» » भलट काका र नेपालको पत्रकारिता (फरकमत)


–जिवछ यादव
असोज २८ गते शुक्रवारका दिन समाचार संकलनका लागि भन्दै लहानबाट करीब १२ किलोमिटर दक्षिणी भेगको ग्रामीण भेगमा पसेका थिए । नेपाली काँग्रेसकी प्रभावशाली नेतृ चित्रलेखा यादव प्रमुख अतिथि रहेको शुभकामना आदान प्रदान कार्यक्रम मधेश आन्दोलनको पहिलो शहिद रमेश महतो जन्मेको गाँउ मझौरामा हुँदै थियो । कार्यक्रम दई बजेतिर हुने देखेर चित्रलेखा यादवको माईती गाँउ नहरनिया नजिकै सोनवर्सा चौक पुगे । एक होटेलमा छोला कचरी (पकौडा) नास्ता खाए ।

तराई मधेशमा जताततै पाउने पान म कहिले खादिन तर त्यो दिन के झोक चढ्यो पान खाने मनसायले पान बेच्ने कठघारातिरे लम्के । कार्यक्रम स्थलतिर जानेहरु पनि त्यही पान पसलको वरिपरि उभिरहेका थिए । मेरो हातमा डायरी र कम्मरमा क्यामरा थियो ।

 त्यो देखेर उमेरले ६५ वर्षको एक वृद्ध नेतृ यादवकै माईती घर बताउने भलट यादवले एक्कासी मलाई प्रश्न तेस्र्याउनु भयो, र भन्नुभयो, बाबु तिमी पनि कार्यक्रमतिरै ।’ मैले भने, ‘हो काका ।’ त्यसपछि उहाँले तिमी के गर्छौ सोध्नुभयो । अनि मैले भने–‘काका म पत्रकार हुँ ।’ उहाँ फेरि भन्नुहुन्छ–‘पत्रकार मैले बुझिन ।’ मलाई आश्चर्य लाग्यो र  मैले उहाँको जिज्ञासा मेटाउने प्रयास गर्दै भने,–‘समाचार लेख्ने पत्रकार हो क्या काका ।’


अनि उहाँ एकछिन अकमकिएर फेरि सोध्नुभयो,–‘पत्रकार पनि यस्तै साधारण मान्छे हुन्छ त बाबु ।’ मलाई उहाँको कुरालाई गम्भीर बनायो । अब मैले नै उहाँलाई जिज्ञासा राखे–‘काका तपाईले बुझेको पत्रकार कस्तो हुन्छ त ।’ उहाँँले तत्कालै जवाफ फर्काउनु भयो, र भन्नुभयो–‘ मलाई त पत्रकार भनेको सरकारी हाकीम जस्तो, कारमा चढेर आउनेहरु हुन्छ ।’ म फेरि आश्चर्यमा परे ।

 गाउँ समाजमा पत्रकारको बारेमा यस्तो सोच बनेको छ भने अरु शहर बजारतिर कस्तो अवस्था होला । मैले अर्को जिज्ञासा राखे–‘काका तपाईले कहिल्यै पत्रकारलाई भेटनु भएको त ?’ अनि उहाँले निधार खुम्चाउँदै भन्नुभयो,–‘होईन बाबु म त आज पहिलो पटक पत्रकारसँग यसरी प्रत्यक्ष भेटेको छु । यसअघि सुनेको मात्र थिए र मैले सोचेको थिए कि पत्रकार ठूलो हाकिम जस्तो हुन्छ, कार चढेर आउँछन् । बाबु, मन्त्री देखि सके तर पत्रकारसँग पनि भेटभयो ।’


उहाँको यो धारणाले मलाई झनै गम्भीर बनायो । पत्रकारीता त शहर केन्द्रीत भएको छ । पत्रकारिता त एक क्लिकमा सिमित भएको छ । शहरमा बसेर फोनको भरमा पत्रकारिता हुन थालेपछि गाउँघरका अवस्था यस्तै हुन्छ । देशमा सञ्चारले ठूलो फड्को मार्यो भनेर राज्यले छाती फुलाउनु बेकार हो जस्तो लाग्यो । उहाँले त्यतिबेलासम्ममा यति भन्न भ्याइसके,–‘गल्ती भए माफ पाउँ हैं, मेरो बारेमा केहि नछाप्नु होला है, म त गाँउको सोझा किसान ।

काठमाण्डौबाट चित्रलेखा आएको सुनेर भाषण सुन्न आएको हुँ ।’ काका चित्रलेखा ज्यूले तपाईको गाँउमा यत्रो ठूलो विद्यालय बनाई दिनु भएको छ, पढाई लेखाई कस्तो भइरहेको छ भनि मैले जिज्ञासा राख्दा उहाँले अर्कोतिर मुन्टो फर्काएर भन्नुभयो,–‘ठिकै हो,  म जस्तोले धेरै विरोध गर्न पनि भएन, सबै मान्छे हुन् ।’


यति भनेर उहाँले ल बाबु म त हिडे तिमी पनि आउनु है भनेर त्यहाँबाट हिड्नुभयो । मैले त्यतिबेलासम्म मैले पान पनि खाएको थिइनन् ।

त्यसपछि मेरो मनमा त्यो अंकलको कुरा र नेपालको पत्रकारित झलझल्ती आउँन थाल्यो । पत्रकारहरु शहरमै रमाएरका कारणले पत्रकारहरुलाई भलट काका जस्ता किसानहरुले चिनेको छैन । समाचार शहरमा मात्र होइन, गाउँघरमा पनि पाइन्छ । ग्रामिण पत्रकारिता गर्ने परम्परा नै हराउँदै गइरहेको छ ।
पत्रकारिता पोल्टीक्सको वरिपरी घुमिरहेको छ कि कर्पोरेटको वरिपरी घुमिरहेको छ । एउटा पत्रकारलाई आज देशमा राजनीतकि गतिविधि के भइरहेको छ, कुन नेता कहाँ छन् के गर्दैछन् सबै कण्ठस्थ हुन्छ ।

आर्थिक बीटबालालाई सोध्नुभयो भने आजको शेयर कति तल, कति माथि गएको छ, बैंकमा कति कारोवार भयो लगायतका कुराहरु कण्ठस्थै हुन्छ । तर, एउटा कुनै गाउँमा सडक पुगेको छैन भने त्यो गाउँवासीको अवस्था कस्तो होला । एउटा कुनै गाउँमा खानेपानीको व्यवस्था छैन, त्यसले गर्दा गाउँलेले के कति दुख पाएका होला ।

किसानले खेतबारीमा अन्नबाली लगाएका हुन्छन् । उसको उब्जाउ हुँदैन भने उसको जिविका कसरी चलेका होला । यस्ता धेरै कुराहरु छन्, गाउँघरमा तर पत्रकारको ध्यान त्यतातिर पुगेको हुँदैन ।

कुनै ठूलो नेताको घरका कुकुर मर्दा पनि समाचार बन्छ तर एउटा किसानको भैंसी मर्छ त्यसको समाचार बन्दैन जबकि त्यो भैसीले त्यसको घरपरिवार चलिरहेका हुन्छन् । त्यो भैसी मरेपछि परिवारको अवस्था कस्तो हुने हो त्यतातिर कसैको ध्यान गएको हुँदैन ।

एउटा कुनै ठूला नेतालाई टाउको दुख्यो भने त्यो समाचार बन्छ तर गाउँमा औषधी नपाएर, उपचार नपाएर ज्यानै गएको हुन्छ तर त्यसको समाचार बन्दैन । एउटा गाउँघरका पत्रकार पनि पत्रकारीता गर्नका लागि गाउँ छाडेर शहरमा गएर डेरा लिएर बसेका हुन्छन् । यस्ता धेरै पत्रकारहरु छन् जो घरमा बसेर पनि पत्रकारिता गर्न सक्छन् । उसको गाउँ शहरबाट दुई तीन किलोमिटर पनि टाढा छैन । उनीहरुको गाउँमा बसेर पनि पत्रकारीता गर्न सकिन्थ्यो तर शहर केन्द्रीत पत्रकारीतामा रमाउन शहरमा बस्छन् ।

गाउँघरका भ्रष्टाचार, अनियमितता, चोरी, वेश्यावृतिको बारेमा पत्रकारले खासै चासो लिएको छैन । यदि चासो लिएर लेखियो भने गाउँलाई सुध्रिन टाइम लाग्दैन ।

तर एउटा गम्भीर प्रश्न यहाँ खडा हुन्छ, पत्रकारले लेखेर मात्र के गर्नु । गाउँघरका समाचार लेखेर पठाए त्यो छापिदैन ।

गाउँघरको समाचार कलेक्सन गरेर लेख्न साह्रै दुख हुन्छ । दुख गरेर लेखेको समाचार मिडिया हाउसहरु नछापेपछि पत्रकारहरु निराश भएको थुप्रै उदाहरणहरु छन् । बरु शहर केन्द्रीत चमक धमकका समाचार पठाएपछि मिडियामा राम्रो स्थान पाउँछ तर भलट काकाहरुको जस्तो समाचार पठाए भने त्यसले स्थान पाउँदैनन् । अनि शहर केन्द्रीत पत्रकारीता नहोस् ते के होस् भन्ने पनि गुनासोहरु छन् पत्रकारहरुको ।

मिडिया हाउसहरुले पत्रकारलाई जेमा खटाउँछन्, जे गर्न निर्देशन दिन्छ त्यही गर्ने हो । आखिर पत्रकार भनेको श्रमजिवी न हो । एकसमय थियो, मिडिया हाउसहरुमा गा्रमिण पत्रकारीताका लागि बिट नै छुट्याएको हुन्थ्यो तर अहिले त्यो हराइसकेको छ ।

भलट काकाको अर्को प्रश्न पनि थियो, पत्रकारको कति कमाई हुन्छ । मैले मनमनै भने, भलट काकाको प्रश्नको जवाफ त्यो दिन मात्र दिन सकिन्छ, जुनदिन यस देशका पत्रकारहरुले पनि कलम चलाएर , क्यामरा नचाएर गाँउमा कार चढने दिन आउनेछ । भलट काकाको प्रश्नको जवाफ अहिले दिन सक्दिन । पत्रकारहरुलाई जीवन निर्वाह गर्ने मात्रै होईन अन्य कर्मचारी जस्तो सम्मानित जीवन जिउन सरकारले व्यवस्था गर्नुपर्यो जसमा भलट काकाको यस्तो प्रश्न नआयोस् । म गोरखापत्र जो सरकारी पत्रिका हो त्यसमा म काम गर्छु तर मेरो तलब कति हो त्यो मलाई थाह छैन अर्थात म भन्ने अवस्थामा छैन । अरुको के हालत होला ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..