धनवीर महतो
महोत्तरी, कार्तिक ३० गते । महोत्तरीको पशुपतिनगर–४ का ६७ वर्षीय बहादुर महतो र उहाँकी श्रीमती ६३ वर्षीया मनतोरिया अनि यी दुई दम्पत्तिका एक मात्र छोरा ३८ वर्षीय दुःखी महतो धेरै ठूलो दुःख र पीडाले छ्पटाइरहनु भएको छ ।
समस्यै समस्याको चाङले यी तीनजनाको परिवार थिचिएको छ । बहादुर महतो पाँच वर्षदेखि दृष्टिविहीन हुनुहुन्छ । नाम बहादुर भए पनि नियतिले उहाँलाई अहिले जीवन निर्वाहका लागि अरुमा निर्भर हुन बाध्य बनाइ दिएको छ ।
उहाँको हरेक दिन कोही सहयोग गर्न आउँनेछ भन्ने आशामा बित्ने गरेको छ । पिसाबसम्बन्धी रोगले पनि पीडित रहनु भएका उहाँसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो, ‘के गर्ने, आँखा देख्दिन । बाँचे पनि मरेको झै लाग्छ मलाई ।’
एक त दृष्टिविहिन त्यसमाथि पिसाबसम्बन्धी रोगी बहादुर रेखदेख गर्ने श्रीमती मनतोरीया घरव्यवहारले बाहिर गएको बेला ओछ्यानमै दिसा पिसाब गर्न बाध्य हुन्छन् । बहादुरको एक मात्र छोरा दुःखी महतो जन्मजात अपांङ्ग अनि लाटो छ । दुःखीको पालन पोषण गर्दै आएका बहादुर विगत् पाँच वर्षदेखि अन्धो भएपछि छोरो दुःखीको जीवन दुखमय भएको छ ।
बहादुरकी ६३ वर्षीया श्रीमती मनतोरीया देवी कोइरी (महतो) एक्लैले श्रीमान् र छोरालाई गाउँघरमा भाँडा मस्काएर, चुलोचौका, घाँसदाउरा र गोठको गोबर सोहोरेर छोरा र श्रीमानलाई पाल्दै आउनु भएको छ । पति र छोराको जीवन बचाइराख्ने मनतोरिया स्वयं पनि विरामी हुनुहुन्छ । उहाँ दमा– श्वासप्रश्वाससम्बन्धी रोगले पीडित हुनुहुन्छ ।
बडो दुःखले सकिनसकि छरछिमेककोमा काम गरेवापत पाएको पारिश्रमिकले पति र छोराको भरणपोषण गरिरहनु भएको छ । जुनदिन मनतोरीयालाई दमाले हैरान गर्दा काममा नजाँदा त्यो दिन पति र छोरो भोकै बस्नुपर्छ । भैंसी गोठ भनौं, चाहे भान्साघर भनौं, चाहे सुत्ने घर भनौं एउटा सानो जीर्ण अवस्थाको ढोकाबिनाको झुपडी छ उहाँहरुको ।
‘पानी पर्दा घरको छानो चुहिन्छ, घाम लाग्दा प्रकाश भित्रै छिर्छ ।’ मनतोरियाले आफ्नो दुखको बेदना सुनाउँदै भन्नुभयो, ‘नसोध्नुस् बाबु, घरको टाटी पानीले खत्म बनाइसकियो । सर्प, विच्छी ओछ्यानभमै पुग्छ ।’ राती कुकुर बिरालो पनि संगै सुतेको विहान उठ्दा थाहा हुने र झस्किने गरेको बताउँदै मनतोरियाले याचना गर्दै भन्नुभयो, ‘बाबु कसैले घर बनाइदिए हुन्थ्यो । खान मागेर पनि खाइहाल्छु । ओत लाग्ने ठाउँ त चाहियो नि घरमा ढोका नहुँदा केही दिन पहिले श्रीमान्को आँखाको उपचारको लागि एक एक सिक्का जम्मा गरेर राखेको १२ हजार चोरी भएको मनतोरीले भकाँनिदै टाउकोमा हात राखेर भन्नुभयो, ‘भगवान् पनि कहाँ गयो ? हामी जस्ता गरिबको रुपैंया चोरी गर्नेलाई कठोर सजाई किन नदिएको सुरक्षाका लागि नागरिकता, मतदाता परिचयपत्र, भएको रुपैयाँपैसा घरभित्रै माटोमुनि गाडेर राख्न बाध्य छन् मनतोरिया ।
घरमा गाडेको अवस्थामा रहेको नागरिकता र मतदाता परिचय खनेर देखाउँदै उहाँले संचारकर्मीसंग भन्नुभयो, ‘यी हेर्नुस् पत्रकार बाबु, चोरको डरले घरमा भएको कागज र केही रुपैंया पैसा जमिन मुनि गाडेर राख्छु ।’
सम्पतीको नाममा एउटा भैंसी, दुई वटा पाडापाडी र एउटा सानो खरले छाएको झुपडी भन्दा अरु केही छैन मनतोरीयाको परिवारसंग ।
बोल्दा बोल्दै रुघा खोकीले ग्रस्ति मनतोरीया खोकी गर्दै भन्नुभयो, ‘हामीसँग पैसा छैन के गरी उपचार गराउँ ।’ गोठमै सुत्ने गरेका दृष्टिविहिन बहादुर भन्नुहुन्छ, ‘बाबु, राती सुतेको बेला भैंसीले जीउमै गोबराई दिन्छ पिसाब गरिदिन्छ । लुगा भिजाई दिन्छ ।’ उहाँले आफूहरुलाई बस्ने राम्रो घर बनाइदिन मानवसेवामा लाग्ने सबैसँग अनुरोध गर्नुभएको छ ।
६ वर्ष पहिले मनतोरीयाले गाउँकै साँहुसँग लिएको १३ हजार ऋण तिर्न नसक्दा उहाँको ६ कठ्ठा खेतियोग्य जमिन साहुले आफ्नो बनाएपछि उहाँको पीडा झन बल्झिदै गएको छ । स्थानीय अमृतकुमार महतो भन्नुहुन्छ, ‘साहुको नाममा रजिष्टेसन पास गरेर « घर खर्च चलाउन मनतोरीयाले साहुसँग सैकडा तीनका दरले ऋण लिएकी थिइन् । केही वर्षपछिको अन्तरालमा त्यो ऋण साँवा र ब्याज गरी ५० हजार पुग्यो । मनतोरीयाले साहुलाई ५० हजारमध्ये २० हजार दिन जाँदा साहुले सबै रकम एक मुष्ठ चाहियो भन्दै लिन मानेनन् । मनतोरीया विरामी हुदाँ पैसा तिर्न सकेनन् । पछि ऋणमै मनतोरीयाको जग्गा साहुले मिनहा गरि आफ्नो बनायो ।’
मनतोरीयाले छोरा दुःखीले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता पनि घरपरिवार चलाउन झिनो आधार दिएको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जसलाई ममता लाग्छ उनीहरुले नै खानेकुरा र लुगाहरु हामीलाई दिन्छन् ।’ सबै कुराको अभावै अभावमा मनतोरीयाका परिवारले गुजारा चलाउन बाध्य छन् ।
न खानेपानी, न बिजुलीबत्ती, न शौचालय, न अन्नपात, न औषधीमूलो गर्ने रुपैंयाँ, न लताकपडा हाल्ने सामर्थ, न सहारा दिने कोही, उल्टै ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरुलाई टाठाबाठाहरुले घर छोड्न दवाब दिइरहेका छन् । जन्मदा खालि हात आयौं, यो संसारबाट विदा लिदा खालि हात नै जान्छौं । यहाँबाट बोकेर लानु केही छैन । कसैले मर्ने बेलामा कमाएको सम्पत्ति लान पनि सकेका छैन । त्यसैले मानव भएर यस्ता वृद्धवृद्धाहरुको मानवको हितका निम्ति सोंच्नु पर्ने पशुपतिनगरका नागरिक समाजका अगुवा भिमबहादुर आले मगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मन्दिरमा राखिएको निर्जीव पथ्थरको अगाडी लम्पसार परेर केही पाइने बाला छैन । त्यसैले पीडाबाट छट्पटाइरहेका, सहारा खोजिरहेका भगवान् रुपी सजीव मानवको जीवन बचाउन हात बढाउन सबैले अग्रसरता लिनुपर्छ, साँचो धर्म यही हो ।’
मानवसेवा मानिसको अन्तिम इच्छा हो । त्यसैले मानव सेवामा सबै जना आ–आफ्नौ ठाउँबाट जुटौं र यी वृद्धवृद्धाको घर पूर्ण निर्माण गर्न, बहादुर महतोको आँखा र पिसाब सम्बन्धी रोगको उपचारमा सहयोग गरौं । दुःखी र बहादुरलाई हेरचाह गर्ने मनतोरीयाको पनि दमाको विमारीको उपचारका लागि सहयोग जुटाइदिन सर्वसाधारण सबैमा आग्रह गरिन्छ ।
No comments: