» » भैरव फिल्ममार्फत मधेशको चित्रण भएको छ यसमा मलाई गर्व छ

–कलाकार, मुरलीधर
सस्ता जिनगी महग सिनुर मैथिली फिल्म तराई मधेशमा निकै चर्चित रह्यो । सिनेमा हलहरुमा बैलगाडा चढेर त्यो फिल्म हेर्न जानेको लर्को हुन्थ्यो । त्यही फिल्मबाट चर्चित बनायो कलाकार सिरहा औरही निवासी मुरली धरलाई । हुन त त्यसअघि पनि उहाँले नेपाली तथा मैथिली गीतहरु गाउनु भएको थियो । नेपाली फिल्ममा अभिनय पनि गर्नुभएको थियो तर सस्ता जिनगी महग सिनुरले जसरी उहाँलाई स्थापित गरे त्यसरी नै हालैसालै आएको नेपाली फिल्म भैरवले उहाँको आलोचना पनि भइरहेको छ । तर उहाँले भन्नुहुन्छ, मधेशको यथार्थ फिल्म हो भैरव । दशैं मनाउन आफ्नै गाउँ आउनु भएका मुरलीसँग सहारा टाइम्सका लागि गरिएको कुराकानीको मुख्य अंशः

मधेशको कथावस्तुमा निर्माण भएको नेपाली फिल्म भैरवमा तपाईले खलनायकको रुपमा मधेशलाई होच्याउने काम गर्नुभएको आरोप छ, के भन्नुहुन्छ ?
–तपाईले त्यो फिल्म हेर्नु भएको छ, यदि हेर्नु भएको छैन भने एकपटक अवश्य हेर्नुस् । मलाई लाग्छ, तपाईले त्यो फिल्म हेरेपछि यस्तो प्रश्न गर्नुहुन्न थियो होला । मलाई लाग्छ, जसले यो भैरव फिल्म हेरेको छैन, त्यसले मात्र यसको आलोचना गरिरहेको छ । यदि कसैले राम्रोसँग यो फिल्म हेरेको छ भने त्यसले आलोचना गर्दैनन् । भैरव फिल्म हेरेका कतिपय स्रोता तथा दर्शकले मलाई व्यक्तिगत फोन गरेर नभए फेसबुकमा कमेन्टस् गरेका छन् र भनेका छन् ‘दाजु यो फिल्म अलि पहिले बनेको भए मधेशमा आन्दोलन हुँदैन्थ्यो होला ।’ फिल्म भनेको समाजको ऐना हो । अर्थात मधेशको चेहरा सामुने ल्याई दिएको छ यो फिल्मले । समाजमा जे छ, त्यो देखाई दिने हो । मैले भन्ने गरेको एउटा डायलोग ‘जय मधेश, खाउ मधेश’ हो । जसले मधेशको यर्थात पिक्चर देखाएको छ । अहिलेसम्म मधेशी नेताहरुले मधेशको नाम खाइरहेको प्रतिबिम्ब हो जय ‘मधेश खाउ मधेश’ । मधेशी नेताहरुले जय मधेश भन्छन् तर मधेशलाई खाइरहेका हुन्छन् । मधेशलाई खाएर काठमाडौमा मौजमस्ती गरिरहेका छन् । मधेशका सोझा सिधा जनतालाई जेसकुै होस् । काठमाडौको ऐसआरामलाई छाडेर जान चाहदैनन् । यदि उहाँहरु मधेशको असलि नेता हो भने मधेशमा एकक्षत्र मत ल्याएर देखाइ दियोस् । अहिले हेर्नु हुन्छ भने सबै मधेशवादी दलको जोडेर पनि एउटा (माओवादी, काँग्रेस र एमाले) दल बराबरको मत आएको छैन । अनि उहाँहरुले मधेश मेरो कसरी भन्नुहुन्छ, मतदाता कसैको अनि मधेश अरु कसैको ? मधेशी जनताबाट बहुमत ल्याएर आफ्नो शक्ति निर्माण गरुन् र अधिकार लियोस् न । मधेशमा जित्न सक्दैन, त्यहाँ काठमाडौमा लड्न जान्छन् ! काठमाडौमा केही भयो भने दगुरेर दिल्ली जान्छन् । यो कस्तो पोल्टिक्स हो । मधेशी नेताले भन्छन्, मधेश हाम्रो हो, मधेश छुट्याई दिनुस् तर त्यहीका मधेशीले उनीहरुलाई जिताएर पठाउँदैन अनि कसरी भयो उनीहरुको मधेश । मलाई सम्झाई दिनुस् त । मधेश हुनका लागि त मधेशम एकक्षत्र राज्य हुनुपर्यो नि । त्यसैले यो भैरव फिल्म बनाएर मलाई कुनै पश्चाताप भएको छैन । बरु मधेशको जे अवस्था छ, त्यसलाई मैले फिल्मको मार्फत देखाएको छु, त्यसमा गर्व छ । यो फिल्म गलत हो, मधेशको राजनीतिकसँग मेल खाएको छैन कसैले भन्छन् भने ती व्यक्तिसँग म कुरा गर्न चाहन्छु । ती व्यक्तिसँग म बहस गर्न चाहन्छु ।


टिप्पणीकर्ताहरुको यो होइन धारणा होइन कि गलत हो, तर तपाई मधेशी भएर नै मधेशलाई होच्याउने खालको अभिनय गरेपछि अरु अरुले पनि हेप्छन् भनेको मात्र हो ।
–हेर्नुस म एउटा कलाकार हुँ । कलाकार समाजको गहना हो । उसको पनि समाजप्रति उत्तरदायी हुन्छ । म कलकार हुँ भने कलाकारिताबाट नै समाजलाई दिशा देखाउने हो र समाजलाई डोर्याउने हो । त्यसैले कसले के भन्छन् त्यो ठूलो कुरा होइन मेरोलागी म ठिक छु कि छैन । मेरो प्रस्तुती ठिक छ कि छैन । समाजको उद्देश्यसँग मेल खाएको छ कि छैन त्यो हेर्ने हो ।


तपाई कलाकारितामा व्यस्त रहीरहेपनि नेपालको राजनीतिक बारे अपडेट हुनुहुन्छ, भने कुरा फेसबुकबाट थाह हुन्छ । अहिलेको नेपालको राजनीतिलाई तपाईले कसरी लिनुभएको छ ?
–पोल्टिक्समा मलाई खासै इन्ट्रेस्ट छैन तैपनि तपाई जस्ता पत्रकार मित्रहरुले लेखेका कुराहरु पढेर अलि अलि जानकारी राख्ने गर्छु । मलाई लाग्छ विश्वमा अभिभावक विहिन कुनै देश हो भने त्यो हो नेपाल । यहाँ नेताहरु मोटाएका छन् भने जनता दुब्लाएका छन् । राजनीतिक गर्ने नेताहरुको अवस्था हेर्नुस्, हिजोका नेता आज कहाँ पुगि सकियो । हात्ति छाप चप्पल लगाएर आएका नेताहरुसँग आज काठमाडौमा आलिसान बङ्गलाहरु छन् । एउटा मात्र होइन, दुई दुईटा तीन तीन ठाउँमा घर छन् । छोराछोरीहरुलाई विदेशमा पढाई रहेका छन् । कहाँबाट आउँछन यति पैसा ? कुनै पनि आन्दोलन होस्, भरिभराउ मान्छे भेला गर्छन् । तडक भडक पनि त्यतिकै हुन्छ ती सबै कहाँबाट आउँछन् । त्यसको स्रोत के हो ? न ती नेताको कुनै विजनेश छ नकुनै व्यपार छ । चन्दा कति र कसरी दिन्छ त्यो कुरा मलाई पनि थाह छ । यसबाट के प्रष्ट हुन्छ भने उहाँहरुले पार्टी चलाउनका लागि कतै नकतैबाट रकम लिएका हुन्छन् । कोही नकोही त पक्कै प्रायोजक बनेका हुन्छ । मधेशकै कुरा गर्ने हो, भने सबै मधेशवादी दलका नेताहरुमा परिवर्तन आएको छ तर जनतामा कुनै परिवर्तन आएको छैन । मधेशी जनता जहाँको त्यही छ तर नेताहरु माथि माथि पुगिसक्यो । मधेशमा तीन तीन पटक आन्दोलन भयो तर मधेशी जनताले केही पाएन तर, नेताहरुको हेर्नुस् सबैले काठमाडौमा घर बनाई सके । काठमाडौमा घर नहुनेले बाहिर पनि बनाएका छन् । सबैका छोराछोरी विदेशमा पढि रहेका छन् । अनि उनीहरुले मधेशी जनताका मुक्तिका लागि लडि रहेका छौ भनि सुन्दा नेताहरुमाथि घृणा लागेर आउँछ ।

तपाईको विचारमा के हुनुपर्छ अब ? 
–म त भन्छु नेपाल जस्तो मुलुकका लागि संघीयता चाँहिदैन । नेपाल जस्तो देशका लागि निरकुँश शासन नै चाहिन्छ । गणतन्त्र आएपछि यो देश कति बर्बाद भएको छ त्यसको हिसाब किताब कसैसँग छैन । अहिले देखिएका कुनै पनि नेताहरुले देशलाई अगाडि बढाउन सक्दैन । खाली ठूला ठूला कुरा गर्छन्, काम केही गर्दैनन् । जे काम गर्छन् आफ्नो स्वार्थ अनुसार गर्छन् । जनता जाए भाँडमे । म नेपालका धेरै पत्रकारहरुलाई हेर्छु, उनीहरुले कसरी मेन्टेन गर्छन् । कलम चलाएर यत्रो मेन्टन गर्नै सक्दैनन् । म पनि अलि अलि पत्रकारिता बुझेको छु । नेपालको पत्रकारिता र मेडिया हाउसहरुको बारेमा पनि जानकारी राखेको छु । काठमाडौ यस्तो महँगो ठाउँ हो जहाँ पत्रकारलाई टिक्न निकै गाह्रो छ तर ठाटबाठले जीवन चलाइरहेका छन् । ती सबै कहाँबाट आउँछन प्रश्न यहाँ छ ।

तपाई पनि त नेपालमा जन्मेर भारतमा बस्नुभयो, यता नेपाललाई सेवा गर्नुबेला भारत गएर बस्नुभएको छ, यो आरोपको बारेमा के भन्नुहुन्छ ?
–यो आरोप हो भने हस्यास्पद आरोप हो । यस्तो अरोप लगाउने मान्छेले सायद मेरो बारेमा जानकारी राखेको छैन होला । मैले नेपालमा गरेको संघर्षको बारेमा सायद त्यो मान्छेलाई थाह छैन होला । म रेडियो नेपालमा जागिरका लागि चार चारचोटी भ्वाइस टेस्ट दिएका थिए तर फेल गरियो । नाच घरमा जागिरका लागि फर्म भरेका थिए । सबै कुरामा पास भए अन्तिममा भारतीय हो भनेर जागिर दिएन । यस्ता धेरै पीडा भोगेको छु नेपालमा । त्यतिबेला मलाई यस्तो लाग्यो नेपालमा मेरो काम छैन । राज्यले मलाई नेपालमा राख्न खोजेको छैन । मसँग भएको क्षमतालाई उपयोग गर्न चाहेका छैन । अनि मैले के गर्ने ? म भारत म्युजिक सिक्नका लागि गएका थिए । म्युजिक सिक्दै कामहरु पनि गर्न थाले । अवसरहरु आउन थाल्यो, त्यही बसे । नेपाल यस्तो देश जहाँ जे कुरामा सोर्स चाहिन्छ । जहाँ जानुस् केही गराउनु छ भने कुन पार्टीको मान्छे हो, यसको लिंक कुन नेतासँग छ आदि आदि सोच्न थाल्छन् । विना लिंकको कुनै काम हुँदैन यहाँ । तर भारतमा त्यस्तो छैन । क्षमता छ भने काम गर्न कसैले रोक्न सक्दैन । म भारतमा भएपनि मेरा आत्मा नेपालमै छ । म नेपालमा पनि काम गरिरहेको छु । मलाई मेरो लागि नेपाल नै प्यारो छ तर बाध्यताले भारतमा बसिरहेको छु ।

यसपाली दशैं मनाउन आउनु भएको हो कि कुनै विशेष कामले आउनु भएको हो ?
–नेपाल आउनका लागि कुनै विशेष काम हुनुपर्छ । यो मेरो देश हो । म जन्मे हुर्केको हुँ । मेरा सबै साथी, संगी घरपरिवार यही छ्रैन । मन लागेको बेला आइहाल्छु । यसपाली असोज १४ गते पोखरामा एउटा कार्यक्रम थियो, त्यसमा भाग लिन आएका थिए तर १५ गतेदेखि दशैं पर्यो । अब दशैं यति मनाएर भारत फर्किने सोच आयो र यतै बसे । भारतबाट आउँदा मैले सोचेको थिइन कि दशैं नेपालमै मनाउनुपर्छ तर अवस्था यस्तो भयो कि मनाउनु पर्यो । म आफ्नो गाउँ (सिरहाको औरही) मा त्यहाँका इष्ट मित्रहरुसँग रमाइलो गरि दशैं मनाए ।

कसरी मनाउनु भो त दशैं ?
–मधेशमा जसरी दशैं मनाउँछ त्यसरी नै मनाए । विराटनगरमा रहेका दाइको हातबाट टिका थपे । ठाउँ ठाउँमा लागेको मेला हेरे । आफन्त र इष्टमित्रहरुसँग भालकुसारी साटासाट गरे । मेरो जन्मस्थान सिरहाको औरही गए । त्यहाँ पुराना साथीहरुसँग भेटे । दशैं मनाए । मेरा थुप्रै पुराना साथीहरु छन् । कतिपयको त मृत्यु समेत भइसकेका छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..