» » भारतबाट कमाई गरेर नेपाल फर्कने नेपाली भारतमा लुटिदै

बाँके, कात्तिक ७ गते । रोजगारीका लागि भारत गएका नेपालीहरु घर फर्कने बेला भारतका बिभिन्न स्थानमा लुटिने क्रम अझै रोकएको छैन ।

पछिल्लो घटनामा दाङ, पुरन्धाराका लोकबहादुर घर्तीसहित ४ जना भारतमा लुटिएका छन् ।

शिमलाबाट घर फर्किने क्रममा घर्तीलाई हरिद्वारमा अपरिचित व्यक्तिले लुटेका हुन् । बिँडीमा नशालु पदार्थ मिसाएर खुवाई बेहोस गराएर भारतीय मूलका व्यक्तिले लुटेको घर्तीले बताउनुभयो । लुटेराले एघार हजार भारतीय रुपैया र एउटा मोबाइल लगेको उहाँले जनाउनु भयो ।

नेपालगञ्ज आइपुगेका घर्तीलाई नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा उपचार गरेर घरतर्फ पठाइएको छ । घर्ती हरिद्वारमा कात्तिक ४ गते लुटिएका थिए ।

त्यस्तै, भारतमै रुकुमका राजकुमार थापा पनि लुटिएका छन् । दशैंमा घर फर्किने क्रममा थापा भारतको सहारनपुरमा लुटिएका हुन् । यात्राकै क्रममा सहारनपुरमा झरेर मदिरा पसल खोजेका थापालाई केही व्यक्तिले ‘अलि पर छ, देखाइदिन्छौं’ भनेर लगी लुटपाट गरेका थिए । थापाको साथमा रहेको २७ हजार भारतीय रुपैया लुटेर लुटेराले च्यातिएको एक हजार रुपैया दिएर छोडेको थापाले बताउनु भयो ।

त्यसैगरी, दैलेखका जनक बुढा सीमावर्ती रुपैडिहामा लुटिएका छन् । बसबाट झरेपछि ३÷४ जना युवाले बुढालाई लुटेका हुन् । बुढाको साथमा रहेको दस हजार भारतीय रुपैया लुटिएको थियो । यसअघि एक साता पहिले मात्रै रुपैडिहामै तेस्रो लिंगी भारतीयद्धारा पनि एक जना नेपाली लुटिएका थिए ।

दशैं तिहार मान्न घर फर्किने नेपालीलाई लुटिनबाट बचाउन योजनासहित ठूलो ‘फोर्स’  परिचालन गरिएको बाबजुद रुपैडिहामा बुढा लुटिएको घटना भएको हो । यद्यपि, यसपालीको दशैंमा दैनिकजसो नेपालीहरु लुटिन नदिन नेपाल प्रहरीका तर्फबाट विभिन्न उपाय अपनाइएको थियो ।

यसपालीको दशैं आसपासमा भारतबाट चारजना लुटिएका पीडित सम्पर्कमा आएको प्रहरीले जनाएको छ । ‘अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान’ बारम्बार अनुरोध गर्ने र रुपैडिहामा कसैले दुःख दियो कि दिएन भनेर नेपाल प्रहरीले नाकामा विशेष निगरानी गरेपछि यसपाली लुटपाटका घटना केही कम भएको प्रहरीको भनाई छ ।

हिन्दुुहरुको महान पर्व दशैं र तिहार मनाउन भारतबाट नेपालीहरु घर फर्किने क्रममा नेपालगञ्ज नाकाबाट मात्रै दैनिक एक देखि ५ हजार बढी फर्किने गर्दछन् । यसरी फर्किनेहरु घर पुग्दासम्म बाटोमा लुटेरादेखि मात्र नभई सीमावर्ती सुरक्षा टोलीहरु, नेपाल भित्रिने क्रममा सवारी चालकहरु, बास बस्नुपर्दा होटल सञ्चालकबाट जोगिएर गन्तव्यसम्म पुग्न निकै सकस गर्नुपर्ने घटना सामान्यसरह बनेका छन् ।

यस बर्ष बाँके प्रहरीले रुपैडिहादेखि नेपालगञ्जको बसपार्क, कोहलपुर र विभिन्न होटलहरुमा समेत सादा पोशाकका महिला र पुरुष प्रहरीहरु परिचालन गरेकोले बिगत झै लुटपाटका घट्ना हुननसकेको बाँके प्रहरी प्रमुख एसपी टेक प्रसाद राइले बताउनु भयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..