» » भारु पाँचसय र एकहजारको नोट व्यवस्थापन गर्न प्रचण्डलाई ध्यानाकर्षण


काठमाडौँ, कात्तिक २९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली जनतासँग रहेको एक हजार र ५०० दरका भारतीय नोटको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेको उद्योगीको प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सर्वसाधारण, उद्योगी तथा व्यापारीसँग भएका उक्त दरका नोटको व्यवस्थापन गर्न आग्रह गरेको हो ।

भारत सरकारले प्रतिबन्ध लगाएका हजार र ५०० दरका नोटबारे सर्वसाधारण नेपाली तथा उद्योगीमा अन्योल बढेसँगै महासङ्घले सरकारसँग कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न अनुरोध गरेको वरिष्ठ उपाध्यक्ष राणाले बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री दाहालले केही दिनभित्र जनस्तर र व्यापारीमा पर्न गएको समस्याबारे कूटनीतिक माध्यमबाटै समस्या समाधान गर्न प्रयत्न गरिने विश्वास दिलाउनुभएको थियो ।

भारतमा ती दरका नोट सहज रुपमा सटहीमा प्रतिबन्ध लागेसँगै नेपाल राष्ट्र बैंकले पनि निर्देशन जारी गरी बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको छ ।

राष्ट्र बैंकले नेपालको बैंकिङ प्रणालीमा रहेको तीन करोडभन्दा बढी भारुका विषयमा भारतीय केन्द्रीय बैंकलाई पत्राचार गरिसकेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहन गर्न भारु ५०० र एक हजारका नोटमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..