» » सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्ला मात्र हो—यादव


काठमाडौं, असोज २८ गते । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले बाहिर हल्ला भएजस्तो मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नहुने बताउनु भएको छ ।

प्रमुख सचेतक यादवले भन्नुभयो, ‘यस्तो बकवास हल्ला फिँजाउने काम कहाँबाट भयो, हामीलाई त आश्चर्य लागेको छ, अहिले यो सरकार गठन भएको एकसय दिनपनि पुगेको छैन, यस्तो बेलामा सरकारलाई दिएको समर्थन फिर्ता भन्ने कुरा कहाँबाट आउँछ, यो राजनैतिक रुपमा, नैतिक रुपमा असम्भव कुरा हो ।’

सरकारमा मोर्चा सहभागी हुन्छ कि हुँदैन भन्ने पत्रकारको जिज्ञासामा यादवले भन्नुभयो, ‘यो सरकार हामीले बनाएको सरकार हो, हामी पनि सरकारमै छौं, हाम्रो अहिले प्राथमिकतामा सरकार होईन, हाम्रा मागहरु, मुद्दाहरु सम्बोधन हुनु मुख्य कुरा हो, यही संकल्प हामीले लिएका छौं ।’

काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाबीच भएको तीन बुँदेमा दुईवटा बुँदा कार्यान्वयनतर्फ उन्मुख रहेको उल्लेख गर्दै यादवले भन्नुभयो, ‘सरकारले कामहरु गरिरहेको छ, मुख्य कुरा सिमांकनको समस्या जो छ, त्यो हल गर्नुपर्छ, त्यसको लागि ठूला दलहरु मिल्नुपर्छ, उहाँहरुको बीचमा सहमति होस् भन्ने हाम्रोपनि चाहना हो ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको लागि गम्भिर भएर वार्ता तथा प्रयासहरु गरिरहेकोमा बताउँदै थप्नुभयो, ‘प्रधानमन्त्रीजी अहिले गम्भिर होमवर्कमा हुनुहुन्छ, उहाँले सबै पक्षसँग एक किसिमको सहमति कायम गर्न खोज्नुभएको छ, यो अत्यन्तै सकारात्मक कुरा हो, उहाँको चाहना पनि काँग्रेस, एमाले र माओवादी मिल्नुपर्छ भन्ने हो, हामी आशावादी छौं ।’

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नु हुँदै डा. यादवले सरकारसँग संविधान संशोधनमा सहमति कायम गर्नको लागि छठसम्म होमवर्क गर्ने समय रहेको समेत बताउनुभयो । उहाँले अघि थप्नुभयो, ‘हामी सबै अहिले चाडपर्वमा छौं, छठसम्म पनि कुनै प्रक्रिया अघि बढेन भने हामी एग्रेसिब्ली प्रस्तुत हुन्छौं, त्यसैले हामी चाहन्छौं छठभन्दा पहिले केही सुरुवात होस् ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले संविधान कार्यान्वयनको लागि प्रमुख दल काँग्रेस, एमाले र माओवादी केन्द्र मिल्नुको विकल्प नभएको स्पष्ट पार्नुभएको छ ।

पूर्वमन्त्री समेत रहनु भएका नेता पण्डितले भन्नुभयो, ‘मुलुकलाई दुर्घट्नाबाट बचाउने हो भने अहिले संविधान संशोधनभन्दापनि यसको कार्यान्वयनको लागि सबैले जोड दिनुपर्छ ।’ यद्धपी उहाँले संशोधनको माग गरिरहेका मधेशी मोर्चाभित्रै यसबारेमा एकमत धारणा नरहेको आरोप लगाउनु भयो ।

पण्डितले मधेशी मोर्चा मात्रै नभएर स्वयम वर्तमान सरकार पनि के के विषयमा संविधान संशोधन गर्ने भन्नेबारेमा स्पष्ट नरहेको दावी गर्नुभयो । उहाँले अरुको उक्साहटमा संविधान जलाउन खोज्नेहरुले संविधान संशोधनको माग गरेर संविधान कार्यान्वयन गर्न नदिने षडयन्त्र गरिरहेको समेत आरोप लगाउनुभयो ।

उहाँले मधेशी मोर्चाले जे–जे विषयमा संशोधन गरौं भन्छन आफ्नो पार्टीले त्यही–त्यही विषयमा सही छाप नगर्ने चेतावनी दिनुभयो । यद्धपी उहाँले सिमांकनको विषयमा राष्ट्रिय सहमति बन्यो र व्यवस्थापिका संसदमा त्यसबारेमा सहमति भयो भने केही हेरफेर हुन सक्ने कुरा बताउनुभयो ।

उहाँले मधेशी मोर्चाप्रति संकेत गर्दै कसैले धम्काउँदैमा चुनाव नगर्नु भनेको त्यो सरकारको कायरता भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयोे, ‘कसैले धम्की दिएको भरमा चुनाव नगराउनु अनि खुट्टा कमाउनु भनेको त्यो कायरता मात्रै हो ।’

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता दिनानाथ शर्माले छठ अघि नै संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी भैरहेको दावी गर्नुभयो । नेता शर्माले संविधान कार्यान्वयनको लागि प्रमुख दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य लालबाबु पण्डितले अहिले संविधान संशोधनभन्दापनि कार्यान्वयन गर्नुपर्ने वेला भएको टिप्पणी गर्नुभयो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..