» » सुख्खा बन्दरगाह निर्माण कार्य रोकिएपछि व्यावसायी चिन्तामा


बाँके, कात्तिक ७ गते । यहाँस्थित नेपाल–भारत नाकामा निर्माण शुरु गरिएको सुख्खा बन्दरगाह निर्माणको काम लामो समयदेखि रोकिएको छ । बन्दरगाहको निर्माण कार्य अगाडी बढ्न नसक्दा स्थानीय उद्योगी ब्याबसायी चिन्तित भएका छन् ।

बन्दरगाह निर्माणका लागि नेपालगञ्ज नाकाको जयसपुरमा सरकारले २०६५÷६६ मा ८९ विघा जमिन अधिग्रहण गरेपनि निर्माण कार्यले गति लिन सकेको छैन । समयमा निर्माण कार्य सुरु नहुँदा अधिग्रहण गरिएको जग्गा समेत गौचरणमा परिणत भएको छ ।

सम्पुर्ण पुर्वाधार तयार गरिदिने जिम्मा लिएको भारतको बेवास्ताकै कारण निर्माण कार्य अगाडी बढ्न नसकेको स्थानीय प्रशासनले जनाएको छ ।

बन्दरगाह निर्माणमा ढिलाई हुँदा स्थानीयस्तरमा विभिन्न आशंकाहरु समेत उत्पन्न हुन थालेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सुख्खा बन्दरगाह निर्माणमा भएको ढिलाईले उद्योगी, व्यवसायीको मनमा हुलाकी सडकजस्तै त हुने होइन भनी विभिन्न शंका, उपशंका उत्पन्न भैरहेको बताउनु भयो । सो बन्दरगाहको निर्माणको काम अलपत्र परेपछि सो सम्बन्धमा सर्वत्र अन्यौलता बढ्न थालेको उहाँले जनाउनु भयो ।

काम शुरु गरिने तयारी भैरहेकै बेला गत बर्ष भारतले नाकाबन्दी गर्दा त्यस यता बन्दरगाहको कुनै पनि काम कार्य अगाडी बढ्न सकेको छैन ।

नेपाल जडिबुटी ब्याबसायी संघका केन्द्रिय अध्यक्ष मोहम्मद याकुब अन्सारीले सुख्खा बन्दरगाह निर्माणमा देखिएको अन्यौलता र ढिलाईले जडिबुटी ब्याबसायी निकै दुःखी भएको जनााउँदै सरकारले छिटो भन्दा छिटो निर्माण गर्न भारतलाई दवाव दिनुपर्ने बताउनु भयो ।

उहाँले सुख्खा बन्दरगाह निर्माण पछि यस क्षेत्रका सबै ब्याबसायीलाई सहज हुने बताउनु भयो ।
जग्गा अधिग्रहण तथा बाहिरी पुर्वाधार निर्माणमा समन्वय गर्ने जिम्मा नेपाल सरकारको भवन विभागलाई दिइएको थियो ।

भारतको आर्थिक सहयोगमा भारतीय ठेकेदारले नै सुख्खा बन्दरगाह निर्माण गर्ने सम्झौता भएको थियो ।

सुख्खा बन्दरगाह क्षेत्रमा मुआब्जा वापत ९ करोड २९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएपनि अहिले सम्म जिल्ला प्रशासन कार्यालय बाँकेले भवन डिभिजन कार्यालयको समन्वयमा स्थानीय किसानलाई ९ करोड ४ लाख रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ ।

बन्दरगाह निर्माणको नाममा हालसम्म जग्गामा बाउण्ड्री वाल र सुरक्षा पोष्टको निर्माण मात्र शुरु भएको देखिन्छ ।

मुख्य सडकदेखि बन्दरगाहसम्मको सडक निर्माण र तारबारको काम गत आर्थिक वर्षमै सम्पन्न भएकोे भवन डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । सो कार्यालयका अनुसार सडक निर्माणका लागि पहिलो टेण्डर खोलेपनि ठेकेदारले काम नगरेपछि कारबाही गरिएको जनाउदै पछि दोस्रो ठेकेदारले ५१ लाख रुपैयाँको लागतमा निर्माणको जिम्मा लिएको थियो ।

सुख्खा बन्दरगाह परिसरमा भन्सार कार्यालय, सुरक्षा पोष्ट, क्वारेन्टाइन कार्यालयहरु, बैंक काउण्टर, खाद्य प्रविधी लगायत सरोकार राख्ने सरकारी कार्यालय रहनेछन् । यसले गर्दा सामान आयात र निर्यात गर्न व्यापारीलाई सहज हुने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालले बताउनु भयो ।

नेपालगञ्ज नाकामा सुख्खा बन्दरगाह निर्माण गरिने कुरा १५ वर्ष अगाडीबाट चलेको तथा हालको अवस्था हेर्दा निर्माण पुरा हुन अझै दश वर्ष बढी समय लाग्न सक्ने स्थानीय ब्यबसायीहरुले बताएका छन् ।



About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..