» » महेन्द्रराय यादवले भन्नुभयो, हामीले अंगीकृतलाई संवैधानिक प्रमुख बनाउनुपर्छ भनेकै छैन


काठमाडौं, मंसिर २ गते । मधेशी मोर्चाका नेता एवम् तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाको नभएको प्रष्ट पार्नुभएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले नेता यादवले अंगीकृत नागरिकलाई देशको कार्यकारी प्रमुख, सुरक्षा अंगको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाले गर्यो भनेर अफवाह फैलाईएको बताएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो हाम्रो माग होईन, हामीले भनेका पनि छैनौं, हुनुपनि हुँदैन्, कसेले के भनेको छ हामीलाई थाहा छैन, हामी अंगीकृत नागरिकलाई देशको कुनै पनि महत्वपूर्ण पदमा पुर्याउने पक्षमा छैनौं, मधेशी मोर्चा त्यसको पक्षमा कहिल्यैपनि छैन् ।’

मधेशको आन्दोलनलाई कमजोर पार्न र एकतालाई तोड्नका लागि यो अफवाह फैलाईएको र यो आफूहरुलाई मान्य नहुने उहाँले बताउनुभयो । उहाँले यस्तो अफवाह फैलाएर मधेशीलाई बद्नाम गराउन षड्यन्त्र गरिएको समेत आरोप लगाउनुभयो ।
यद्धपी उहाँले अन्तरिम संविधान अनुसार नै नागरिकताको विवाद सम्बोधन हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले संविधान संशोधन अनिवार्य आवश्यकत्ता रहेको उल्लेख गर्दै आफूहरुले अघि सारेको २६ बुँदे मागको आधारमा संशोधन हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले प्रदेशको सिमांकनको विवाद समाधानको लागि अहिले विभिन्न तर्क तथा विकल्पहरु अघि सारिएकोप्रति टिप्पणी गर्दै भन्नुभयो, ‘यदि झापा, मोरङ् र सुनसरी, कैलाली र कञ्चनपुरलाई मधेश प्रदेशमा राखौं भन्दा जनमत संग्रह हुनुपर्छ भनेर माग गर्ने हो भने, अहिलेको ७ प्रदेश र हामीले माँग गरेको १० प्रदेशमा पनि जनमतसंग्रह हुनुवर्छ ।’

उहाँले आफूहरुले भूमि र पहिचानको लागि संघर्ष गरेको भन्दै आफूहरुले भनेजस्तै गरि संविधान संशोधनमार्फत मागहरु पूरा हुनुपर्ने जिकिर गर्नुभयो । अध्यक्ष यादवले गठबन्धनले दिएको १५ दिने म्यादभित्रपनि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी पनि दिनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दल एमालेलाई देखाएर सत्तारुढ दलले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउन ढिलासुस्ती गरेको आरोप लगाउँदै एमालेलाई कुर्नुपर्दैन, एमाले जिम्मेवार पार्टी हो, एमाले सहमतिमा आउँछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं, समस्या काँग्रेसभित्र छ, काँग्रेस अलमलमा छ ।’

उहाँले विगतमा धेरै पटक उधारोमा सम्झौता भएकोले ती सम्झौताहरु कार्यान्वयन नभएकोले यसपटक तीन बुँदे सम्झौता पूरा गराएरै छोड्ने स्पष्ट पार्नुभयो ।
सत्तारुढ दल नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सुरले असन्तुष्टहरुको मागलाई सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने भएकोले सबै दलहरु यसमा सहमत हुनुपर्ने बताउनुभयो ।

नेता मन्सुरले संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल एमालेले औचित्य मागेको उल्लेख गर्दै केपी ओलीले आँफैले यसअघि दुई वटा संशोधन गर्नुभएको थियो, त्यसैले यो संविधानमा त्रुटि छैन, कमिकमजोरी छैन भनेर औचित्य माँग्नुको कुनै अर्थ नरहेको टिप्पणी गनुृभयो ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रदेशको सिमांकनको विवाद समाधान गर्नको लागि ८ प्रदेश बनाएर भएपनि अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले सिमांकनको विषयमा मधेशी र थारु जनताहरुमा अझैपनि आशंका रहेको उल्लेख गर्दै ती विषयहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर अहिले छलफल भैरहेको जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रेवती रमण भण्डारीले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको बताउँदै संविधान संशोधनको लागि औचित्य र आधार पुष्टि हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले झापा, मोरङ् र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउने माग त्यहाँका जनताको माग नभएको बताउँदै भन्नुभयोे, ‘यो त्यहाँको जनताको माग होईन, दुई नम्बर प्रदेशमा मिसिनुपर्छ भन्ने त्यहाँ कुनै जनताको आवाज छैन ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..