» » मधेशी समुदायका महिलाहरुको आवाज बुलन्द हुँदै


धनवीर महतो
महोत्तरी, कात्र्तिक ११ गते । बर्षौसम्म घुम्टोमा बसेर समाजका अगाडि एक शब्द पनि खुलेर वोल्न नसक्ने मधेशी समुदायका महिलाहरु आजभोली खुलेआम विभिन्न कार्यक्रमहरुका वुलन्द आवाज पस्किन थालेका छन् ।

तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, सर्लाही लगायतका मधेशी समुदायका गृहणी महिलाहरु आजभोली विकास निर्माण लगायतका हरेक किसिमका हक अधिकार स्थापित गर्नका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका हुन् ।

उनीहरुले स्थानियस्तरमा रहेको विभिन्न कार्यालयमा गएर विकास निर्माण लगायतका कामकाजमा आफ्ना अधिकार ल्याउनमा सफलता हासिल गरेपछि समाजमा उनीहरु ‘नेताईन’ भन्ने उपनामले चिनने गरिन्छ ।

गौशाला नगरपालिका ११ की ईन्द्रकला देवी रामले समग्र विकास सेवा केन्द नामक संस्थामा आबद्ध भई वचत गर्नको साथसाथै समाजमा खुलेर बोल्न जानेकी बताईन । पहिले पहिले घरमै ससुरा र जेठाज्युको अगाडि घुम्टोमा बस्नु परेको अवस्थालाई चिर्नमा यो संस्थाको भुमिका महत्वपुर्ण रहेको ईन्द्रकलाको भनाई रहेको छ ।

करिब ५ बर्ष अगाडि गाँउमै स्थापित भएको सो संस्थाको अथक प्रयासले गर्दा आफुहरु समाजमा खुलेर आफ्नो कुरा राख्न तथा अधिकार लिन सफल भएको ईन्द्रकलाले सुनाईन ।

त्यस्तै वेलगाछी २ की शीलादेवी महतो पनि यसै संस्थामा आवद्ध भई यसैबर्ष गाविसको कार्यालयबाट आफ्ना टोलमा विभिन्न विकास निर्माणका योजनाहरु ल्याउन सफल भएको जानकारी दिईन । अहिले पनि गाँउकै चौतारामा महिनाको एक दिन जम्मा भएर समुदायमा घटेको घटनाहरुको सन्दर्भमा छलफल गर्दै सही र गलत छुट्टाउने क्षमता आफुहरुमा भएको उनले प्रतिक्रिया दिईन ।

पहिले पहिले कुरा काटनेहरु आजभोली आफुहरुको क्रियाकलाप हेरेर जिल्ल पर्ने गरेको गौशाला नगरपालिका १ की रितादेवी यादवले बताईन । अब कुनै पनि कार्यालयमा गएर पुरुषको सहयोग विना नै हरेक कामकाज गर्दै आएकी रिताले सुनाईन ।

अग्रणी भुमिका निर्वाह गरि नेतृत्वमा पनि महिलालाई कुशल गृहिणीबाट ‘नेताइन’ बन्नका लागि दशकौं लागेको छ र यो क्रम जिल्लाको विभिन्न क्षेत्रमा जारी नै रहेको तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलान्स) महोत्तरीका नागेन्द्र कुमार कर्णले बताउनुभयो ।

सो संस्थाहरुको प्रयासले अपेक्षित सफलता हात नलागेपनि केही महिलाहरुले भने गृहिणीबाट ‘नेताइन’ कहलिन शुरु भइसकेको कर्णको बुझाई रहेको छ । ‘नेताइन’ बनाउन भने महिलाहरुको चेतनास्तर, व्यक्तिगत तथा सामुहिक क्षमता विस्तारको लागि थुप्रै संघसंस्थाहरुले दशकौंसम्म गरेको र गरिरहेको मेहनतको प्रतिफल रहेको उनले प्रतिक्रिया दिनुभयो ।

महोत्तरी जिल्लामा महिला हक अधिकारका हितमा संचालित आधा दर्जनभन्दा बढी सरकारी तथा गैरसरकारी संघसंस्थाको प्रयासमा घरमा गृहणीको कामकाजमा सिमित रहेको महिलाहरुलाई नेताईनको रुपमा स्थापित गराउनमा सफलता हासिल गरेका छन । आफ्नो घरपरिवारसँग केही कुरा गर्नका लागि डराउने त्यस्ता महिलाहरु आजभोली कसैको सहयोग विना नै विभिन्न कार्यालयमा गएर आफ्ना अधिकार स्थापित गर्न उनीहरु वुलन्द आवाज उठाउन सक्षम भएका छन ।

करिब ८ वर्ष अगाडी महोत्तरीमा संचालनमा आएका गरिबी निवारण कोषले जिल्लाका ४५ वटा गाउँ विकास समितिमा आत्मविश्वासले पछाडी पारिएका तथा परेका, अन्धविश्वासले जकडिएका, पुरुषवादी मानसिकताले गाँजेको समाजमा पिल्सिएका महिलाहरुलाई उचित सम्बोधन गरेको प्रत्यक्ष देख्न सकिन्छ । कोषले महोत्तरीमा विभिन्न ९ वटा संस्थासंगको साझेदारीमा थालेको कार्यक्रमले भने अपेक्षित सफलता पाएको देख्न सकिन्छ ।

महोत्तरीमा महिला सचेतना समूह, जिल्ला विकास समिति, सिडिपी, आरसिडीएससी, जुप, आईआरडिएफ, डब्लुई, सोडेप, समग्र विकास सेवा केन्द्र, सहेली नेपाल र रतौली युवा क्लव लगायतका संस्थाहरुले महिला अधिकारको लागि विभिन्न समयमा कामकाज गर्दै आएका छन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..