» » सामाजिक सद्भावले ओतप्रोत नृत्य सखिया


कञ्चनपुर, असोज २७ गते । मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत छ ।

सामूहिक रुपमा सबैका घर घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पु¥याउँछ ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा थारु समुदायको अटूट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ ।

थारु समुदायले कृष्णजन्माष्टमीको दिनदेखि सखिया नृत्यको सुरुवात गरेर दसैँसम्म यसलाई निरन्तरता दिने गर्छन् । तर आजभोलि गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना गर्ने गरिन्छ ।

पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आइएकामा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पट्यार लाग्ने भएपछि हाल सखिया नृत्यलाई छोट्याएर १० दिनदेखि १५ दिनमा सीमित गरिएको थारु अगुवाको भनाइ रहेको छ ।

थारु गाउँका भलाद्मी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाइन्छ ।

गुरुवा ९झाँक्री०ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा–युवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउन पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको झलारी पिपलाडी नगरपालिका–३ जोनापुरका थारु अगुवा मनिराम चौधरीले बताउनुभयो ।

सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यको बीच बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ ।

मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिन्छ ।

नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भनिन्छ ।

नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले नृत्य पस्कने गर्छन् जसलाई थारु भाषामा खोट ९पैँया० भनिन्छ ।

थारु राजनीतिकर्मी दानसिंह दहितले भन्नुभयो – “पैँया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरुले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिवर्तन ल्याएकाले यो बढी पनि हुन सक्छ ।”

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतालासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेस गर्नुपर्ने हुन्छ ।

यस पौराणिक तर मनमोहक नृत्य हेर्नेहरुको समेत थारु गाउँमा निकै भीड लाग्ने गरेको छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ ।

अष्टमीको रातभरि आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भनिने उल्लेख गर्दै थारु संस्कृतिका जानकार परदेशी चौधरीले भन्नुभयो – “यस दिन थारु समुदायले कुभिन्डोको भेडा बनाई बलि दिने परम्परासमेत रहेको छ ।”

पञ्चमीको दिन अघि सादा पोसाकमा यस नृत्यलाई पस्किने भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरुले सेतो धोती र कमिज लगाउने गर्छन् । नृत्य गर्ने युवतीले रङ्गीविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्छन् ।

हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउनेसमेत गर्छन् । अष्टमीको दिन पछि रातमा नाचिँदै आएको सखिया नृत्य दिउँसो नाच्ने गरिन्छ ।

दिउँसो पख नाचिने सखिया नृत्यमा थारु युवतीले कृष्णको लीलालाई यसरी आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्छन् ।

बचपनसे कान्हा गुल्ली डण्डा ९खेलनै रे हाँ०
ओइसे तरपे जिया मोर हाई रे सँवारिया रे हाँ ।

तिरछी बइठी कान्हा ९बसिया बजाबै रे हाँ०
ओइसे तरपे जिया मोरे साँबरिया रे हाँ ।

छतिया चिहुरी चिहुरी कान्हा ९मामा मरनै रे हाँ०
कन्सा मुवल भैनक हात हाई रे सँवरिया ।

गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंश बध गरिएको प्रसङ्ग उल्लेख गरी परम्परागत तरिकाले आफ्नै लयमा गाइने गरिन्छ । यस नाचलाई दसैँका दिन धनी, गरिब, गाउँका मान्यजन सबैका घर घरमा गएर देखाउने भएकाले विगतका रिसराग बिर्सी सबैले हेर्ने गर्छन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ ।

दसैँपछि नृत्यमा सहभागी सबैलाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताउनुभयो जसलाई थारु भाषामा ‘ख्यारा’ खाने भनिन्छ ।

यो नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने पिपलाडीका वडघर नरेन्द्र चौधरीले बताउनुभयो । धार्मिक मान्यताअनुरुप यो नृत्यको आयोजना गरिए गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खान पुग्ने विश्वास थारु समुदायमा रहेको छ ।

यसलाई अर्को शब्दमा थारु समुदायले ‘धर्ती जाग्ना’ भन्ने गर्छन् । सखिया नृत्यको आयोजना गरेमा धर्ती जाग्ने र प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा रहेको छ । विदेशी पर्यटकलाई समेत यस नृत्यले गाउँसम्म पुगेर फोटो खिच्न लोभ्याउँछ । सशस्त्र द्वन्द्वका बेला गाउँ जान छाडेका विदेशी पर्यटक अहिले यहाँका गाउँसम्म पुगेर सखिया नृत्यबारे चासो लिन थालेका छन् ।

युवा पिँढीले छाड्दै गएको यो नृत्यमा हाल आएर धेरैले चासो दिन थालेका छन् । थारु समुदायका पौराणिक धार्मिक मान्यता बोकेका गीत र नृत्य संरक्षणप्रति युवाले जागरुकता देखाउन थालेपछि संरक्षणमा टेवा पुगेको थारु सामाजिक कार्यकर्ता रेवन चौधरी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “हराउँदै गएको संस्कृति जोगाउनका लागि युवा पिँढी अघि सर्न थालेपछि थारु समुदायको पहिचान जोगिएको छ ।” 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..