» » औपचारिक वार्ताका लागि प्रधानमन्त्रीसँग मोर्चाको आग्रह



काठमाडौँ, कात्तिक १३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनबुँदे सम्झौताअनुरुप औपचारिक रुपमा वार्ता प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

मोर्चाका नेताले आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई उहाँकै निवास बालुवाटारमा भेट गरी तीनबुँदे सम्झौताअनुरुप औपचारिक वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।

सम्झौतामा हस्ताक्षरकर्ता दलका शीर्ष नेताको उपस्थितिमा औपचारिक वार्ताका लागि आग्रह गरिएको मोर्चाका एक घटक सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीले नेतासँग व्यक्तिगत रुपमा अनौपचारिक संवाद गरिरहनु नै भएको छ तर सम्झौतामा हस्ताक्षरकर्ता स्वयम् बसेर औपचारिक वार्ताद्वारा संविधान संशोधनलगायतका मागलाई अघि बढाउनुपर्छ भनेर प्रधानमन्त्रीलाई आग्रह ग¥यौँ”– उहाँले भन्नुभयो ।

करिब अढाई महिनाअघि सरकार गठनका बेला प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र मोर्चाका  नेता उपेन्द्र यादवबीच तीनबुँदे सम्झौतामा हस्ताक्षर भएको थियो ।

लामो समयसम्म आफूहरुसँग औपचारिक वार्ता नभएको भन्दै मोर्चाभित्र खटपट बढेको थियो ।

मोर्चाको आग्रहपछि प्रधानमन्त्री दाहालले मागबारे भोलि आइतबारबाटै औपचारिक छलफल सुरु गर्ने र त्यसका लागि मोर्चाका नेतालाई बालुवाटार बोलाउनुभएको सहअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसैबीच मोर्चासँगको अनौपचारिक छलफलबारे सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चासहितको गठबन्धनका माग सम्बोधनबारे अनौपचारिक छलफल चलिरहेको जानकारी दिनुभयो ।

मोर्चाले संविधान संशोधन प्रक्रिया छठसम्म कुर्ने र त्यतिबेलासम्म पनि काम नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।

मोर्चाका माग सम्बोधनका लागि प्रधानमन्त्रीले दलीय परामर्शलाई तीव्रता दिनुभएको छ ।

केहीदिनअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि अनौपचारिक कुराकानी गर्नुभएको थियो ।

छलफलमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र मोर्चाको तर्फबाट नेताहरु महन्थ ठाकुर, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्थ्यो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..