» » जलपक्षीका लागि प्रख्यात ताल पुरिँदै


कञ्चनपुर, कात्तिक २९ गते । एकै साथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने कञ्चनपुरको बेलौरी नगरपालिका–४ मा रहेको बन्दाताल संरक्षणको अभावमा पुरिँदै जान थालेको छ ।

संरक्षण संवद्र्धनको अभावमा ५० बिगाहा क्षेत्रफलमा फैलिएको ताल पुरिएर २६ बिगाहा क्षेत्रफलमा सीमित भएको छ । एकै साथ दर्जनौँ प्रजातिका जलपक्षी हेर्न सकिने ताल पुरिनबाट जोगाउनका लागि भरपर्दो व्यवस्था नहुँदा बर्सेनि क्षेत्रफल घट्दै जान थालेको पूर्व गाविस उपाध्यक्ष तिलक भट्टले बताउनुभयो ।

ताल जोगाउनका लागि उत्तरी क्षेत्रमा ग्रिनबेल्ट बनाउने प्रयास गरिएको र माटो रोकथाम गर्न ७०० मिटर जति माटोको छेकबार निर्माण गरिए पनि पर्याप्त नभएको उहाँले बताउनुभयो ।

वर्षात्मा बगेर आउने माटो रोक्नका लागि भरपर्दो छेकबार निर्माण गरे मात्रै ताललाई जोगाउन सकिन्छ उहाँले भन्नुभयो, “ताल पुरिनबाट नजोगाउने हो भने एक दशकमै ताल लोप हुन्छ ।”
तालमा जलकुम्भी, बेसरमलगायतका झारपातले समेत पुर्दै लगेको छ ।

वर्षातका बेला तालमा बढी पानी भए नजिकको बस्तीका ३० बढी घर डुबानमा पर्ने र बालुवाले खेतीयोग्य जग्गा पुर्ने कार्य हुँदै आएकाले तालमा छेकबारका लागि सम्बन्धित निकायले चासो देखाउनु पर्ने अमर रानाले बताउनुभयो ।

तालको उत्तरी क्षेत्रमा जङ्गल र अन्य क्षेत्रमा बस्तीले घेरिएको गोलो घेरामा बन्द आकृतिमा रहेकाले यस तालको नाम बन्दाताल रहन गएको यहाँका बूढापाका बताउँछन् ।

बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत अजुर्नसिंह कार्की नगरभित्रका तालतलैया संरक्षणका लागि नगरपालिकाले जगेडा कोषअन्तर्गत १० लाख रुपियाँ बजेट विनियोजन गरेको बताउनु हुन्छ ।

तालको मनोरम दृश्य नियाल्न, दर्जनौँ प्रजातिका माछा र जलपक्षीको क्रिडा हेर्न आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो लाग्ने गरेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरभन्दा झन्डै ६० किलोमिटर र कैलाली सदरमुकाम पश्चिम झन्डै २० किलोमिटरको दूरीमा यो ताल पर्दछ ।

तालसम्म पुग्नका लागि कच्ची र धुलाम्मे सडका कारण ताल नियाल्न आउने आन्तरिक पर्यटकले सास्ती खेप्नुपरेको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..