» » एमालेले समर्थन नगरेपनि सविधान सशोधन प्रस्ताव अगाडी बढाउन काँग्रेसलाई सुझाव


काठमाडौं मंसिर २ गते । सत्तारुढ दल नेपाली कांग्रेस र संघीय गठबन्धनबीच सविधान संशोधनको विषयमा हिजो बृहत् छलफल भयो ।
नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, शान्ति मन्त्री सीतादेवी लगायतको उपस्थिति थियो ।

त्यस्तै, गठबन्धनबाट संयोजक उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, लिम्बूवान पार्टीका कुमार लिङ्देन मिराक, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु लगायत दर्जन बढी नेताहरुको सहभागिता थियो ।
छलफलपछि संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सविधान संशोधनको प्रकृया चाँडै अगाडि बढाउन कांग्रेसलाई आग्रह गरेको बताएका छन् ।

 संशोधनको भाका सार्ने काम अति नै भएको भन्दै संयोजक यादवले कुनै पनि बहानामा संशोधन प्रक्रियामा भएको ढिलाई आफूहरुलाई स्वीकार्य नभएको बताए ।
यसैगरी, गठवन्धनले प्रमुख विपक्षी एमालेसँग सहमति गर्ने नाममा संविधान संशोधन विधेयक नरोक्न समेत कांग्रेसलाई आग्रह गरेको छलफलमा सहभागी गृहमन्त्री विमलेन्द्र विधिले बताएका छन् ।

 तीनबुँदे सहमति अनुसार संविधान संशोधन विधेयक दर्ता नभएकोप्रति असन्तुष्टि जाहेर गर्दै गठबन्धनले संशोधन दर्ताका लागि एमालेलाई नपर्खिन सुझाव दिएको निधिले बताए ।

एमालेसँग सहमति खोज्ने नाममा सरकारले संशोधनमा आलटाल गरेको गठबन्धनको आरोप छ ।
 संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै फोरम नेपालका वरिष्ठ नेता अशोक राईले भन्नुभयो, ‘संशोधन प्रस्ताव संसद्मा दर्ताको लागि एमालेलाई पर्खिनु आवश्यक छैन, संशोधन विधेयक दर्ता गरेपछि सहमति खोज्न सकिन्छ ।’

संविधान संसोधनका सम्बन्धमा कांग्रेस सभापतिले भोलिदेखि नै सबै समस्या समाधान गर्ने गरी पहल गर्ने आश्वासन कांग्रेसले दिएको राईले बताउनुभयो ।
तमसपाका अध्यक्ष महेन्द्र राय यादवले एमाले मधेस विरोधी पार्टी भएको भन्दै काठमाडौंमा संविधान संशोधन हुन्न भन्ने तर जनकपुर पुगेर संशोधनको पक्षमा छौं भनेकोले एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो ।

गठवन्धनका नेताहरुले संविधान संशोधन नहुँदासम्म स्थानीय चुनाव हुन नसक्ने बारे समेत कांग्रेसलाई अवगत गराएका छन् । स्थानीय निकाय पुनर्संरचनाका नाममा सरकार र प्रमुख दलहरुले द्वन्द्व बढाउने काम मात्र गरेको भन्दै दलीय सहमति नजुट्दासम्म यसलाई रोक्न कांग्रेसलाई सचेत गराएका हुन् ।

छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले संविधान संशोधन नभएसम्म कार्यान्वयनमा जान नसक्नेमा कांग्रेस प्रष्ट रहेको बताउनुभयो ।
देउवाले तीन बुँदे सहमति अनुसार चाडै नै संविधान संशोधन विधेयक दर्ता हुने आश्वासन दिनुभएको छ । कांग्रेस सभापति देउवाले छलफललाई बृहत् बनाएर गठबन्धनले दिएको १५ दिने समय सीमाभित्रै संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने आश्वासन दिनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..