» » प्रहरी चौकीमा आक्रमण, तीन प्रहरीसहित एक महिला घाईते


बद्री नारायण यादव
सिरहा, असोज २३ गते । सिरहा नगरपालिका २ स्थितका युवा तथा स्थानीयहरुले शुक्रवार राती नगर प्रहरी चौकीमा आगो लगाउन खोज्दा प्रतिकारमा रहेका चौकी प्रमुख बीरेन्द्र यादवसहित तीनजना प्रहरी र एक महिला घाइते भएका छन् ।

प्रहरी चौकी नजिकै रहेको दुर्गा मन्दिर परिसरमा भएको झगडालाई प्रहरीले तितरवितर पारेपछि एक समुहका स्थानीय र युवाहरु आक्रोशित बनेका थिए । आक्रोशित युवाहरु समुहले नगर प्रहरी चौकीमा आगो लगाउन प्रयास गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

स्थानीयहरुको हुल कार्यालयतर्फ बढिरहेको देखेर अघि बढेर सम्झाउन प्रयास गर्दा नगर प्रहरी प्रमुख यादव सहित चित्त नारयाण माझी, रामकुमार यादव घाइते भएको हो ।

युवा तथा स्थानीयहरुसँगै घटनास्थलमा पुगेकी सिरहा नगरपालिका २ निवासी ५५ वर्षीया मुलही देवी यादव पनि हुलमा परेर घाइते हुनुभएको हो । दाहिने हातमा काटिएको र समान्य चोट लागेको अस्पताल श्रोतले बताएको छ । मुलहीको प्राथमिक उपचार पश्चात थप उपचारका लागि बाहिर लग्न सल्लाह दिइएको श्रोतको भनाई छ ।

नगर प्रहरी प्रमुख वीरेन्द्र टाउको फुट्दा तीनवटा टाका लागेको छ भने माझी र रामकुमारलाई पनि टाउकोमै गम्भीर गम्भीर चोट लागेको सिरहा जिल्ला अस्पताल प्रमुख दयाशंकर लाल कर्णले बताउनुभयो । माझीको प्राथमिक उपचारपछि थप उपचारका लागि अस्पतालले बाहिर रेफर गरेको छ भने दुई जनाको उपचार जारी नै रहेको हो ।

हुलमा परेर घाइते भएकी मुलहीको उपचार गराउन जाँदैछु भनेर मोटरसाइकलको साँचो मागेर युवाहरुले नगर प्रहरी कार्यालय अगाडि आगो लगाएको छ । आगो लागेर मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको हो । नगर प्रहरी श्रोतका अनुसार प्रहरी तैनाथ नभएको भए कार्यालयमा आगो लागउन उनीहरुले तम्सेको थियो ।

घटना के र कसरी भएको र यसको सुरुवातीको अवस्था के हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताउनु भयो । ‘घटनाबारे हामीले केही तथ्य फेला पारेका छौं,’ उहाँले भन्नुभयोे, ‘तत्कालै त्यो कुरा खोल्न नमिल्ने त्यही आधारमा हामी थप कुरा पत्ता लगाइरहेका छौं । घटनाको निचोडमा पुगीसकेपछि सबै कुरा बाहिर ल्याउछौं ।’

दुर्गा पुजा समितिमा आ–आफ्नो पक्षका व्यक्तिलाई अध्यक्ष बनाउने विषयमा पछिल्लो केही दिनदेखि युवाहरुमा आपसी झगडा हुँदै आएको स्थानीयहरुले बताएका छन् । श्रोतका अनुसार समितिमा आफ्नो पकडका व्यक्तिले प्रवेश नपाएको भन्दै युवाहरुले झगडा गर्न खोज्दा र प्रहरीले साम्य पार्न खोजेकोले स्थानीयहरुले यस्तो घटना घटाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..