» » राजधानीमा पत्रकारीता गर्ने मधेशी पत्रकारको यस्तो हुँदैछ दशैं


असोज १५ गते घटस्थापना परेसँगै दशैंको रौनक शुरु भएको छ । काठमाडौलगायत आफ्ना घरबाट टाढा बस्ने हरेक तहतप्काका व्यक्तिहरुले घर जाने योजना बनाउन शुरु गरिसकेका छन् । दशैंमा लामो विदा भएका कारणले कतिपयले यस अवधिमा कार्यहरु सम्पन्न गर्नका लागि योजना बनाएका हुन्छन् । कोही कतै घुम्न जाने योजना बनाएका हुन्छन् भने कोही यसै मौकामा आफन्तलाई भेटघाट गर्ने योजना बनाएका हुन्छन् । यसमा पत्रकारहरु पनि अछुतो छैन । डे टु डे काम गर्ने पत्रकारका लागि यो दशैं निकै महत्वपूर्ण हुन्छ । लामो विदा भएका कारणले पत्रकारहरुले पनि यस अवधिमा विभिन्न योजनाहरु बनाएका हुन्छन् । राजधानीमा बसेर पत्रकारिता गर्ने मधेशी पत्रकारहरुले कसरी मनाउँदैछन् दशैं, कस्तो छ योजनालगायतका विषयमा प्रस्तुत छ उहाँहरुसँग गरिएको कुराकानी जस्ताको त्यस्तैः


समान्य तरिकाले गाउँमै दशैं मनाउछु
अनन्त अनुराग
एबीसी टीभी
यसपालि म सप्तमीको दिन घरजाने समय मिलेको छ । प्रायः कामको शिलशिलामा काठमाडौं बस्नु पर्ने भएको हुनाले प्राय लामो छुटी नहुने भएको हुँदा यसपालि एकहप्ता जन्मथलो सप्तरीमा पुरा दशैंको समय व्यतित हुनेछन् । गाँउमा बस्नेछु, दशैंमा खानपिन त हुने नै भयो, त्योसँग लामो समयदेखि स्कूलका साथीहरु तथा गाँउका अग्रजहरु सँग भेटघाट गर्ने कार्यक्रम बनाएको छु । स्थानिय तहका राजनीतिक कार्यकर्ताहरु सँग पनि देशको परिस्थितीको बारेमा छलफल गरी देश र मधेशको बारेमा उनीहरुको मत जान्ने प्रयास गर्ने छु । नेपालको दुई शक्तीपिठ कंकालिनी भगवती र छिनमस्ता भगवती दर्शन गर्नेछु । म सामान्य तरिकाले नै दशैं मनाउँछु



मेरो दशैं काठमाडौमा
सुरेशकुमार यादव
गोरखापत्र दैनिक
दशैं आउन लाग्दा गाउँघरको याद आउन थाल्छन् । दशैंको विदामा घर गएका बेला पुराना साथीहरुसँग भेट हुन्छ । साथीहरुसँग रमाइलो हुन्छ । तर यसपाली गाउँ नजाने । दशैं विदामा यहाँ विशेष काम गर्ने योजना रहेका हुनाले यसपालीको दशैं काठमाडौमा हुने भयो । काठमाडौमा हुने साथी भाइ र आफन्तसँग दशैं मनाउने विचारमा छु । अर्को कुरा पत्रकारका लागि दशैं नतिहार । लामो विदा नै हुँदैन । विदाको बेला पनि न्युजमै चासो हुन्छ । रमाइलो गर्ने फुर्सद नै हुँदैन । हाम्रो गोरखापत्रमा तीन दिनको मात्र विदा हुन्छ । दशैं जस्तो महान पर्वमा कसरी रमाइलो हुन्छ ? सोचे जस्तो हुँदैन तैपनि सक्ने जति रमाइलो गर्ने हो ।



गाउँमा दशैं मनाउने
बिरेन्द्र केएम
कमाण्डरपोष्ट
जहिले पनि शहरमै बसाई भएका हुनाले लाइफ नै बोर जस्तो भएको छ । पेसा नै त्यस्तो हो कि कहिले काही गाउँघरतिर जान पाइन्छ तर आफ्नो सोच अनुसार बस्न पाइरहेका हुँदैन । त्यसैले यसपाली पूर्णता ग्रामिण क्षेत्रमा बस्ने र त्यहाँ दशैंको इन्जोय गर्ने । गाउँका पुराना साथीहरु भाइहरु पनि दशैं विदामा आएका हुन्छन् । उनीहरुसँग भेट्ने कुराकानी गर्ने, रमाइलो गर्ने योजना छ । गाउँको मेला हेर्ने, त्यहाँ कसरी दशैं मनाउँछन् त्यसको आनन्द लिने । गाउँ गाउँमा हुने नाचगान साँस्कृतिक प्रोग्रामहरु हेर्ने । अर्थात यसपाली विशुद्ध ठेठ ग्रामिण स्टाइलको दशैं मनाउने योजना छ ।



नाना नानीसँग काठमाडौमै मनाउने
स्नेहा झा
रेडियोकर्मी
दशैंमा प्रायः म घर जाँदिन । यसपाली जाने सोच बनाए पनि यसपाली नाना नानी (आमाका आमा बुवा) काठमाडौ आउनु भएको छ । मेरोलागि यो नै ठूलो दशैं हुने भयो । काठमाडौंमै नाना नानीसँग दशैं मनाउनेछु । अर्को कुरा अफिसमा फुलपातीबाट विदा हुन्छ । विदामा हिलकोरका लागि नाटकको स्त्रिप्ट लेख्ने योजना छ । विदामा दशैंका लागि यो गर्ने वा त्यो गर्ने केही योजना छैन । नाना नानीसँग घुम्ने र बाँकी समयमा घरमा बसेर नाटक लेख्ने योजना रहेको छ । हुन त आफ्नो गाउँ ठाउँ गएर ग्रामिण क्षेत्रका दशैं मनाउनुको आफ्नै आनन्द हुन्छ तर कहिले काही सोचे अनुसार परस्थितिले साथ दिँदैन ।



तपोवन जाने योजना
बीपी साह
हुलाकी न्युज
हरेक पटकको दशैंमा म गाउँ जान्थे तर यसपाली नजाने भइयो । दशैं आउँदा गाउँघरको सम्झाना आउँछ । जाउ जाउ लाग्छ तर यसपाली परस्थिति नै त्यस्तो बन्यो कि गाउँ जान सकिदैन । मेरो एलएलबीको परीक्षा नजिक आइसकेको छ । विदाको मौका पारेर अध्ययन गरौं भने सोच छ । अन्य बेला पढ्ने लेख्ने पनि फूर्सद हुँदैन । दैनिक रिर्पोटिगं त्यसमा पनि अनलाइनको पत्रकारितले गर्दा लाइफ पुरै बीजी हुन्छ । अन्य कुराको बारेमा सोच्ने फुर्सदै हुँदैन, परीक्षा भयो भने मात्र त्यसका लागि जसोतसो समय निकाल्न पाइन्छ नत्र पढ्नका लागि त समय कता हो कता । त्यही भएर दशैंको विदालाई सदुपयोग गरी काठमाडौमै बसेर परीक्षाको तयारी गरौं भने सोच हो मेरा । काठमाडौको दशैं कस्तो हुन्छ त्यो पनि हेर्ने मौका हुन्छ । अर्को कुरा त्यही मौका पारेर ध्यानका लागि तपोवन जाउँ कि भनि सोच बनाइ रहेको छु ।



गाउँ जान झन्झट लाग्छ
कञ्चना झा
रेडियोकर्मी
म पहिला पहिला गाउँ गएर नै दशैं मनाउँथे तर एकपटक गाउँ जाँदा बाटोमा यति झमेला भयो कि अब दशैंमा गाउँ जाने कुरा आउँदा जीउ सिरिङ हुन्छ । एकपटक घर जानका लागि विहानै ४ बजे गाडी चढ्नका लागि कलंकी पुगेका थिए तर गाडी ९ बजे मात्र आइपुग्यो । गाडीमा त्यतिकै भिड । मान्छे कोचिएर राखेको थियो । भाडा पनि दोब्बर लियो । बाटो अवधिभर भोमेटिङ भयो त्यसले गर्दा यस्तो तनाव भयो कि अहिले पनि सम्झदा डर लाग्छ । त्यो बेलादेखि दशैंमा घर जान छाडि सकेको छु । यही काठमाडौमै दशैं मनाउँछु । घरपरिवारसँग दशैं मनाउँछु । मन्दिर गएर साँझ विहान पूजा पाठ हुन्छ । यहाँका आफन्त र साथी भइसँग भेटेर दशैं मनाउँछु रमाइलै हुन्छ ।



अफिसको काम गर्ने 
रमिता यादव
रेडियो नेपाल
प्रत्येक दशैंमा घर जान्थे तर यसपाली नजाने । नजानुको दुईटा कारण छ, एक त रेडियाकर्मी भएका कारणले विदाको अभाव हुन्छ । रेडियो बन्द नहुने भएका कारणले सकभर विदा नबसि दिए हुन्छ जस्तो सोच हाकिमहरुको हुन्छ । अर्को मेरो सानो बच्चा छ । बच्चालाई लिएर जान गाह्रो हुन्छ त्यही भएर यसपाली गाउँ नगएर काठमाडौंमै दशैं मनाउने योजना छ । काठमाडौमै साथी भाइ तथा आफन्तसँग मिलेर रमाइलो गर्ने योजना छ । सधै आफ्नो गाउँ ठाउँको दशैंमा रमाइलो गर्थे, काठमाडौको दशैं कस्तो हुन्छ त्यो पनि हेर्ने मौका मिलेको छ । दशैंमा मेरो त्यस्तो खासै तडक भडक छैन सामान्य रुपमा मनाउँछु ।



विदाको सदुपयोग गर्ने
सञ्जिव साह
हिमालयनटाइम्स
दशैं भनेपछि नेपाली जनता हुरुक्कै हुने । खासगरि पहाडी समुदायका लागि दशैं नै सबैथोक हो जस्तो लाग्छ । तर, मेरो लागि दशैं खास होइन । म कुनै संस्थामा काम गर्छु भने दशैंमा मेरा लागि छुट्टी नै महत्वपूर्ण हुन्छ । केही दिनको लागि छुट्टी दिएको छ । त्यसलाई सदुपयोग गर्दै गाउँ जान्छु । गाउँमा आमा, बुवा, भाइ, बहिनी, इष्टमित्र, आफन्तहरुसँग भेटघाट हुन्छ त्यही नै मेरो दशैं हो । दशैंमा मेरो केही विशेष छैन । कुनै योजना पनि छैन । सामान्य ढंगले दशैं मनाउँछु त्यति हो । तर यसपाली घर जानुमा मेरो अर्कै उमगं छ । मेरो दाजुले छोरा प्राप्त गर्नुभएको छ । घरमा नयाँ सदस्य थपिएकोमा खुशी छु । यसौं भनौन दशैंमा मेरोलागि त्यही उपहार हो ।



केही समाजिक कार्यक्रम गर्ने
आलोक अवध
नेपाल टेलिभिजन
प्रत्येक सालको दशैं घरमै आफन्तहरुसँग मनाउने गरेको छु । यसपाली पनि आफन्तहरुसँग बसेर मनाउने छु । दशैंमा केही विशेष योजना नभएपनि केही समाजिक कार्यक्रमहरुमा सहभागि हुन्छु । कपिलवस्तु सोसाइटीको तर्फबाट त्यहाँ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना हुन्छ त्यसमा सहभागि हुन्छु । सो कार्यक्रममा विशेष व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । साथै पशुपति प्रसाद पुस्तकालयमा सोसाइटीको तर्फबाट ५० हजारको पुस्तक हस्तारण गर्ने कार्यक्रम पनि रहेको छ । त्यस आलावमा हामी कहाँ नौवमीमा विशेष मेला लाग्ने गर्छ । त्यहाँ रावणलाई जलाउने कार्यक्रम हुन्छ । त्यो कार्यक्रम निकै रमाइलो हुन्छ । साथै दशैंमा सबै घर आएका हुनाले साथीभाइहरुसँग भेटघाट पनि हुन्छ ।



मामा गाउँ जाने 
अनिल कुमार कर्ण
सञ्चारक नेपाल डट कम
म लगभग सातवर्षपछि मात्र यसपालीको दशैंमा घर जाँदैछु । यसअघिका दशैंहरु काठमाडौमै बित्ने गर्दथ्यो तर यसपाली घर जाँदैछु । तर यसपालीको दशैं आफ्नो घरमा होइन मामा घरमा मनाउने योजना छ । किनभने १०–१२ वर्ष भइसक्यो मामा घर नगएको । दशैंको मौका छोपेर मामा घरमा रमाइलो गर्ने योजना छ । मेरो मामाको घर भारतमा रहेको छ । एक पन्थ दुई काम जस्तो भयो । मामाको घर पनि गइयो र भारतमा दशैं कसरी मनाउँछन त्यो पनि हेर्ने बुझ्ने मौका पाइयो । मामा घरबाट फर्केपछि टीका लगाउन ससुराली जान्छु । ससुराली पहाडी समुदायमा भएको कारणले विशेष रुपमा टिका मनाउने भएकाले त्यहाँ जानुपर्ने हुन्छ । अरु खासै छैन । दशैं विदा मनाउन आएका पुराना साथी भाइ इष्ट मित्रहरुसँग पनि भेट्ने र रमाइलो गर्ने ।



चन्द्रगिरी जाने योजना छ
निमिष झा
हेडलाइन एफएम
गतसाल नाकाबन्दीका कारण दशैंमा घरजान पाएका थिइनन् । यसपाली आफ्नै कारणले नजाने भए । छठमा घर जानु नै पर्ने भएकाले अहिले दशैंमा जाने फेरि आउने अनि फेरि जाने भन्दा दशैं यतै मनाउने तिहारपछि जाने छठ मनाएर काठमाडौ आउने योजना छ । छठतिर घरमा विशेष कार्यक्रम रहेका कारणले जानैपर्ने हुन्छ । हाम्रो लागि दशैं काठमाडौमा त्यति उपलब्धीमुलक हुँदैन । विदा कटाउन मुश्किल हुन्छ । मिडियाकर्मी भएकाले त झन गाह्रो हुन्छ किनभने अरु दिन व्यस्त भइरहने भएका हुनाले लामो विदा कटाउन मुश्किल हुन्छ । यसपालीको विदामा बालबच्चासहित चन्द्रगिरी केवल चढ्न जाने योजना छ । त्यसबाहेक अरु केही योजना छैन । केटाकेटीलाई यसो मन्दिरहरु घुमाई दिने, मन्दिरहरुको दर्शन गर्नेलगायतका सामान्य रुपमा दशैं मनाउछु ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..