» » धुमधामका साथ तराई मधेशमा भरजुतिया (भाइटीका) मनाउँदै


मिथिलाञ्चलभर दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीक मानिएको भरजुतिया अर्थात भ्रातृद्वीतिया पर्व अाज धुमधामका साथ मनाइदैछन । सांस्कृतिक विविधताको धनी मुलुक नेपालमा एउटै पर्वलाई स्थान विशेषमा फरक नामले मनाइन्छ । तिहारको भाइटीकाका दिन  नेपालको तराई र मिथिलाञ्चलभर भरजुतीया पर्व मनाइरहेका छन् ।
मैथिल र भोजपुरी समाजमा दाजुभाइ दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको भ्रातृ द्वितीया अर्थात् भर द्वितीया शनिबार धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ मनाइएको हो ।
भाइपूजाको नामले पनि ख्यातिप्राप्त यस पर्वमा दीर्घायु, सुख र समृद्धिको कामना गर्दै दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी सम्मान व्यक्त गर्दछन् ।
पारम्परिक धर्म, संस्कृति र चाडबाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अनेक पर्वमध्ये यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको पवित्र आत्मीय सम्बन्ध उजागर गर्ने गर्दछ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने हुनाले यस पर्वलाई भाइ द्वितीया अर्थात् भर द्वितीया पर्व भनिएको हो ।
दिदीबहिनी दिन बिहानै नुहाइधुवाई गरी घरको आँगनमा पिठार (चामलको पिठो)को अर्पण बनाई त्यसमाथि सिन्दुर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पिर्कामाथि दाजुभाइलाई बसाएर दिदीबहिनीले निधारमा टीका लगाइदिने काम हुन्छ । पूजाका क्रममा दाजुभाइ दुवै हात जोडेर अञ्जलि बनाएर बस्दछन् ।
दाजुभाइले अञ्जलि बनाएको हातमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिन्डोको पूmल राखेर पवित्र जल हाल्दै धार्मिक विधि अनुरूप मन्त्रोच्चारणसहित दाजुभाइलाई तीनपटक पूजा गर्ने चलन छ ।
भाइपूजाका बेला दिदीबहिनीले मन्त्रोच्चारण गरी भाइको दीर्घायु, समृद्धि र प्रेमपूर्ण जीवनको कामना गर्दछन् ।
भाइपूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो हैसियत र दक्षअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा र दक्षिणा दिने प्रचलन छ । त्यसपछि दिदीबहिनीले पकाएको मीठो परिकार दाजुभाइले ग्रहण गर्दछन् । दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले पनि भोजन ग्रहण गर्दछन् ।
भर द्वितीया पर्व मनाउन मिथिलाञ्चलमा टाढाटाढाबाट दिदीबहिनी दाजुभाइको घरमा जाने गर्दछन् भने दाजुभाइ पनि दिदीबहिनीको घर जाने गर्दछन् ।
वयोवृद्धको मान्यताअनुसार घरबाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न भ्रातृ द्वितीयाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
अचेल मिथिलाञ्चलको कतिपय ठाउँमा भर द्वितीयालाई पहाडी संस्कृतिअनुसार भाइटीकाको नाम दिन थालेको पनि पाइन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..