» » आगलागी हुँदा लाखौँको क्षति


धनुषा, कात्तिक ६ गते । क्षिरेश्वरनाथ नगरपालिकामा गए राति एक कपडा पसलमा आगलागी हुँदा रु ८० लाखभन्दा बढी क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार क्षिनपा – ५ मुख्य बजार महेन्द्रनगरस्थित सत्यनाम वस्त्रालयमा गए राति ८ बजेदेखि भएको भीषण आगलागी स्थानीयवासी, नेपाल प्रहरी र नेपाल सेनाका जवान तथा जनकपुर उपमहानगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा करिब तीन घन्टाको प्रयासमा नियन्त्रण गरिएको थियो ।

पसलका सञ्चालक महोत्तरी, भङ्गहा– ४ प्रेमनगर निवासी रामउद्गार महतोका अनुसार आगलागीबाट करिब ८० लाख रुपियाँ बराबरको विभिन्न किसिमका कपडा, साडी, सुट र करिब ६० हजार नगद जलेर क्षति भएको छ ।

डेढ वर्षअघि मात्र सञ्चालमा ल्याइएको सो वस्त्रालयले छोटो समयमा राम्रो बजार समात्न सफल भएको बताउँदै सञ्चालक महतोले तिहार र छठ पर्वलाई ध्यानमा राखी मालसमान गोदाममा राखिएको र पसलसँगै रहेको सो गोदाम समेतमा आगो लागेको हुँदा ठूलो क्षति भएको बताउनुभयो ।

इप्रका महेन्द्रनगर इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण सिंहले घटनास्थलको प्रकृति मुचुल्का उठाई आगलागी कसरी भएको भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको बताउनुभयो । पसल सञ्चालक महतोले बाहिरबाट कसैले आगो लगाइदिएको आशङ्का व्यक्त गर्नुभयो ।
 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..