारे पनि संशोधन गर्न सकिन्छ, संसद अवरुद्ध गरेर के हुन्छ ? यो त राम्रो होईन ।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले संशोधन प्रस्तावलाई लिएर एमालेले संसद अवरुद्ध गरिरहनु आवश्यक नभएको टिप्पणी गर्नुभयो । उहाँले अघि भन्नुभयो, ‘हिजो एमालेका अध्यक्षले नै संसद अवरुद्ध गर्न जरुरी छैन भन्नुभएको थियो, आज उहाँहरुले किन गर्नु भइरहेको छ म सोध्न चाहन्छु ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..